पूर्वको विद्युत दुइ महिनाभित्र काबेली कोरिडोरमा जोडिने

0
463

इलाम, ११ कात्तिक / पूर्वका इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्ने निर्माणाधीन काबेली कोरिडोरको काम दुई महीनामा सकिने भएको छ ।

जग्गाको मुआब्जाको विषयमा विवाद भएर काम सुस्त भएको काबेली कोरिडोरको काम अहिले अन्तिम चरणमा पुगेको हो । इलामको देउमाई नगरपालिकाको सिद्धिथुम्का र पाँचथरको फिदिम बजार खण्डमा भएको जग्गा विवाद स्थानीय तह र प्रशासनको पहलमा सुल्झिएसँगै अहिले तीव्र गतिमा काम भइरहेको छ ।

काबेली प्रसारण लाइन आयोजनाअन्तर्गत इलामको गोदक, पाँचथरको अमरपुर र झापाको लखनपुरमा सव–स्टेशन निर्माण भई दुई वर्षअघिनै चार्ज गरी सञ्चालनमा आएका छन् । पहिलो चरणको काम दुई वर्षअघिनै सकिएको कोरिडोरको काम जग्गाको मुआब्जाका विषयमा स्थानीयले असहमति जनाएपछि दोस्रो र तेस्रो चरणको काम अघि बढ्न सकेको थिएन ।

जग्गा मुआब्जाको समस्या समाधान भएपछि अहिले प्रसारण लाइनको दोस्रो र तेस्रो खण्डमा धमाधम काम भइरहेको छ । दोस्रो खण्डको १२५ वटामध्ये १० वटा टावरको मात्रै फाउण्डेशनको काम बाँकी रहेको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए । दोस्रो खण्डमा १० वटा टावरको फाउन्डेशनको काम सकेर ११ किलोमिटर तार तान्न मात्रै बाँकी रहेको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए ।

इलामको सिद्धिथुम्का, चमैता र पाँचथरको जोरसाल खण्डमा पर्ने १९ वटा टावरमा जग्गा विवादका कारण काम रोकिएको थियो, अहिले त्यही खण्डमा टावर ठड्याउने, तार टाङ्नेदेखि तारको बाटोमा सफाइ गर्ने काम हुँदैछ, द्विवेदीले भने । मङ्सिर अन्तिमसम्ममा आयोजनाको सबै काम सकिन्छ र विद्युत सप्लाइको काम पूर्णरुपमा सम्पन्न गरिने छ ।

तेस्रो खण्डमा ४० वटा टावर रहेकामा सबैको फाउन्डेशनको काम सकिएको र ११ किलोमिटर तार तान्ने काम मात्रै बाँकी छ । दोस्रो र तेस्रो खण्डअन्तर्गत इलाम, पाँचथर र तेह्रथुमको आठराइ खण्डमा १६५ वटा टावर निर्माण भइसक्ने छन् । पाँच वर्षदेखि शुरु भएको आयोजनाको काम तोकिएको समयमा पूरा नभएपछि यसअघि डेढ वर्ष म्याद थप गरिएको थियो ।
कोरिडोर निर्माण सम्पन्न हुनासाथ पाँचथरको ६० मेगावाट र इलामको ७० मेगावाट विद्युत यो आयोजनामार्फत विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिने छ । अहिले इलाम झापा खण्डमा रहेको कोरिडोरको काम सकिएकाले इलामका खोलामा उत्पादन भएको ७० मेगावाट विद्युत केन्द्रीय प्रशारणमा जोडिएको छ । दुई सय मेगावाट विद्युत प्रसारण गर्ने कोरिडोरको क्षमता रहेको आयोजना सञ्चालनमा आएपछि प्रदेश नम्बर १ मा विद्युत्को अभाव नहुने आयोजना प्रमुख द्विवेदीले बताए ।

झापाको दमकदेखि पाँचथरको अमरपुर जोड्ने काबेली कोरिडोरको ९१ किलोमिटर विद्युत प्रसारण लाइनमा जम्मा २६२ वटा विद्युतीय पोल रहने छन् । विश्व बैंकको रु दुई अर्ब ५८ करोडको लगानीमा नेपाल विद्युत प्राधिकरणले कोरिडोर निर्माणको काम गरिरहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here