मसला बेचेरै तीर्थयात्रा

0
587

झापा/ आर्थिक अभावका कारण धेरै व्यक्तिले चाहेर पनि इच्छाअनुसार तीर्थयात्रा गर्न सकेका छैनन् । मेचीनगरकी एक वृद्धा भने स्थानीय बजारमा घरेलु मसला बेचेर भएको आर्जनले विदेशसम्मका विभिन्न धार्मिकस्थलको दर्शन गर्दै आएकी छिन ।
मेचीनगर–१० धुलाबारीकी ५८ वर्षीया दिनो राजवंशी विगत एक दशकदेखि घरेलु मसला बेचेको कमाइले तीर्थयात्राको इच्छा पूरा गर्दै आएकी हुन् । वर्षमा दुईपटक तीर्थ यात्रामा निस्कने राजवंशीको एकपटकको यात्रामा ५० हजारदेखि ६० हजारसम्म खर्च हुने गरेको छ ।
गत माघ महिनामा उनी भारतको मायापुरी, वृन्दावन, जगनाथपुरी लगायत धार्मिकस्थलको दर्शनमा गएकी थिइन । अब चाँडै अर्काे तीर्थस्थलको भ्रमणमा जाने तयारी छ ।
तीन छोरी र एक छोराकी आमा राजवंशी सीमावर्ती भारतको नक्सलबाडीबाट सुकेको खुर्सानी, जिरा र धनियाँ किनेर ल्याउछिन । मसलामा प्रयोग हुने बेसार भने गाउँघरबाटै जुटाउछिन् । उनले परम्परागत रुपमा घरमै प्रयोग हुँदै आएको काठको ओखलमा मुसलले कुटेर मसला बनाउने गरेकी छिन् ।
यसरी खुर्सानी, बेसार, जिरा तथा धनियाँको मिश्रित र अलग अलगसमेत मसला बनाएर राजवंशी स्थानीय धुलाबारी बजारमा दैनिक बिक्री गर्छिन ।
घरमै पिसेको मसला बढी स्वादिलो हुने र अखाद्य पदार्थ मिसावट नहुने भएकाले स्थानीयवासी मसला किन्न आउने गरेका छन् । नगरपालिकाले बनाएको एउटा टहरामा बसेर राजवंशीले मसला बिक्री गर्दै आएकी छिन् । दैनिक करिब पाँच किलोसम्म मसला बिक्री हुन्छ । एक हजारदेखि एक हजार ५ सय सम्म मुनाफा हुन्छ,” उनले भनिन् । मसलाको कमाइले घरपरिवारको भरणपोषणमा खर्च गर्ने गरेको छु । तीर्थयात्रामा जान अहिलेसम्म कसैसँग पैसा माग्न नपरेको उनको भनाइ छ ।
घरमा एक्लै बस्दा दिग्दारी लाग्ने हुँदा सानोतिनो काममा लाग्दा आम्दानी पनि हुने भएकाले आफुले यो पेशा अपनाएको भन्दै उनले अरुलाई पनि मसला बेच्न सुझाव दिइन । राजवंशीको सल्लाहमा गाउँका अरु पनि मेचीनगरका विभिन्न बजारमा मसला बेच्न थालेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here