काठमाडौँ, २२ साउन / पछिल्लो २४ घण्टामा देशभर थप ३६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ६२२ जनामा गरिएको पिसीआर परीक्षणमा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै नेपालमा सङ्क्रमितको सङ्ख्या २१ हजार ७५० जना पुगेको छ । त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या भने ६ हजार २९६ रहेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २३३ जना उपचारपछि निको भएका छन् भने नेपालमा हालसम्म १५ हजार ३८९ जना उपचारपछि निको भएका छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप पाँच जना व्यक्तिको निधन भएको छ । मृत्यु हुनेमा मोरङका ४५÷४५ वर्षीय दुई पुरुष, सर्लाहीका ६५ वर्षीया महिला, धनुषाका ७२ वर्षीया महिला र सप्तरीका ४२ वर्षीय पुरुषको निधन भएको हो । उनीहरू सबैको निधन साउन २१ गते भएको हो । यससँगै कोरोना भाइरसबाट निधन हुनेको सङ्ख्या ६५ पुगेको छ ।
त्यसैगरी काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ८७ जना कोरोना सङ्क्रमति थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा ७६, ललितपुरमा १० र भक्तपुरमा एक जना व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौँ उपत्यकालगायत अन्य बाक्लो बस्ती भएको ठाउँमा सङ्क्रमणको दर बढेकाले अस्पतालमा बेड उपकरण र स्वास्थ्यकर्मी अभाव हुन सक्ने भएकाले सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् । उनले कोरोनाको औषधि पत्ता नलागिसकेको भन्दै सबै अस्पतालले चिकित्सकलाई सिफ्टअनुसार मिलाएर काम गराउन आग्रह समेत गरेका छन् ।