मुलुकभर मनसुन सक्रिय, भारी वर्षा हुने संकेत

0
241

काठमाडौँ, असार १७ गते / मौसम पूर्वानुमान महाशाखाले मुलुकभरि मनसुन सक्रिय भइसकेकाले केही स्थानमा भारी वर्षा हुने जनाएको छ । महाशाखाका मौसमविद् सुवास रिमालले मनसुन सक्रिय भइसकेकाले अबको केही दिनसम्म मुलुकको पूर्व र पश्चिमी भूभागको केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिए ।
उहाँले नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन आग्रह समेत गर्नुभयो । प्रमुख नदीहरूमा जलस्तर बढ्ने क्रममा रहेको बताउँदै उहाँले विशेष गरी चुरे र मध्यपहाडका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।
मनसुनी न्यूनचापीय रेखा विस्तारै हिमालको काँखको नजिकमा आइसकेकाले मुलुकभरि मनसुन सक्रिय भएको बताउँदै उहाँले पूर्वीय र पश्चिमी भूभागको केही ठाउँमा जलवाष्प केन्द्रित भएको देखिएको छ, जसले गर्दा बढी वर्षा हुने सम्भावना छ भन्नुभयो । एक घण्टामा ६० मिलि लिटर परेको अवस्थामा सामान्यत भारी वर्षा भएको मानिने गरिन्छ ।
महाशाखाका अनुसार, यो वर्ष मनसुन जून ८ मा नेपालको पूर्वी भागबाट प्रवेश गरी जून २७ देखि मुलुकभरि सक्रिय भएको हो । हरेक वर्ष प्रायः १० जूनमा नेपालको पूर्वी भूभागमा र १२ जूनमा काठमाडौँमा मनसुन सुरु भएको मानिन्छ ।
त्यसैगरी, मौसम पूर्वानुमान महाशाखा र जल तथा मौसम विज्ञान विभागको बाढी सतर्कता केन्द्रलले शनिवार सूचना जारी गरी मुलुकको पूर्वी र पश्चिमी भूभागमा हल्कादेखि मध्य खालको वर्षा हुने जानकारी गराउँदै नदी तटीय क्षेत्रमा गर्नुपर्ने कार्यहरु सतर्कताका साथ गर्नहुन तथा प्रतिकार्यको लागि तयारी अवस्थामा रहन आमनागरिकसँग अनुरोध समेत गरेको छ ।
नेपालमा मनसुन पूर्वी भूभागबाट छिरेर पश्चिमतर्फ जाने गरेका हुनाले पूर्वी भूभागमा बढी मात्रामा पानी पर्ने तथा बाढीपहिरो र डुबानजस्ता समस्याहरू बढी देखिएको उहाँले बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाका अनुसार, शनिवार काठमाडौँमा चार मिलिमिटर वर्षा भएको थियो ।
महाशाखाका अनुसार, शनिवार सबैभन्दा बढी ओखलढुङगामा २४ मिलिमिटर वर्षा भएको थियो । त्यसैगरी, ताप्लेजुङमा आठ, जुम्लामा आठ र वीरेन्द्रनगरमा तीन मिलिमिटर वर्षा भएको थियो ।

बढी पानी पर्ने अनुमान
यो वर्ष वढी पानी पर्ने अनुमान गरिएको छ । वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले गत वर्ष (मनसुन) को तुलनमा यो वर्ष मनसुनको अवधि लामो हुने तथा औसत केही वढी पानी पर्ने बताउनुभयो । यद्यपि वर्षा भने औसत नै रहने उहाँले स्पष्ट पार्नुभयो । गत मनसुनमा १ हजार ३९१ मिलिलिटर पानी परेको थियो भने यो वर्ष १५ सय मिलिलिटर पानी पर्ने अनुमान छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गत वर्षको तुलनामा यस वर्षको ‘प्रि–मनसुन’ मा समेत मुलुकभरिका मौसम स्टेशनहरुमा वढी पानी परेको मापन गरिएको छ । गत वर्ष ‘प्रि–मनसुन’ मा २८२ मिलिमिटर वर्षा भएको थियो भने यो वर्ष २७९ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । त्यसैगरी, यो वर्ष मुलुकभरि सबै भू–भागमा सरदर वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ ।
नेपालमा मौसम मापन सुरु गरिएदेखि अहिलेसम्म वर्षाको ‘ट्रेन्ड’ औसत नै देखिएको बताउँदै मौसमविद् मानन्धरले तर जाडो याममा पानी कम पर्नुका साथै मौसम सुख्खा बन्दै गएको बताउनुभयो ।

तीन दिनअघि सूचना दिने तयारी
यसअघि, जल तथा मौसम विज्ञान विभाग, जल विज्ञान महाशाखाले बाढीको जोखिममा रहेका बस्तीका लागि तीन दिनअघि नै सूचना दिने व्यवस्था सहित मनसुन आपतकालिन कार्ययोजना, २०७५ सार्वजनिक गरिसकेको छ ।
कार्ययोजनाले मुलुकका बाढी प्रभावित विभिन्न नदी नालाहरुको बाढी अनुगमन तथा पूर्वानुमान गर्न, हिमतालहरुमा गरिने विस्फोटका कारण उत्पन्न हुन सक्ने वाढी लगायतको समस्याको पूर्व सूचना प्रवाह गर्न वाढी पूर्वानुमान शाखा २४ घण्टा नै सुचारु गरिने जनाएको छ ।
कार्ययोजनाका अनुसार, मनसुनभरि हरेक दिन विहान ६ वजेदेखि बेलुका ६ वजेसम्म तथा विशेष अवस्थामा दिन वा रात जुनसुकै समयमा पूर्वानुमान बुलेटिन जारी गरिने छ । त्यसैगरी, मनसुन अवधिभरि नै सर्वसधारणलाई बाढीबारेको सूचना प्रदान गर्न ११५५ नं. को टोलफ्रि सेवा उपलब्ध गराउने जानकारी वाढी पूर्वानुमान शाखाले जनाएको छ ।
सरकारको तयारी
सरकारले विपद् व्यवस्थापनका लागि यसअघि १४ बुंँदे निर्णयहरू सार्वजनिक गरिसकेको छ । निर्णय अनुसार, विपद् व्यवस्थापनका लागि प्रदेश १ को इटहरी, प्रदेश ४ पोखरा र कर्णाली प्रदेशको सुर्खेतमा एक–एक वटा हेलिकप्टरसहित खोज– उद्धार टोली तयारी अवस्थामा राखिने छ ।
बैठकले विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीति, २०७५ र विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजनालाई परिमार्जन गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ लाई प्रभावकारी कार्यान्वयन गर्ने निर्णय समेत गरेको थियो ।
त्यसैगरी, भौतिक सम्पत्ति, सडक–पूर्वाधार, खानेपानी र ढलमा पुग्नसक्ने सम्भावित क्षति तथा डुवानको जोखिममा रहेका वस्ती जोगाउन सबै मन्त्रालय, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति र सुरक्षा निकायहरुबीच समन्वय गरिने निर्णय गरिएको थियो ।
अत्यावश्यक उपभोग्य बस्तु, उपकरण, औजारहरू, डुङ्गा, औषधि आदिको पर्याप्त व्यवस्थासहित विपद्को पूर्वतयारी तथा प्रतिकार्यलाई प्रभावकारी बनाइने निर्णय गर्नुका साथै अवरुद्ध सडक सञ्चालन गर्न हेभी इक्युपमेन्टसहितको जनशक्ति तयारी अवस्थामा राख्ने जिम्मेवारी भौतिक योजना तथा निर्माण मन्त्रालयलाई दिइएको थियो ।गोपबाट

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here