झापा,८ बैशाख । जनस्वास्थ्य कार्यालय झापाले बालबालिकाहरुलाई दिदै आएको नियमीत खोपलाई निरन्तरता दिनेभएको छ । कोरोना भाईरस (कोभिड—१९ ) का कारण केहि समययता अवरुद्ध भएको नियमित खोप सेवा यसै हप्ता भित्र शुरु गर्ने तयारी भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका १५ वटै स्थानीय तहहरु र तिनका सवै वडाका खोप केन्द्रहरुका तथा जिल्लाका १ सय २२ वटै स्वास्थ्य संस्थाहरुबाट चाँडै नियमित खोप सेवा सञ्चालन गर्ने तयारी भईरहेको जनस्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । हालको बिषम परिस्थितिलाई मध्यनजर गर्दै भौतिक दुरीलाई समेत कायम गरि खोप सेवा सुचारु गरिने उनले बताए ।
यता दमकमा भने हाल दमक नगरपालिका अन्र्तगतको स्वास्थ्य शाखामा बालबालिकाहरुका लागि आवश्यक भ्याक्सिन नभएको र जनस्वास्थ्य कार्यालय भद्रपुरबाट ल्याउनुपर्ने भएकाले बैशाख १२ गतेदेखि १८ गते भित्रमा मात्र खोप सेवा सञ्चालन गर्न सकिने दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबृक्ष चौधरीले जानकारी दिए ।
नेपाल सरकारले विगत लामो समययता जन्मे देखि २ वर्षसम्मका लागि १२ वटा खोप सेवा लिन र ५ बर्षमुनिका बालबालिकालाई पोलियो, भिटामिन ए जुकाको औषधी सेवन गर्न अनिवार्य गरिआएको छ । हाल दमकमा १ बर्षमुनिका अनिवार्य खोप लिनु पर्ने बालबालिकाको संख्या १ हजार ८ सय रहेको र ८ हजारको हाराहारी ५ वर्षमुनिका बालबालिका रहेको स्वास्थ्य शाखा प्रमुख चौधरीले जानकारी दिए ।
जारी बन्दाबन्दीका लम्बिएका कारण झापामा नियमीत खोप कार्यक्रमनै प्रभावित हुन पुगेको थियो । नियमित खोप सञ्चालन हुन नसक्दा यस अबधिमा खोप लिने बालबालिकाहरु सो सेवा लिनबाट बञ्चित हुनुपरेको थियो ।