दमक महोत्सवकाे तयारी अन्तिम चरणमा, अर्थमन्त्री महतले उदघाटन गर्ने

0
132

दमक/ दमक उद्योग वाणिज्य संघको आयोजनामा दमकमा यही माघ २८ गते देखि शुरु हुने दमक महोत्सवमा सुदुरपश्चीमबाट समेत व्यवसायिक तथा कृषि उत्पादनका स्टलहरु रहने भएका छन । महोत्सव आयोजनक मूल समितिका अनुसार अहिले सम्म एक सय भन्दा धेरै स्टलहरु बुक भइसकेका छन ।

मुल समितिका संयोजक समेत रहेका संघका वरिष्ठ उपाध्यक्ष राजु खडकाले महोत्सवमा देशका विभिन्न प्रदेशहरुबाट पनि व्यवसायिक तथा कृषि उपजहरुको स्टल राख्नका लागि बुकिङ भएको जानकारी दिए ।

खडकाले भने– हामी एकदमै उत्साहित रुपमा महोत्सव व्यवस्थापनमा लागेका छौं । महोत्सवप्रति चौतर्फी जिज्ञासा र उत्साह देखिएको छ यसले हामीलाई थप हौसला मिलेको छ । उनका अनुसार यो महोत्सवमा स्टलहरु डोमेन हेंगरमा सजाइनेछन । यो अभ्यास दमकमा पहिलो पटक गर्न लागिएको उनको भनाई छ । महोत्सवमा आधुनिक किसिमका खेल तमासाहरु पनि सञ्चालन हुनेछन ।

दमक ७ स्थित सयपत्री टोलमा फागुन १२ गते सम्म सञ्चालन हुने छैठौं दमक महोत्सवको उदघाटन अर्थमन्त्री डा. प्रकाश शरण महतले गर्ने निधो भएको छ । महोत्सव उदघाटनका लागि अर्थमन्त्री डा. महत आउने निश्चित भएको महोत्सव प्रचार प्रसार समिति संयोजक समेत रहेका संघका कार्यसमिति सदस्य तुल्सीराम तिम्सिनाले जानकारी दिए । महोत्सवमा कृषि, औद्योगिक तथा व्यापारिकका साथै विज्ञान प्रविधि, शैक्षिक एवं विभिन्न बिधाका स्टलहरु रहने जनाइएको छ ।

महोत्सवस्थललाई घेराबारासँगै आकर्षक रुपमा सजाइएको छ । महोत्सवमा रसियन कलाकारको नृत्य अर्को प्रमुख आकर्षण हुनेछ । महोत्सवलाई सफल बनाउन गठित विभिन्न उपसमितिहरुले सक्रिय रुपमा काम गरिरहेको र कलाकार व्यवस्थापनमा पनि उत्तिकै सक्रियतापूर्वक लागिरहेको संघका द्धितीय उपाध्यक्ष ज्ञाननाथ पौडेलले बताए ।
खडकाको संयोजकत्वमा रहेको मूल आयोजक समिति र सो अन्तर्गतका विभिन्न उपसमितिहरुबीच महोत्सवलाई भव्य रुपमा सम्पन्न गराउने उद्धेश्यले बाक्लो रुपमा बैठक, छलफलहरु गरिएका कारण पनि यहाँको व्यवस्थापन चुस्त दुरुस्त हुने संघका अध्यक्ष गोपाल गुरागाइँको भनाई छ । संघले अहिले सम्म उद्योगी व्यवसायीहरुसँगको अतिरिक्त स्थानीय राजनीतिक दलहरु, आदिवासी जनजाती महासंघ लगायतसँग महोत्सवलाई सबैको साझा उत्सवको रुपमा मनाउने बिषयमा चरणबद्ध छलफल गरेको अध्यक्ष गुरागाइँले बताए ।

संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गोकुल श्रेष्ठले आर्थिक गतिबिधिलाई चलायमान बनाउँदै पूर्वका उद्योगी व्यवसायीहरुलाई मनोरञ्जन दिलाउन यो महोत्सवले महत्वपूर्ण योगदान दिनेमा विश्वस्त रहेको बताए ।
फागुन १२ गते सम्म सञ्चालन हुने सो महोत्सव अघिल्लो पटकका महोत्सवहरु भन्दा फरक किसिमको हुने दमक उद्योग वाणिज्य संघका कार्यालय प्रमुख निरज बिष्ट बताउँछन ।

महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुका अतिरिक्त भारतबाट समेत चर्चित कलाकारहरु आउने भएकाले पनि यस बर्षको महोत्सवमा फरक मनोरञ्जनात्मक हुने विष्टको भनाई छ । संघले यो महोत्सवमा ६ करोड बढीको कारोबार हुने अपेक्षा गरेको छ । संघले महोत्सव सञ्चालन वापत प्राप्त गरेको रकम दमक ८ मा निर्माणाधिन इलम प्रशिक्षण केन्द्र सञ्चालनमा उपयोग गरिने जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here