पानी किनेर दशैँ मनाए पाँचथरबासीले

0
201
????????????????????????????????????

पाँचथर, ३ कात्तिक / पाँचथरको कुम्मायकवासीले पानी किनेर दशैँ मनाएका छन् । पानीको चर्काे समस्या बेहोर्दै आएका कुम्मायकबासीले गाउँपालिकाको ट्याङ्कर र ट्याक्टरले ड्रममा भरेर ल्याएको पानी किनेर दशैँ मनाएका हुन् । गाउँपालिकाको ट्याङ्कर र ट्याक्टरले वितरण गर्ने पानीलाई प्रति लिटर ६६ पैसा पर्छ । अरू बेला भन्दा पनि दशैँमा बढी पानी खपत हुने भएकोले गाउँपालिकाले यासोक र माङ्जाबुङको सीमा हुँदै बग्ने छोरुङ्गा खोला र रानीगाउँका धर्म ढकालको जग्गामा रहेको मुहानको पानी गाउँपालिकावासीलाई वितरण गर्दै आएको हो ।

पानी पाउन भने उपभोक्ताहरूले गाउँपालिकाको कार्यालयमा पुगी नगद बुझाएर रसिद लिने गरेका छन् । उपभोक्ताको मागअनुसार गाउँपालिकाले गाउँगाउँमै ट्याङ्कर र ट्याक्टर लगेर पानी वितरण गर्दै आएको छ । कुम्मायक–१, खाल्डेकी शिला सेर्मा राईले दशैँको लागि चारवटा ठूल्ठूला ड्रममा पानी किनेकी छन् । एक हजार २७५ रुपैयाँमा किनेको पानीले दशैँ टर्ने र तिहारमा पनि पानी आवश्यक हुने भएकाले छिट्टै गाउँपालिकाको कार्यालयमा पुगेर रसिद कटाउने बताइन् । ‘लत्ताकपडा र भाँडाकुँडा धुन भनेर पानी किन्यौँ, प्रतिड्रम तीन सय रुपैयाँ पर्छ’ उनले भनिन् ।, ‘तिहारको लागि किन्न बाँकी छ, छिट्टै गाउँपालिकामा पैसा बुझाएर रसिद कटाउँछु ।’ सुख्खाग्रस्त स्थानीय तह कुम्मायक गाउँपालिकामा पानीको केही वर्षदेखि चर्काे समस्या छ । मूल फुट्ने गरी वर्षात नहुँदा कुवाहरू सुकेका छन् भने मुहान सुक्दै गएपछि धारामा पनि पानी कम आउने गरेको कुम्मायकवासी बताउँछन्। गाउँपालिकाको केन्द्र रहेको यासोक बजारमा देउराली खानेपानी आयोजनाले वितरण गर्दै आएको पानीले बजारबासीको पानीको माग धान्न छाडेको छ।

गाउँपालिका २ बाहेकका वडाहरूमा देखिएको खानेपानी समस्यालाई अल्पकालीन रूपमा समाधानका लागि गाउँपालिकाले ट्याङ्कर र ट्याक्टरमार्फत पानी वितरण गरेपछि गाउँपालिकावासी हर्षित पनि छन् । कुम्मायकको केन्द्र यासोक बजारमा हिमाल होटल सञ्चालन गर्दै आएका केशव थापाले पानी किन्न पाउँदा खुशी भएको बताए। दशैँमा होटलमा पानी बढी आवश्यक हुने र गाउँपालिकाले माग गरे जति ६६ पैसाको दरले प्रतिलिटर पानीको दस्तुर बुझाएपछि उपलब्ध गराउँदै आएको बताए । ‘पानीको उपलब्धता सडक पुगेको क्षेत्रको घरघरमा छ, गाउँपालिकाले राम्रो र्गयो’ उनले भने, ‘दशैँ जस्तो ठूला चाडमा पानीको समस्या बेहोर्नु परेन ।’ गाउँपालिकाको कार्यालयले जनाएअनुसार कुम्मायकमा दैनिक एक लाख ५० हजार रुपैयाँ लिटर पानी आवश्यकता पर्दछ । यद्यपि, देउराली खानेपानी आयोजनाबाट ६५ हजार लिटर मात्रै पानी उपलब्ध हुने गरेको छ । बाँकी पानी भने गाउँपालिकाले ट्याङ्कर र ट्रयाक्टरद्वारा वितरण गर्दै आएको हो । यसरीवितरीत पानीले नै कुम्मायकवासीले दशैँ मनाउँदै आएका छन् ।

कुम्मायक–४ तिङदेनका जीवन शंकरले केही साताअघि दाजु रमेशको निधन हुँदा गाउँपालिकाबाट २ हजार लिटर पानी किन्न पाउँदा खुशी भएको बताए । ‘गाउँपालिकाले शुभ र अशुभ संस्कार हुने घरलाई पहिलो प्राथमिकता दिएर पानी उपलब्ध गराउँदो रहेछ’ उनले भने, ‘पानी किन्नै भए पनि पाइयो र काम सकाइयो ।’ कुम्मायकको रानीगाउँ, यासोक र स्याबरूम्बाका अधिकांस स्थानीयवासीलाई हरेक चाडपर्वदेखि शुभ र अशुभ संस्कारमा पानी किन्नु पर्ने बाध्यता छ । गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले गाउँपालिकावासीले बेहोर्दै आएको पानीको समस्यालाई अल्पकालीन रूपमा समाधान गर्न ट्याङ्कर र ट्याक्टरबाट पानी उपलब्ध गराएको बताए ।

कुम्मायकमा पानीकै कारण पनि बसाइँ सर्ने दर उच्च रहेको छ। तमोर लिफ्टिङ खानेपानी आयोजनाको काममा ढिलाई सुख्खाग्रस्त स्थानीय तह कुम्माक गाउँपालिकाको खानेपानी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न भन्दै सञ्चालनमा ल्याइएको तमोर लिफ्टिङ खानेपानी आयोजनाको निर्माण सम्पन्नमा ढिलाई भएको छ । विस २०७२ पुस १६ देखि ठेकदार कम्पनी स्वामी–प्रेरा नारायण जेभीले मुख्य पाइपलाइनको काम सुरु गरेको भए पनि आयोजनाको मुहान विवादले आयोजना सम्पन्नमा ढिलाई भएको हो । तमोर लिफ्टिङ खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष तथा पूर्वसामान्य प्रशासनमन्त्री डम्बरसिं सम्बाहाम्फेले आगामी फागुन ६ गतेसम्ममा पहिलो चरणको काम सम्पन्न हुने दावी गरे। दोश्रो चरण(पानी वितरण) को काम भने आगामी वर्षको पुससम्ममा सम्पन्न हुने उनले बताए। आयोजनाको काम भने गत वर्ष नै सम्पन्न हुनु पर्ने थियो । मेलम्चीपछिको नेपालकै ठूलो खानेपानी आयोजना भनिएको उक्त आयोजना ५१ करोड ३० लाख २० हजार रुपैयाँको लागतमा निर्माणधीन छ ।

हाल आयोजनाको मुख्य प्रशारण लाइनको काम ७० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनि स्वामी–प्रेरा–नारायण जेभीका प्रमुख सन्तोष बस्नेतले बताए । कुम्मायक क्षेत्रका तीन हजार ४५ घरधुरीका १७ हजार जनसंख्यालाई खानेपानीको समस्या नहुने गरी आयोजना सुरु भएको हो । तमोर नदीदेखि १३ सय किलो मिटरभन्दा माथि यासोकको थामडाडाँसम्म लिफ्ट गरेर खानेपानी वितरण गरिनेछ ।

प्रतिसेकेण्ड २० लिटर पानी लिफ्ट गरेर ल्याउने गरी निर्माणधीन आयोजनाको १७ किलोमिटर प्रसारण लाइन र एक सय ९२ किलोमिटर वितरण लाइन बन्नेछ । तमोर दोभानस्थित मुहानमा १५ फिट गहिरो इनार खनी त्यहाँ रसाएको पानी लिफ्टमार्फत सात स्टेशन तयारी गरी माथि ल्याइनेछ । यसका लागि १० वटा रिर्जभ वायर ट्याङ्की बन्ने छन् भने ब्रेक प्रेसर ट्याङ्क एक सय ८९ वटा हुने छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here