मधेश मोहमा पहाडका बस्ती उठे, मुख्य कारण रोजगारी, सुविधा र अवसर

0
271

चन्द्र कार्की
तेह्रथुम / जिल्लाको जनसंख्या निरन्तर घटिरहेको छ । पहाडबाट तराईतिर बसाइँसराइ दर नरोकिएकाले जनसंख्या घटेको हो । २०१८ मा ४ लाख २२ हजार ९ सय ५२ रहेको यहाँको जनसंख्या ०६८ सालमा आइपुग्दा घटेर १ लाख १ हजार ५ सय ७७ मा पुगेको छ ।

पछिल्ला वर्षहरूमा जिल्लामा विकासले गति लिएको छ । आम्दानीका स्रोतहरू पनि थपिएका छन् । साक्षरता दर बढेको छ । भौतिक सुविधा पनि थपिएका छन् । सुविधा र अवसरको खोजीमा पूर्वी तराईका जिल्ला सर्ने क्रम बढेको छ ।

यसको असर समग्र जिल्लाको विकास निर्माणमा परेको छ र गाउँपालिका अध्यक्ष सन्तविर लिम्बूले बताए । ७ वर्षको अवधिमा जिल्लाको फेदाप गाउँपालिका सम्दुबाट ५४ परिवारका २ सय ४८ जना बसाइँ सरेर पूर्वी तराई र काठमाडौंंतर्फ गएका छन् । त्यस्तै छथर गाउँपालिकाको ओख्रेबाट पनि ६८ परिवार गाउँ छोडेर पूर्वी तराई बसाइँ गएका छन् ।

बसाइँ जानेहरू सुविधा र अवसर खोजी गर्र्दै गएको गाउँपालिका अध्यक्ष लिम्बूले बताए । आफ्नो गाउँपालिकामा बसाइँसराइको दर उच्च रहेको उनले दुखेसो पोखे । सुविधा खोज्दै अन्यत्र जाने बढेको ओख्रेस्थित रत्नदेवी आधारभूत विद्यालयका प्रध्यानाध्यापक केदार बस्नेतले बताए ।

फेदाप गाउँपालिकाको इसिवुमा पनि बसाइँ जानेको लहर नै चलेको वडा सचिव दुर्गाबहादुर भण्डारीको भनाइ छ । इसिवुबाट ०६४ देखि ०७२ को अन्त्यसम्ममा १ सय ५५ परिवारले गाउँ छाडेको वडा कार्यालयमा रेकर्ड छ । प्रतिपरिवार ५ जनाका दरले गणना गर्दा पनि यो गाउँबाट ९ वर्षको अवधिमा ७ सय ७५ जना बसाइँ गएको सचिव भण्डारीको भनाइ छ । ०७२ यता पनि बसाइँ जानेको संख्या अत्यधिक रहेको उनले बताए ।

छथर गाउँपालिकाको पञ्चकन्या, ओख्रे, फाक्चामारालगायत गाउँबाट पनि प्रत्येक वर्ष गाउँ छोडेर बसाइँ हिँड्ने बढेका छन् । यी गाउँमा पिउने पानीको अभाव, वन्यजन्तुले दिने दुःख, यातायात तथा खाद्यान्न अभाव, स्वास्थ्य तथा उच्चशिक्षाको असुविधाजस्ता कारणले धेरै गाउँले अन्यत्र गएको गाउँपालिका अध्यक्ष लिम्बूले बताए ।

यी क्षेत्रमा भइरहेको बसाइँसराइ रोक्न यसअघि सरकारी तवरबाट भएका प्रयास पर्याप्त नभएको उनको भनाइ छ । दशक अवधिमा धेरै गाउँले बसाइँ गएकाले गाउँ नै खाली हँुदै गएको उनको भनाइ छ । वितेका १० वर्षलाई मात्र आधार मान्दा पनि जिल्लाको जनसंख्या १ लाख १३ हजार १ सय ११ बाट घटेर १ लाख १ हजार ५ सय ७७ मा पुगेको छ ।

०५८ मा शून्य दशमलव ९५ प्रतिशत रहेको यहाँको जनसंख्या वृद्धिदर हाल आएर १ दशमलव शून्य सात प्रतिशत पुगेको छ । समग्र नेपालको जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत छ । राष्ट्रिय जनगणना ०६८ का अनुसार १० वर्षको अवधिमा यहाँको जनसंख्या १० दशमलव २० प्रतिशलले घटिरहेको देखाएको छ भने परिवार संख्या ६ दशमलव ८२ प्रतिशतले बढिरहेको देखाएको छ । जिल्लामा रहेका २२ हजार ८४ परिवारमध्ये ७ हजार ८ सय ३२ परिवारका कम्तीमा एक जना परीवार विदेशमा रहेको राष्ट्रिय जनगणना ०६८ ले औंल्याएको छ ।

बसाइँसराइले गाउँका विद्यालयमा विद्यार्थी नभएपछि शिक्षा कार्यालयले दर्जनभन्दा बढी विद्यालय बन्द गराएको छ । त्यतिकै परिमाणका विद्यालयको तह घटाएको जिल्ला शिक्षा अधिकारी कृष्ण पोखरेलले बताए ।

जनसंख्या घटदै जाँदा जिल्लाको सडक निर्माण, कृषि क्षेत्र, भौतिक पूर्वाधार निर्माणलगायत विकासका गतिविधिमा प्रत्यक्ष प्रभाव देखिएको छ । अन्न फल्ने खेतबारी मासेर किसानले थोरै जनशक्तिबाट काम गर्न सकिने अन्य खेती लगाउन थालेको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here