प्रदेश आवाज, दमक,१३ फागुन/
उनको यात्रा उनकै ब्यापार र ब्यवहारकालागि थियो रे, अघिल्लो पटक चिल्लो, गोरो, मुलायम र आर्कषक चेहरा भएका उनी भन्थे ‘शील्पासँग विहे गर्ने मुडमा छु, यीनले मान्छिन् कि मान्दिनन् ?’ कलकल जवानी भरिएकी सलक्क परेकी युवतीसँग ठूलो स्क्रिन टर्च मोवाइलमा सेल्फी खिचाउँदै गरेका चलचित्र निर्माता/ निर्देशक छविराज ओझासँग भेट भएको थियो ।
अहिले उनको अनुहार चाउरिएछ, आधासरो सेता भइसकेका दाह्री बोकेर कार्यकारी निर्माता ओझा चलचित्र मंगलम्को प्रचारमा आइतवार दमकमा भेटिए । साथमा नायिका शिल्पा पोखरेल, निर्देशक नवल नेपाल, र नायक पुष्प खड्कालाई कियर गाइड गरिरहेका थिए पाथिभरा हलका प्रवन्धक तथा चलचित्र पूर्वाञ्चल वितरक चैतन्य बरालले ।
निर्माता ओझा यो पटक त्यति हँसिलो मुहारमा थिएनन्, जति अघिल्लो पटक थिए । मैले उनको त्यो अघिल्लो पटक झै सेल्फी खिच्ने जवानी मुड ठूलो मोवाइलसँगै गुमिसकेको महसुस गरेँ । र विवाहबारे सोध्न चाहेको थिईन, तर पत्रकार साथीले प्रश्न नगरी सकेनन् र सोधे– विवाहको योजना कहाँ पुग्यो नि ? प्रश्नको जवाफ न शिल्पाले दिइन्, न छविले दिए, छविले मुन्टोसँगै बटारे कुराको चुरो र भने– अहिले मंगलमको मात्र कुरा गरौं है । शिल्पाको अनुहारमा रातो सल्वलाईरहेको थियो । जुरुक्क उठिन र भनिन् बाहिर गएर ग्रुपमा सेल्फी खिचौं है । सेल्फीले छवि र शिल्पाको प्रेम कहानीलाई गुपचुप बनाइदियो ।
सायद दमकका पत्रकारको प्रश्नको जवाफ छवि र शिल्पाले ब्यवहारबाटै देलान्, या अर्को पटकको प्रेस मिटलाई सञ्चय गरेका होलान ।
जे होस् मंगलम्को यो टिमले दमकमा ठूलो र मंगल अवसर पायो न कि एउटै विषयमा दुई ग्रुपमा पत्रकार सम्मेलन गर्ने मौका पायो । पत्रकारसँग कुरा गर्दै कार्यकारी निर्माता छवि ओझाले भने हाम्रो यो खेती हो, खेती राम्रो बनाउने उद्धेश्य सवैको हु्न्छ, हाम्रो खेतीको अनुगमन गरिदिनुहोला । मंगलम् चलचित्र नेपाली मन र माटो सँग गासिएको चलचित्र भएको दावी उनले गरेका छन ।
चलचित्र प्रदर्शनको पूर्व संध्यामा आइतबार दमकको सङ्गम् स्वीटमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्माता ओझाले मंगलम यूनिट आफनो वजारका लागि देशैभरि दौडाहामा निस्किएको बताए । ‘ देशका मुख्य शहर,वजारमा कलाकारसहित हाम्रो यूनिट निस्किएको छ’ सञ्चारकर्मीमाँझ निर्माता ओझाले यस फिल्मबाट दर्शकको माया पाउनेमा विश्वस्त ब्यक्त गरे ।
निर्देशक नवल नेपालले यस फिल्मले दर्शकहरुले यस फिल्म हेरेपछि नेपाली वास्ना, स्वाद प्राप्त गर्ने टिप्पणी गरे । मंगलम् विशुद्ध पारिवारिक फिल्म भएको बताउदै निर्देशक नेपालले भने,–‘ यस फिल्मले समग्र नेपाली फिल्मी उद्योगमा नयाँ पन दिन खोजिएको छ ।’
छविराज प्रोडक्सनमा निर्माण भएको ‘मंगलम’ को बजारसम्म आईपुग्दा १ करोड रुपैया खर्च पुग्ने जनाईएको छ । सो फिल्ममा कलाकारद्धयसंगै मिथिला शर्मा, निर शाह,पृथ्वीराज प्रसाई, सामाज्ञ राज्यलक्ष्मी शाह, ध्रुब कोइराला लगायतका कालारहरुले अभिनय गरेका छन् ।
पत्रकार सम्मेलनमा कलाकारद्धय शिल्पा पोख्रेल, पुष्प खड्का र फिल्मी वितरक चैतन्य वराललगायतले नेपाली फिल्मी वजारमा ‘मंगलम’ ले वजार लिन अपेक्षा गरेका थिए ।
विमल लामिछाने