दमक, २ बैशाख / महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हुन नदिन गरिएको लकडाउनका कारण विद्यालय वन्द भएपछि दमक ८ मा रहेको झापा मोडल अंग्रेजी स्कुल ( जेम्स ) ले अनलाईन कक्षा शुरु गर्ने तयारी गरेको छ ।
आधुनिक प्रविधिमार्फत स्कुलले विद्यार्थीहरुको नियमित पठनपाठन गर्ने वातावरण वनाउनका लागि अनलाइन कक्षा शुरु गर्न लागिएको प्रिन्सीपल सागर श्रेष्ठले जानकारी दिए । उनका अनुसार विद्यालयले इन्टरनेटको माध्यमबाट जुम मिटीङ एप्स,गुगल क्लास,मेसेन्जर,मिडास इ लर्निङ क्लास तथा यूट्यको सहायताले पठनपाठन शुरु गर्न लागिएको हो । विद्यालयमा अध्ययनरत एलकेजीदेखि कक्षा १० सम्मका विद्यार्थीलाई त्यस्तो प्रविधिमार्फत पठनपाठन गराउने प्रिन्सीपल श्रेष्ठले बताए । अनलाइन कक्षा यहि वैशाख ७ गतेदेखि शुरु गरिने स्कुलले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण देशभरिका शैक्षिक संस्थाहरु लामोसमयदेखि ठप्प भएको र विद्यालय खुल्ने समेत टुंगो नभएपछि विद्यालयले प्रविधिमैत्री सिकाई गर्न चासो देखाएको स्कुलका संस्थापक निर्देशक जयवहादुर श्रेष्ठले बताएका छन् । अनलाइन कक्षा सञ्चालनका लागि विद्यालयले अभिभावकसंग इन्टरनेट पहुँच भए,नभएको अध्ययन गरिएको र अधिकांस अभिभावकसंग सो प्रविधिको पहुँच भएकाले अभिभावकको समन्वयमा अव नियमित कक्षा गर्न लागिएको उनले बताएका छन् ।
स्कुलले विगत वर्षदेखि सहकार्य गरिदै आएको वेलायतको दुई उत्कृष्ठ विद्यालय सेन्टमेरिज प्राइमरी स्कुल र एसुम्पसन ग्रामर स्कुलको प्राविधिक सहकार्यमा अनलाईन शिक्षा सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी गरिएको उनले जानकारी दिए ।