इलाम/ मुलुकलमै पहिलोपटक स्वास्थ्य बिमा सुरु गरिएको इलाममा ३६ हजार ५ सय जनाले स्वास्थ्य बिमा गराएका छन् ।
सबै नागरिकमा स्वास्थ्य सुविधाको पहुँच बढाउने उद्देश्यले इलामसहित बागलुङ र कैलालीबाट पहिलो चरणमा सेवा सुरु भएको थियो ।
स्वास्थ्यप्रति सजगता अपनाउँदै बिमा गर्ने थपिँदै गए पनि न्यून आयस्तर भएका अति गरिब, गरिब र सीमान्तकृत वर्गसम्म यो सेवा पुग्न नसकेको पाइएको हो । यस्तो वर्गलाई निःशल्ुक र विषेश छुटमा बिमा गर्ने व्यवस्था भए पनि गरिवको प्रमाणपत्र नहुँदा सेवा कार्यान्वयनमा आउन नसकेको हो । बिरामी पर्दा जसोतसो उपचार गराउँदै आएकाहरूले नै स्वास्थ्य बिमामार्फत सेवा लिएका छन् । जसले आर्थिक अभाव र चेतनाको कमीले उपचारमा पहँच राख्दैनथे, उनीहरू अझै यो सेवाबाट पनि बाहिर छन् ।
स्वास्थ्य बिमामा उनीहरूको पहुँच पुर्याउन अति गरिबलाई १ सय प्रतशत, गरिबलाई ७५ प्रतिशत र सीमान्तकृत गरिबलाई ५० प्रतिशत अनुदानको व्यवस्था छ । तर जिल्लामा अहिलेसम्म कसैले पनि यो सेवा लिन सकेका छैनन् । ‘कैलालीसहित अन्य केही जिल्लामा यो कार्यान्वयनमा आएको छ,’ स्वास्थ्य बिमा बोर्डका दर्ता अधिकारी खेमराज अधिकारीले भने, ‘हाम्रो जिल्लामा कार्ड नबाँडिदा धरैले सेवा पाउनबाट वञ्चित हुनुपरेको छ ।’
जिल्ला अस्पतालसहित ४ वटा प्राथमिक स्वास्थ्य केन्द्रको पहुँच बाहिर पनि समस्या छ । पशुपतिनगर, प्याङ, मंगलबारे र फिक्कलमा रहेका प्राथमिक स्वास्थ्य केन्द्रको पहुँच बाहिरका बासिन्दालाई यो सेवा लिन कठिन छ । घुम्ती शिविर सञ्चालन गरेर भए पनि सेवा प्रदान गर्ने बोर्डको नीति भए पनि कार्यान्वयनमा आएको यति लामो समयसम्म यहाँका बासिन्दालाई स्वास्थ्य बिमा कार्यक्रम बाध्यकारीजस्तै भएको छ ।
जिल्लाको माङसेवुङ, फाकफोकथुम र सन्दकपुर गाउँपालिकाका बासिन्दालाई नजिक सेवा लिने ठाउँ नहुँदा समस्या भएको हो । यी स्थानका बासिन्दाले प्रारम्भिक सेवा लिन पनि टाढा धाउनुपर्ने अवस्था छ । इलाम अस्पतालसहित प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित डाक्टर नहुने जस्ता कारणले पनि बिमितलाई समस्या छ । तर पछिल्लो समयमा बिमा कार्यक्रमकै कारण पनि प्राथमिक स्वास्थ्य केन्द्र र इलाम अस्पतालको सेवा सुधार आएको बोर्डको दाबी छ ।
सरकारले २०७२ चैत २५ गतेबाट नेपाली नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच तथा आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यकासाथ स्वास्थ्य बिमा अभियान सुरु गरेको हो । इलाममा २०७३ असार १५ बाट स्वास्थ्य बिमा दर्ता प्रक्रिया सुरु गरी भदौ १ गतेबाट सेवा दिन सुरु गरिएको थियो । हाल जिल्लामा विभिन्न स्थानीय १० तहमा ८२ जना दर्ता सहयोगीबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुँदै आएको बोर्डले जनाएको छ ।
जिल्लामा बिमितमध्ये ३० हजार चार सय पाँच जनाले विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् । २३ हजार तीन सय ५५ ले इलामका विभिन्न स्वास्थ्य संस्था र अस्पतालबाट सेवा लिएका छन् भने झापाबाट पाँच हजार ५० र अन्य जिल्लाका अस्पतालबाट दुई हजारले सेवा लिएका छन् ।
पछिल्लो सयम विमितको संख्या बढेसँगै सेवमा पनि वृद्धि गरिएको छ । विगतमा ५ सय ३० प्रकारका औषधि निःशुल्क उपलब्ध हुँदै आएकोमा हाल ११ सय १८ प्रकारका औषधि निःशुल्क पाउने व्यवस्था गरिएको छ । बिमितलाई अस्पतालबाट आकस्मिक, अन्तरङ, शल्यक्रिया, बहिरङ, प्रयोगशाला, एमआरआई सेवा र ४० वर्ष कटेकालाई निःशुल्क स्वास्थ्य जोखिम परीक्षण सेवा समेत दिइँदै आएको छ ।
स्वास्थ्य सेवामा सहज पार्नका लागि जिल्लाका चार प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क एक्सरे मेसिन उपलब्ध गराइएको छ । बिमित बिरामीहरूले इलाम अस्पतालसहित जिल्लाका चार प्राथमिक स्वास्थ्य केन्द्र झापा भद्रपुरको मेची अञ्चल अस्पताल, दमकको आम्दा अस्पताल, मेची आँखा अस्पताल तथा विराटनगरको नोभेल अस्पताल, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित काठमाडौंका विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा लिँदै आएका छन् ।
स्वास्थ्य बिमा गराउनेमध्ये जिल्लामा अधिकांश दीर्घ रोगीको संख्या पनि उत्तिकै छ । उच्च रक्तचाप, ग्यास्ट्रिक, मधुमेह, तल्लो पेट दुख्ने बिरामीको संख्या उल्लेख्य छ ।