सन्त कवि ज्ञानदिल दास

10

व्यक्तित्व समीक्षा 

 पारशमणी सम   /  नेपाली कविता साहित्यको इतिहासमा कवि ज्ञानदिल दास र जोसमनी सन्त परम्पराको आफ्नै स्थान र महत्त्व रहेको छ । नेपाली साहित्येतिहासकारहरूले नेपाली कविता साहित्यको प्राथमिक काललाई वीरकाव्य काल र भक्तिकाव्य कालमा विभाजन गरेको पाइन्छ । भक्तिकाव्यलाई पनि सगुण र निर्गुण भक्तिकाव्यको रूपमा विभाजन गरिएको छ । सगुण भक्ति काव्यअन्तर्गत रामभक्ति र कृष्णभक्ति अनि निर्गुण भक्ति काव्य अन्तर्गत जोसमनी सन्त परम्पराअन्तर्गतका सन्त साहित्यलाई राखिएको छ । कवि ज्ञानदिल दास यही जोसमनी सन्त परम्पराका महत्त्वपूर्ण सन्त थिए र उनको साहित्य सिर्जनाले नेपाली साहित्यमा विशिष्ट स्थान लिएको पाइन्छ ।

जोसमनी सन्त परम्पराको प्रचार-प्रसार गर्दै विभिन्न ठाउँ पुगेर लोकप्रियता प्राप्त गर्ने सन्त कवि ज्ञानदिल दासले जीवनको पूर्वाद्ध नेपालमा र उत्तरार्द्ध दार्जीलिङ र सिक्किममा बिताएका थिए । पश्‍चिम सिक्किमको गेलिङ जहॉं सन्त कवि ज्ञानदिल दास बसेर धर्म प्रचार गरेका थिए आज तीर्थ बनेको छ र गेलिङधामले प्रसिद्ध छ ।

कवि ज्ञानदिल दासको जन्म पूर्व नेपालको इलाम जिल्लाको फिकल गाउँमा सन् १८२१-मा भएको हो । यिनी लामिछाने थरका ब्राह्मण थिए अनि यिनले सन्त श्यामदिल दासबाट जोसमनी मतको दीक्षा लिएका थिए । यिनी अत्यन्त चतुर र बुद्धिमान थिए अनि वेद्लगायत धर्मशास्त्रहरूको गम्भीर अध्ययन गरेका थिए । जोसमनी सन्त परम्पराको यिनले व्यापक प्रचार-प्रसार गरेर यस मतलाई स्थापित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे । यिनी कतिसम्म बुद्धिमानी थिए भने यिनका अघि शास्त्रार्थ गर्न उभिएका कुनै पनि विपक्षी तत्क्षण पराजित हुन्थे । एकपल्ट यिनले दार्जीलिङमा पादरी ए. टर्नबुललाई शास्त्रार्थमा पराजित गरी टर्नबुलको धर्म ग्रन्थ बाइबल डडाएर बाइबल पोलेको खरानीबाट कण्ठी बनाई आफ्ना चेलाहरूलाई लगाइदिए । यस घटनापछि जोसमनी सन्त परम्परा खागी र त्यागी दुइ शाखामा विभक्त भयो । खरानीको कण्ठी लगाउन पाउनेहरू खागी भए भने नपाउनेहरू त्यागी भए ।

नेपालबाट दार्जीलिङ पस्न अघि ज्ञानदिलदासले पूर्व नेपालका विभिन्न ठाउँहरूमा जोसमनी मतको व्यापक प्रचार-प्रसार गरेका थिए । उनले पूर्व नेपालमा जोसमनी सङ्गठनलाई बलियो बनाउँदै धर्म प्रचार गरिरहेका थिए जसबाट नेपालका तत्कालीन प्रधानमन्त्री एवं राणा शासनका स्थापक जङ्गबहादुर राणा त्रसित बनेका थिए । जङ्गबहादुरलाई उनीविरुद्ध जनचेतना फैलाउन गुप्त सङ्गठनहरू बनाउन शुरू गरिएको आशंका भयो । उनले ज्ञानदिल दासलगायत उनका अनुयायीहरूलाई पक्राउ गरी काठमाडौं लगे अनि ६ महीनासम्म कैद गरी उनको अध्ययन गरे । तर यस ६ महीनाको अवधिमा ज्ञानदिल दासको राजकाज र राजनीतिसित कुनै सरोकार नरहेको र उनी विशुद्ध धर्म प्रचारक रहेको टुङ्गो लागेपछि स्वयं जङ्गबहादुरले सेतो झण्डा र नगरा दिएर उनलाई स्वतन्त्र रूपमा धर्म प्रचार गर्ने अनुमति दिएका थिए ।

कवि ज्ञानदिल दास प्राथमिक कालीन नेपाली कविता साहित्यका एक प्रतिभाशाली कवि हुन् । उनको जीवन सङ्घर्षमय छ । उनले अनेकौं यातना र विरोधको सामना गर्नु परे पनि प्रत्येकपल्ट उनी विजय बनेको इतिहास पाइन्छ । जङ्गबहादुर राणाले उनलाई कैद गरे तर पछि ससम्मान छोडे । उनको प्रभावमा आएर रणोदिप सिंहलगायत धेरै तत्कालीन भारदार, सैनिक र कर्मचारी जोसमनी मतमा दीक्षा लिन अघि आए । एकपल्ट चतरा मठमा एकतृत भएका कविरपंक्तिहरूले जोसमनीहरूलाई मांसहारी भनेर निन्दा गर्दा ज्ञानदिल दासले ‘‘साधु कबीर अगम मै तो हुँ, मांस भिषारीयॉं’’ भन्ने भजन देखेर मासुको आध्यात्मिक रहस्यवादी अर्थ खोलेर कबीरहरूलाई निरुत्तर तुल्याएका थिए । भनिन्छ, जोसमनी सन्त अषडदिल दासले मत प्रचारलाई धन कमाउने साधन बनाएका थिए, जसलाई ज्ञानदिल दासले निन्दा रे । पूर्व नेपालको इलाममा धर्म प्रचार गर्दा यिनले ब्राह्मणहरूको आलोचनाको समना गर्नुपर्‍यो । उनी जेलमा पनि परे र दुइ महीनापछि छुटे । दार्जीलिङमा उनलाई इशाईहरूले धपाउने अनेकौं चेष्टा गरे तर उनी विचलित भएनन् उल्टो पादरी टर्नबुललाई शास्त्रार्थमा निम्तो दिएर विजय भए अनि बाइबल नै जलाइदिए । पश्‍चिम सिक्किमको गेलिङमा जेरूङ देवानले उनी बसेको धाम ध्वस्त पारे । देवानलगायत बाहुनहरूले उनलाई गाउँबाट निस्कासित गर्ने, जातिबाट च्यूत गर्ने धम्की समेत दिए । ज्ञानदिल दास अलिकति पनि विचलित भएनन् बरू उल्टो अज्ञानी बाहुनहरूलगायत आम मानिसलाई शिक्षा दिन अनौठो विधिको प्रयोग गरे । सन्त ज्ञानदिलले दिउँसै हातमा विशाल रॉंको लिएर शिङ्ला बजारमा जात खोज्दै घुमे । यी सबै कार्यले सन्त ज्ञानदिलको व्यक्तित्वको अद्भूत रूपलाई प्रतिबिम्बित गर्दछ । उनको पाण्डित्य, निर्भिकता, आत्मविश्‍वास, सैद्धान्तिक दृढता, धैर्यता र जनजागरण फैलाउने अमोघ प्रयत्न अविष्मरणीय छ जसले एउटा गौरवपूर्ण इतिहास बोकेको हामी पाउँछौ ।

सन् १८८३-मा स्वर्गारोहण हुने सन्त ज्ञानदिल दास सन् १८७७ तिर सिक्किम आएको मानिन्छ । उनी जोसमनी सन्त परम्पराका महान धर्मगुरू मात्र नभएर नेपाली कविता साहित्यका अमूल्य रत्न तथा सिक्किमेली नेपाली कविता साहित्यका आदिकविका रूपमा स्थापित छन् । डा. केशवप्रसाद उपाध्यायले ज्ञानदिल दासलाई नेपाली कबीर भनेका छन् । उनको कवित्त्व प्रतिभा प्रभावशाली र तेजस्वी छ ।

कवि ज्ञानदिल दासले धर्म प्रचारका क्रममा थुप्रै भजन रचना गरेका थिए भनिन्छ । उनले ६० वटा भऩ्दा धेरै भजनको रचना गरेका थिए भन्ने मत विद्वानहरूको छ । उपलब्ध कृतिहरूका आधारमा उनका तीन प्रमुख काव्य कृतिहरूको चर्चा यहॉं गरिन्छ । १. उदय लहरी, २. झ्याउरे भजन र ३. टुङ्ना भजन ।

डा. पुष्प शर्मा अनुसार- नेपाली कविताको प्राथमिक कालको उत्तरार्द्ध वा दोस्रो चरणतिर देखापरेका जोसमनी सन्त सम्प्रदायका सन्त कवि ज्ञानदीलदासका उदय लहरी (सन् १८७७), ‘टुङ्ना भजन ’ र ‘झ्याउरे भजन’ (सन् १८७८-७९) नै सिक्किमेली नेपाली कविताको थालनीका प्रेरक रहेका पाइन्छन् ।

ज्ञानदिलदासको उदयलहरी १०९ पद्यमा लेखिएको छ । यी पद्य छन्दोवद्ध छैनन् । लोक छन्दमा आधारित छन् । यसमा कविले गुरू महीमा, ज्ञानमहीमा, भक्ति योग, समाधि, तत्त्वज्ञान आदि दशाएर जोसमनी मतको महत्त्व, विशेषता र मर्म सम्झाउने प्रयास गरेको देखिन्छ । ठाउँ-ठाउँमा कर्मकाण्ड, हिंसा, अज्ञानता, जोतिष, घुस र गरीबीको विरुद्ध विद्रोह, व्यङ्ग्य र करूणा व्यक्त गरिएको छ । यसमा कवि ज्ञानदिलको धार्मिक मान्यता र जीवन दृष्टि परिलक्षित छ । कविले उदयलहरीको रचना दार्जीलिङ र सिक्किममा गरेको विद्वानहरूको मत रहेको पाइन्छ । विद्वानहरूका मतअनुसार सन् १८७७-मा सिक्किम प्रवेश गर्न अघि उनले उदयलहरीको रचना दार्जीलिङमा शुरू गरेका थिए र यसलाई सिक्किममा आएर पूरा गरे । डा. पुष्प शर्मा लेख्छिन् -‘‘ज्ञानदिलदासले दार्जीलिङमा रहँदा-बस्दा उदयलहरी-को रचना कार्य सन् १८७७ तिर समाप्त गरेका थिए भन्ने विद्वानहरूको भनाई रहेको पाइए तापनि स्वामी प्रपन्नाचार्यले चाहिँ दार्जीलिङबाट धर्म प्रचारकै उद्देश्यले भए पनि सिक्किम प्रवेश गरेका सन्त कवि ज्ञानदिलदासले गीत र भजनका अतिरिक्त उदयलहरीका केही अंशहरू पनि सिक्किममा रचना गरेका हुन् भन्ने विचार प्रकट गरेको पाइन्छ । ‘’

उदय लहरीको मुख्य उद्देश्य ज्ञान, भक्ति र वैराग्यको प्रतिपादन गर्दै ब्रह्मानन्द प्राप्तिको उपाय बताउनु हो । यसमा कविले रजोगुण र तमोगुणमा विजय गरी सत्त्वगुणको उद्घाटन गर्नुपर्ने मत व्यक्त गरेका छन्-
सत रज तमको महॉं जुद्धे भयो
सतको अर्जि ली तम गुण गयो
निसापी विचारी निसाप् हेरिदेऊ
सतगुणी निर्धाको सरन् अब लेऊ ।

धर्म प्रचारको क्रममा उनले सन् १८७८-७९ तिर गेलिङ धाममा झ्याउरे भजन र टुङ्ना भजनको रचना गरेको मानिन्छ । डा. पुष्प शर्मा लेख्छिन्- ’झ्याउरे भजन र टुङ्ना भजन चाहिँ आजपर्यन्त पनि गेलिङधाम वरिपरिका वासिन्दा, नयॉं बजार, सोरेङ, च्याखुङतिरका मानिसहरू मुख-मुखै गाउने गर्छन् । उनले सिक्किममा रहँदा-बस्दा (सन् १८७७-१८८३) सामाजिक सुधार संस्कारको भावना र धर्म प्रचारकै उद्देश्यले भए पनि केही गीत भजनहरू रचना गरेका थिए भन्ने अनुमान गर्नसकिन्छ र यसबाट सिक्किमेली समाज केही मात्रामा प्रभावित प्रेरित भएको थियो भन्ने अनुमान गर्नसकिन्छ । यसैले ज्ञानदिलदासका रचना-कृतिहरूलाई पनि सिक्किमेली नेपाली कविताको बीज वा पृष्ठभूमिका रूपमा लिनुपर्ने स्थिति रहेको पाइन्छ । ’’ कविका यी दुइ भजनमा उनी समस्त कवित्त्व गुणले सम्पन्न रहस्यवादी कविको रूपमा उपस्थित भएका छन् । डा. केशव प्रसाद उपाध्याय अनुसार नेपाली लोक छन्द झ्याउरेलाई कवित्त्व मर्यादा दिने प्रथम कविनै ज्ञानदिलदास हुन् । डा. उपाध्याय लेख्छन्, ’यी दुवैमा पद् लालित्य, भाव माधुर्य, रस घनत्व र कल्पनाको सुन्दर संयोजन हेर्न र अनुभव गर्नसकिन्छ । झ्याउरे भजन २४ पद्यमा झ्याउरे लयमा लेखिएको छ-
धुनीको छेउ छाउ टक्रयाक टुक्रुक
जोगी ज्यान बसेको
निधारै भरी फुस्रै र धुस्रै
षरानी घसेको ।

यसरी नै टुङ्ना भजन पनि नेपाली लोकलयमा लेखिएको छ । यसमा १८ हरफ छन् । यसमा गीतात्मक लालित्य पाइन्छ भने यो रहस्यवादी छ । यसमा गाउँले बोलीको आत्मीयता पाइन्छ तर भाव भने गहिरो पाइन्छ-
वंसी बज्यो तिरिरि, अनहद्को छन् छन्
कमल् फुल्यो रन्वन् भमराको भन् भन्
राम जी! जोगी घुम्यो फन् फन् नि ।

कवि ज्ञानदिल दासले लगभग ६० वटा भजनहरू रचना गरेको मानिन्छ । कतिपय प्राप्य छन् र कति अप्राप्य पनि । यसमा अध्ययन् र अनुसन्धान भइरहेका छन् ।

अन्त्यमा भन्नुपर्दा कवि ज्ञानदिल दास सिक्किमेली नेपाली साहित्यका पृष्ट पोषक थिए, मार्ग दर्शक थिए, प्रणेता थिए । यिनलाई सिक्किमेली नेपाली साहित्यका आदिकवि पनि मान्न सकि न्छ । विलक्षण प्रतिभाका धनी कवि ज्ञानदिल दास नेपाली साहित्यका अमूल्य निधिका रूपमा परिचित छन् भने उनले सिक्किमेली नेपाली कविता साहित्यको पृष्ठभूमिलाई बलियो आधार प्रदान गरेका छन् ।

पारसमणि शम

फेसबूकमा कमेन्ट्स गर्नुहोस्