एक नम्बर प्रदेशको नाम कोचिला राख्न राजवंशी समाजको माग

0
421

पथरी, ५ साउन / कोचवासी राजवंशी समुदायले एक नम्बर प्रदेशको नाम ‘कोचिला’ राख्नु पर्ने माग गरेको छ । राजवंशी समाज विकास समिति मोरङद्वारा शुक्रबार कानेपोखरीमा आयोजित सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रमका बक्ताहरुले एक नम्बर प्रदेशको नाम कोचिला राख्नु पर्ने माग गरेका हुन् ।
प्रदेशको नाम के राख्ने भन्ने विषयमा गरमागरम बहस चलिरहेको बेला तत्कालिन माओवादी आन्दोलनताका माओवादीले उठाएको मुद्दालाई राजवंशी समुदायले पुनः व्युँताएको छ । कार्यक्रमका प्रमुख अतिथि राजवंशी समाज विकास समिति केन्द्रीय अध्यक्ष एवं पूर्व गृह राज्यमन्त्री भीमराज राजवंशीले एक नम्बर प्रदेशमा तराई आदिवासीको बाहुल्यता भएकोले प्रदेशको नाम कोचिला राख्नु पर्ने माग गर्नु भयो ।

‘कोचिला शब्दमा राजवंशीको पनि एउटा पहिचान रहेकोले एक नम्बर प्रदेशको नामाकरणमा कोचिला शब्द आउनु पर्छ’– अध्यक्ष भीमराज राजवंशीले भन्नुभयो ‘कसैको पहिचानलाई नमेटाई हाम्रो मागलाई प्रदेश सरकारले ध्यान देओस्, हाम्रो यही माग छ ।’ अहिले प्रदेशको नामाकरणको बारेमा छलफल जारी रहेकोले कोचिला शब्द समावेश हुन्छ भन्नेमा आफुहरु आशावादी भएको उहाँको भनाई छ ।

कार्यक्रमका अध्यक्ष एवं नवनिर्वाचित जिल्ला अध्यक्ष मनोज राजवंशीले आफु–आफुबीचमा मेलमिलाप र एकता नभएका कारण भाइ फुटे गँवार लुटेको अवस्थामा राजवंशी समुदाय पुगेको बताउनु भयो । उहाँले कानेपोखरी रंगेली सडकलाई स्थानीय समाजसेवी खड्गनारायणसिंह राजवंशीको स्मृतिमा खड्गनारायणसिंह मार्ग नामाकरण गर्न र कानेपोखरी गाउँपालिको पहिलो नागरिकका रुपमा राजवंशी समुदायलाई घोषणा गर्न पहल भइरहेको जानकारी दिनुभयो । अध्यक्ष राजवंशीले अन्य समुदायकको तुलनामा पछि परेको राजवंशीको भाषा संस्कृति जोगाउन र चेतनास्तर वृद्धि गर्न स्थानीय सरकारको ध्यानाकर्षण समेत गर्नुभयो ।
परापूर्व कालमा राजवंशी समुदाय आर्थिक रुपले सम्पन्न भएपनि राज्यको विभेदका कारण पछि परेको उहाँको भनाई छ । कोचिला राज्य प्राप्तीका लागि अझै पनि आफ्नो आन्दोलन जारी रहेको उहाँले उद्घोष समेत गर्नुभयो ।

कार्यक्रममा समाजसेवी ठकनुलाल राजवंशी, नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद कानेपोखरीका अध्यक्ष भोजवीर माझीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सो अवसरमा जिल्ला अधिवेशबाट नव निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

केही दिन अघि सम्पन्न जिल्ला अधिवेशनबाट अध्यक्षमा मनोजकुमार राजवंशी, उपाध्यक्षद्वयमा केशवराज राजवंशी र उपासीदेवी राजवंशी साथै सचिवमा दिवाकर, सह–सचिवमा डालबर, कोषाध्यक्षमा सुकितलाल राजवंशी चयन हुनुभएको थियो । यस्तै सदस्यहरुमा रावी, संजय, मञ्जु, उर्मिला र चन्द्रप्रकाश राजवंशी चयन हुनुभएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here