डा. सरोज चुडाल, बर्लिन / म जर्मनीको बर्लिनमा बस्छु । पेसाले इन्टरनल मेडिसिन र इमर्जेन्सी चिकित्सक हुँ । सन् २०१४ मा बर्लिनस्थित सारिटे मेडिकल विश्वविद्यालयबाट अध्ययन सकेपछि क्रान्केन हाउस अस्पतालमा कार्यरत छु । नेपालमा चिकित्सकका रूपमा काम गरेको लामो अनुभव नभए पनि सन् २०१५ को महाभूकम्पका बेला केही समय काम गरेको थिएँ ।
विकसित र विकासोन्मुख देशको विकास, प्रविधि र अन्य स्रोतसाधनमा जुन फरक छ, त्यस्तै फरक नेपाल र यताको स्वास्थ्य क्षेत्रमा पनि छ। नेपालमा सीमित स्रोतसाधनको परिधिमा रहेर कसरी राम्रो सेवा दिने भन्ने हुन्छ। त्यसको अनुपातमा यता साधन र स्रोतको सुविधा बढी हुन्छ। त्यसैले यता काम गर्न अलि सहज हुन्छ र राम्रो सेवा दिन सकिन्छ।
जर्मनीमा स्वदेशी र विदेशीबीच विभेद हुन्छ भन्ने सुन्ने गरिन्छ। मैले भने त्यस्तो अनुभव गरेको छैन्।
म आपत्कालीन सेवामा कार्यरत भएकाले विभिन्न खालका बिरामी आउँछन्। धेरैजसो मुटु र फोक्सोसम्बन्धी बिरामी हुन्छन्। गम्भीर हृदयाघात र मुटुसम्बन्धी अन्य रोगका बिरामीको संख्या धेरै हुन्छ। दम, आन्तरिक रक्तस्राव, ढाड दुखेका, पखाला लागेका उच्च रक्तस्राव र मुटुका सामान्य रोगी पनि उपचारका लागि आउँछन्। केही समस्या नभए पनि बिसन्चो भएको जस्तो लागेर अस्पताल आउने गर्छन्। आपत्कालीन सेवाका चिकित्सकको मुख्य काम नै बिरामीको त्यस्तो अवस्था किन भयो? किन अकस्मात् बिरामी भयो भन्ने पत्ता लगाउनु हो। सकेसम्म त्यस्ता बिरामीको श्वासप्रश्वास, मुटु र स्वास्थ्य जटिलतालाई स्थिर राखेर रोग पत्ता लगाउने अनि त्यसको जटिलता हेरेर सघन उपचारमा पठाउने कि अन्य वार्डमा पठाउने भन्ने सिफारिस गर्नु पनि आपत्कालीन सेवाका चिकित्सकका प्रमुख कार्य हुन्।
आपत्कालीन सेवामा पहिले आउनेले सुरुमै उपचार पाउने भन्ने हुन्न। बिरामीको जटिलता हेरेर कसलाई तत्कालै उपचार गर्ने त्यो हेरिन्छ। हामीले अन्य मुलुकमा जस्तै मेन्चेस्टर ट्रियाज सिस्टम अपनाउँछौं। त्यसअन्तर्गत बिरामीको अवस्था परीक्षण गर्ने पाँच प्रकारका श्रेणी हुन्छन् : रातो, सुन्तला रङ, पहेंलो, हरियो र नीलो। रातो श्रेणीमा परेका बिरामीको तत्कालै उपचार नगरे मृत्यु हुन सक्ने भएकाले तत्कालै हेर्नुपर्छ। यस्ता बिरामी प्राय: एम्बुलेन्समा चिकित्सककै साथमा आएका हुन्छन् र एम्बुलेन्समै ईसीजी गरिएको हुन्छ। ईसीसीको रिपोर्टबाट के समस्या हो भन्नेबारे जानकारी हुन्छ। ईसीजीकै सूची हेरेर कहाँ राख्नुपर्ने हो त्यहीं सिधै लान सकिन्छ। यसले गर्दा समयको बचत हुन्छ र बिरामीले छिटो उपचार पाउँछन्।
कतिपय बिरामी हिँडेर वा सामान्य गाडीमा पनि अस्पताल आएका हुन्छन्। त्यस्ता बिरामीको स्थिति गम्भीर हुँदैन । उनीहरूको नाडीको पल, अक्सिजनको मात्रा, ब्लडप्रेसर, मुटुको धड्कन, श्वासप्रश्वासको अवस्था आदि हेरेर कति समयपछिसम्म हेर्दा हुन्छ भन्ने निर्णय गरेर चिकित्सकलाई सिफारिस गरिन्छ।
नेपालमा चिकित्सकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको उपचार नगरेको भन्ने सुनिन्छ। तर यता यस्तो सुनिँदैन। यसले विश्व नै त्रसित बनाइरहेको हुँदा डर सबैलाई हुन्छ। डर लागे पनि यहाँ अस्पतालमा आएका बिरामीलाई ‘उपचार गर्दिनँ, यहाँ हुन्न अर्को ठाउँमा उपचार गर्न जानू’ भन्न भने पाइन्न। बिरामीको रोगअनुसारको उपचार सेवा आफ्नो अस्पतालमा छैन भने पनि अर्को उपयुक्त अस्पताल खोजेर, चिकित्सकसँगको परामर्शपछि बेड खोजिदिएर आफैंले एम्बुलेन्समा राखेर पठाउनुपर्छ। अर्को कुरा, यहाँ पनि नेपालमा झैं पीपीई (व्यक्तिगत सुरक्षा कवच) भन्ने शब्दबारे धैरै नै बहस चलेको छ। जर्मनीमा भने यसको अभाव छैन र कोरोना संक्रमित बिरामी आउँदा सुरक्षाका सामग्री नभएर उपचार गर्दा डराउनुपर्ने स्थिति पनि छैन।
जर्मनीका सबै अस्पतालभित्र पस्नुअघि मूल प्रवेशद्वार अगाडि नै केही संकेत राखिएका हुन्छन्। कोरोना लागेको छ भने त्यसैलाई संकेत गर्ने घण्टी बाहिरैबाट बजाउनुपर्छ। त्यो घण्टी बजाएपछि अस्पतालको आपत्कालीन कक्षका सबै विभाग सक्रिय हुन्छन्।
संक्रमण भएको वा शंकास्पद बिरामीलाई सुरुमा आइसोलेसन वार्डमा राखिन्छ र उपचार गरिन्छ। नेगेटिभ देखिएपछि मात्र अन्य सामान्य वार्डमा सारिन्छ। पोजेटिभ भए कोहोर्ट आइसोलेसन (ग्रुप आइसोलेसन) मा राखिन्छ। उदाहरणका लागि, दुई जना कोरोना पोजेटिभलाई एउटै कोठामा राखेर उपचार गरिन्छ।
इटाली र स्पेनमा जस्तो बेड नपुगेर बिरामीलाई कोरिडोरमा राख्नुपर्ने अवस्था जर्मनीमा हालसम्म आएको छैन। यद्यपि संक्रमित संख्यामा वृद्धि हुँदै गए भविष्यमा त्यस्तो अवस्था नआउला भन्न पनि सकिँदैन।
जर्मनीमा केही खोप दिइन्छ। स्ट्रेप्टोकोक्कुस निमोनिया भन्ने कीटाणुको संक्रमण नहोस् भनेर लगाइने भ्याक्सिनलाई न्युमोकोक्कल भ्याक्सिनेसन भनिन्छ। यो कीटाणुका कारण विशेषगरी निमोनिया, मेनेन्जाइटिस, सिनुसिटिस आदिको संक्रमण हुने गर्छ। कम्युनिटी एक्वायर्ड निमोनिया अर्थात् स्वास्थ्य सेवाबाहिरबाट हुने लगभग २० देखि ४० प्रतिशत निमोनिया यही ब्याक्टेरियाले सार्छ। यस्ता बिरामीबाट बच्नलाई यो खोप लगाइन्छ। सबै देशमा बालबालिकालाई लगाइने खोपमा यो पनि पर्छ। जर्मनीमा चाहिँ यो खोप ६० वर्ष माथिका र रोग निरोधक क्षमता कम हुने (जस्तै– एचआईभी पोजेटिभ, शारीरिक अंग प्रत्यारोपण, बोनम्यारो प्रत्यारोपण गरेका आदि) लाई सिफारिस गरिन्छ। इन्फ्लुएन्जा नलागोस् भनेर फ्लुको भ्याक्सिन पनि दिइन्छ। दुवै भ्याक्सिनले कोरोना भाइरस नियन्त्रणमा कतिको भूमिका खेल्छन् भन्ने चाहिँ यकिन छैन।
जर्मनीमा कोरोना संक्रमितको संख्या पनि कम छैन। यद्यपि युरोपका अन्य मुलुकमा भन्दा यहाँ मृत्यु हुनेको संख्या कम छ। त्यसलै धेरै अचम्मित परेका छन्। त्यसो हुनुमा क्रिस्टियान रोस्टन भन्ने एक जर्मन अनुसन्धानकर्ताको भूमिका महत्त्वपूर्ण छ। सन् २००२–२००३ मा सार्स फैलिएको बेला रोस्टान र उनको टोलीले कोरोनाबारे पत्ता लगाएको हो। त्यसबेला नोवल कोरोना भाइरस नदेखिए पनि त्यसबारे अनुसन्धान भने भइहेको थियो। चीनमा कोभिड–१९ को महामारी सुरु नहुँदै कोरोना भाइरसबारे अनुसन्धान भइरहेकाले पनि भाइरस फैलिएसँगै त्यसविरुद्ध कसरी काम गर्ने भनेर उनै रोस्टानले बेलैमा सचेत गराए। जर्मनीमा कोरोना भाइरस परीक्षण विधिको विकास पनि उनैले गरेका हुन्। चीनमा कोरोना भाइरस फैलिनुअघि नै यहाँ परीक्षण पद्धति विकास गरेर प्रयोगशालाहरूमा पठाइसकिएको थियो। त्यसले गर्दा सबैले तयारी गर्न पाए। रोस्टानको सुझावबमोजिम नै जर्मन सरकारले काम गर्यो। उनले नातिनातिनालाई हजुरबा, हजुरआमाबाट टाढै राख्नू भने। जनताले माने। वृद्धवृद्धा र युवालाई छुट्याएर टाढा राखिदिएपछि जर्मनीमा संक्रमित संख्या कम देखिएको हो।
अर्को कुरा, जर्मनीले तत्कालै व्यापक मात्रामा परीक्षण गर्यो र संक्रमितलाई क्वारेन्टाइनमा राख्यो। जसका कारण अन्यमा संक्रमण सर्न पाएन र संक्रमित संख्या कम भयो। जर्मनी व्यवस्थित देखिनुको अन्य कारण के हो भने, सरकारले गरेको निर्णयलाई जनताले मान्नु। विशेषज्ञ चिकित्सकका सुझाव सरकारले मान्नु। अर्को कारण जर्मनीमा चिकित्सक र नर्सको संख्या बढी हुनु पनि संक्रमित संख्या कम हुनु हो।
संक्रमितलाई उपचार गर्न क्रिटिकल केयर बेड महत्त्वपूर्ण हुन्छ। कोरोना संक्रमण फैलिनुअघि जर्मनीमा २८ हजार क्रिटिकल केयर बेड थिए। त्यसमध्ये २५ हजार भेन्टिलटेरसहितका बेड थिए। हाल उक्त संख्या बढाएर ४० हजार पुर्याइएको छ। भेन्टिलेटर संख्या ३० हजार पुर्याइएको छ। क्रिटिकल बेड र भेन्टिलेटर संख्या वृद्धि गरिएकाले पनि जर्मनीमा स्वास्थ्य सेवा र क्षमता बढेको छ।
अहिलेसम्मको तथ्यांक हेर्दा भेन्टिलेटरमा राखिएका कोरोना संक्रमितमध्ये जर्मनीमा ५० प्रतिशतको मृत्यु भएको छ। बाँकी ५० प्रतिशत निको भएका छन्। भेन्टिलेटर नपाए उनीहरू बाँच्दैनथे। १० जनालाई भेन्टिलेटर आवश्यक छ तर तीनवटा मात्र उपलब्ध छन् भने सात जनाको ज्यान जाने भयो। इटालीमा यस्तै भएको हो।
स्पेन, इटाली, जर्मनी र फ्रान्समा चिकित्सक संख्या लगभग उस्तै भए पनि नर्सका संख्या स्पेन र इटालीमा ज्यादै कम छ। स्वास्थ्य सेवा दिन चिकित्सक मात्र नभई नर्स र चिकित्सकीय उपकरणका सुविधा पनि महत्त्वपूर्ण हुन्छ। बिरामीको अवस्था बुझ्ने, सबैभन्दा पहिले सम्पर्क हुने, स्थिति बुझ्ने, रिफर गर्ने र सेवा दिने नर्सले हो। यसरी हेर्दा फ्रान्स र जर्मनीमा नर्सको संख्या पनि धेरै देखियो।
फ्रान्स, जर्मनी, इटालीले देशका कुल गार्हस्थ उत्पादन (जीडीपी) को क्रमश: ११, १२ प्रतिशत स्वास्थ्य क्षेत्रमा लगानी गरेका छन्। त्यति धेरै खर्च गरेपछि स्वास्थ्य पद्धति राम्रो हुने नै भयो। अमेरिकामा त्योभन्दा राम्रो लगानी छ।
जर्मनीका अस्पतालमा पनि अहिले संक्रमितको चाप बढेको छ। यद्यपि अन्य बिरामी संख्या भने घटेको छ। अन्य बिरामी अस्पताल आउन डराएका छन्। एकदमै अन्तिम परेर मात्रै आएका छन्। अन्य बिरामीलाई भन्दा कोरोनाका संक्रमितलाई परीक्षण र उपचार गर्न धेरै समय लाग्छ। मैले काम गर्ने अस्पतालमा कोभिड–१९ महामारीपूर्व इलेक्ट्रिक अप्रेसन हुने गथ्र्यो। तर अहिले उक्त सेवा बन्द गरिएकाले चार–पाँच महिनाअघिदेखि डेट लिएर बसेका हर्निया र हातगोडाका अप्रेसनका बिरामीको अप्रेसन भएका छैनन्। जसले गर्दा पनि अस्पतालमा बिरामी कम छन्। जर्मनीमा अप्रिल अन्तिम वा मेको सुरुतिर संक्रमण उच्च बिन्दुमा पुग्ने अनुमान गरिएको छ।
यहाँ इटालीभन्दा धेरैपछि पहिलो संक्रमित पुष्टि भएको हो। इटालीमा संक्रमणका कारण मृत्यु हुनेको संख्याले उच्च बिन्दु पार गरिसकेकाले हामी तयारी अवस्थामा छौं। जर्मनीमा उपचारका स्रोत, साधन र उपकरणमा कमी छैन।
केही दिनअघि म एम्बुलेन्स लिएर एक जना बिरामी लिन गएको थिएँ। सेप्टिक सकको उक्त बिरामीलाई अस्पताल ल्याउनु थियो। तर उक्त बिरामी अस्पताल आउनै मानेन। जर्मनीमा बिरामीले जान्न भनेपछि जबरजस्ती गर्न पाइँदैन। कोरोनाको डरले उक्त बिरामी अस्पताल आउन मानेको थिएन। त्यस्तै पहिले हार्ट अट्याक भएर जति आउँथे त्यस्ता बिरामी कहाँ गए? उनीहरूलाई के भएको छ? यस्ता बिरामी कति होलान्? अहिले डराएर नआए पनि कोरोना संक्रमण अन्त्य भएपछि त्यस्ता सबै बिरामी अस्पताल आए भने धान्न नसकिने पो हो कि भन्ने पनि डर लाग्छ।
(कान्तिपुरकर्मी ददी सापकोटासँगको कुराकानीमा आधारित)