राष्ट्रपतिद्वारा प्रधानमन्त्री सहित चारजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ

0
173

काठमाण्डाै / नयाँ प्रधानमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मङ्गलवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन्।  राष्ट्रपति कार्यालयले निकालेको वक्तव्यमा सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलाअनुसार उनलाई प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख छ।

सर्वोच्च अदालतको संवैधानकि इजलासले गरेको फैसलापछि संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्नुपर्ने अवस्था आएको हो। शपथग्रहण समारोहमा देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरिएको उल्लेख गरिएको छ।

त्यसअघि नियुक्तिमा संविधानको धारा उल्लेख नगरिएको भनी देउवाले त्यसलाई सच्याउन आग्रह गरेको खबरहरू आएका थिए।

नियुक्तिबारेको भाषा विवादका कारण शपथग्रहण समारोह तोकिएको समयभन्दा करिब साढे दुई घण्टा ढिलो गरी भएको बताइएको छ। मङ्गलवार साँझ ६ बजेका लागि तोकिएको उक्त समारोह करिब साढे ८ बजेमात्र भएको थियो।

नयाँ मन्त्रीहरू नियुक्त

मङ्गलवारै प्रधानमन्त्री देउवाले चारजना मन्त्रीहरू नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीहरूमा कांग्रेसबाट बालकृष्ण खाँड गृह र ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय व्यवस्था तथा नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका हुन्।

उनीहरूलाई पनि मङ्गलवारै पद तथा गोपनीयताको शपथग्रहरण गराइएको छ। देउवालाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) बाट भने मङ्गलवार मन्त्री बनाइएको छैन। प्रधानमन्त्रीसहित बढीमा २५ जनासम्मको मन्त्रिपरिषद् बनाउन मिल्ने संवैधानिक व्यवस्था छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here