∼ बाँस्कोटा धनञ्जय
अहिले कोरोना भाइरस के भन्दै होला, सोध्नुभयो ? खुशी छ कि दुखी ?
आत्मबृतान्त कोरोनाको
आकासमा उडदै गर्दा तिमीले
यो नीलो अनन्त आकास पनि आफ्नै ठान्यौ
पानीमा तैरिदै गर्दा तिमीले
नीलो गहिराई र अनन्त फैलावट
पनि आफ्नै ठान्याै
हरिया जंगलभित्र पसेपछि तिमीले
अनन्त जंगलको क्षितिज पनि आफ्नै ठान्यौ
तिमीले आँफूलाई कहिल्यै देखेनौ
आफ्नाे ख्याउटे अनुहार आफ्नै ऐनामा ।
सिर्फ देख्यौं हावा, माटो, पानी
र मन कलुषित बनाउने रसायनशास्त्र
सिर्फ पढ्यौ पानी भित्रका
सजीवहरु मार्ने भौतिकशास्त्र
सिर्फ जान्यौं जंगलराजको थोत्रो राजनीतिशास्त्र
सिर्फ घोक्यौ शक्तिआर्जनको खातिर रचिएका
अनेक वादका केही पदावलीहरु
र घोषणा गर्याै आफैलाई
यो पृथ्वी ग्रहको अधिपति ।
तिमीलाई कसैले सिकाएनन ?
यो धर्ती तिम्रो मात्रै होइन
यो पानी तिम्रो मात्रै होइन
यो जमिन तिम्रो मात्रै होइन
यो आकास तिम्रो मात्रै होइन
तिमीले चलाएको साम्राज्यमा
तिमीले सिर्पm मार्न सिक्यौ र सिकायौ
पानीकालाई पनि मार्याै
जमिनकालाई पनि मार्याै
आकासमा उडने पनि मार्याै
जमिनमुनि लुकेर बसेकाहरुलाई पनि मार्याै
र सजायौं तिम्रा भ्रान्तीहरु
तिनैलाई चपाएर हरपल मनायौं
बाहानाको एउटा उत्सव
तिनको चित्कारमा तिमी रमाइरह्यौ
नाचिरह्यौ, हाँसिरह्यौ र
मनाइरह्यौ मानवताका कथित बिजयउत्सवहरु ।
तिनको चित्कारले ब्यूँझायो
र त म हाँजिर भएँ
यो हरियो ग्रहको रक्षार्थ
अलग नामले —कोराना अर्थात कोभिड नाइन्टिन्
तिम्रा सारा साम्राज्य ध्वस्त पार्न
र तिमीलाई आफ्नै घर
चिहानको बिम्बमा सुम्पिनु थियो
घरभित्रै निसास्सिएर बसाउनु थियो
तिम्रै नयन अगाडि
तिम्रा सन्तान छटपटिँदा
तिमीलाई छुन सम्म नदिई
अन्तिम स्वास फेरुञ्जेल
सिर्फ तिमीलाई दर्शक बनाउनु थियो
र मृत्युको आभाष गराउनु थियो
मानवीय सम्बन्धहरु पढाउनु थियो
परिवारको प्रेम बुझाउनु थियो
अभाव कस्तो हुन्छ भोगाउनु थियो
अर्काको मृत्युमा उत्सव मनाएर
संसार कब्जा गर्ने तिमीलाई
सिकाउनु थियो एउटा पाठ
‘यो पृथ्वी ग्रह तिम्रो मात्रै पेवा होइन’ ।