बाँस्कोटाको घर विष्फोटमा संलग्न रहेको आशंकामा विप्लव समुहका देव गुरुङ पक्राउ (अपडेट)

0
439

काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरमा बम विस्फोट भएको छ ।

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँट नजिकै निर्माणाधीन घरको पर्खालमा आज बिहान पौने आठ बजे प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटबाट घरको पर्खाल र सीसामा क्षति पुगेको भक्तपुरका प्रहरी प्रमुख एसपी सविन प्रधानले जानकारी दिए ।

विष्फोटका कारण नजिककै दुई वटा घरको झ्यालको सिसा र एउटा भ्यानमा पनि क्षति पुगेको छ । बिष्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन् । ठूलो आवाज निस्किएर बम विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घरको कम्पाउन्ड भित्र रिमोट कन्ट्रोलबाट बम बिष्फोट गराएको प्रहरीको अनुमान छ । घटनास्थलबाट प्रहरीले एउटा झोलासमेत बरामद गरेको छ । झोलामा प्रेसर कुकरका टुक्रा र विष्फोटमा प्रयोग हुने सामग्री रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनालाई पूर्व सुनियोजित भनेको छ ।

विष्फोट कसले र किन गरायो भन्ने खुल्न सकेको छैन । विष्फोटबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा एक विचौलियासँगको अडियो सम्वाद बाहिरिएपछि बाँस्कोटाले फागुन ८ गते राजीनामा दिएका थिए ।

उनी मन्त्री भएदेखि नै भक्तपुरको बालकोटस्थित प्रधानमन्त्रीको निजी निवासमा बस्दै आएका छन् । यसैबीच, विष्फोटमा संलग्न रहेको आशंकामा विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य देव गुरुङ पक्राउ परेका छन् ।

उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले जडिबुटीबाट पक्राउ गरेको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here