चाडपर्वको चहलपहलले संक्रमण थप फैलने खतरा, यस्तो छ विज्ञको सुझाव

0
289

काठमाडौं, कात्तिक ६ । कोरोना संक्रमणको ‘हटस्पट’ बनेको काठमाडौं उपत्यकाबाट दशैं मनाउन बाहिरिनेको संख्या बढिरहेको छ । विदेशबाट दशैं मनाउन फर्किनेहरु पनि थपिँदैछन् ।

संक्रमणको पारो चढिरहेको बेला भइरहेको यस्तो आवतजावत र चहलपहलले संक्रमण झनै बढ्ने विज्ञहरुले चेतावनी दिएका छन् । सरकारले कोरोनाको परीक्षण र उपचार निःशुल्क नगर्ने निर्णय गरेसँगै संक्रमणको दर बढ्नसक्ने देखिएको छ । त्यसमा पनि चाडबाडको छेकोमा मानिसहरुको चहलपहल बढेसँँगै संक्रमण थप बढ्ने खतरा देखिएको छ ।

हाल १५ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् । काठमाडौं उपत्यकामा भने २४ हजारभन्दा बढी संंक्रमित संक्रमित छन् । यो संख्या देशभर कुल सक्रिय संक्रमितको ६० प्रतिशत हो । सक्रिय संक्रमितको संख्यासमेत धेरै रहेको उपत्यकाबाट दशैं सुरु भएसँगै बाहिरिनेको संख्या बढ्दा यसले संक्रमणको दर अन्य जिल्लामा समेत बढ्ने देखिएको छ ।

चिकित्सकहरुले दशैंका कारण संक्रमण अन्य जिल्लामा समेत फैलिनसक्ने जनाएका छन् ।सरकारले हाल ‘कन्ट्याक्ट ट्रेसिङ’समेत आफ्नै शुल्कमा गर्नुपर्ने जनाएपछि अबका दिन थप चुनौतीपूर्ण हुने देखिएको छ ।

जनस्वास्थ्यविज्ञ डा. बाबुराम मरासिनी घर गएपछि नियमित मास्क लगाएर बस्न, परिवारका सदस्य, समुदायका व्यक्तिसँगसँगै नबस्न, छुट्टै सुत्न, घुलमिल नहुने कार्य गर्नसके संक्रमण फैलन केही हदसम्म रोक्न सकिने बताउनुहुन्छ । दशैंको समयमा मासुजन्य पदार्थको धेरै प्रयोग गरिन्छ । चिल्लो, पिरो र मसालेदार खानाको पनि अत्यधिक प्रयोग हुन्छ ।

संक्रमण बढिरहेको समयमा खानपानमा समेत विशेष ध्यान दिनुपर्ने बताउनुहुन्छ, आयुर्वेदिक चिकित्सक डा. ऋषिराम कोइराला । कोरोना संक्रमणले महामारीको रुप लिइरहेको समयमा झन दशैंको मेसोमा हुने आवतजावतले भोलिका दिन खतरापूर्ण हुने संकेत देखिएका कारण व्यक्ति आफैं सचेत हुन आवश्यक छ ।

यसैले यसपटकको दशैंमा जो-जहाँ छौं, त्यहीँ सुरक्षित तवरबाट मनाऔं । मान्यजन र आफन्तको घर-घर पुगेर आशीर्वाद ग्रहण गर्ने नाममा संक्रमण सार्ने माध्यम नबनौं । अरुबाट पनि संक्रमण सर्ने सम्भावनाबाट जोगिऔं ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here