दमकमा पनि शुरु भयो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

0
197

दमक/ ‘सभ्य समाजको पहिचानः लैंगिक हिंसा बिरुद्धको अभियान’ भन्ने नाराका साथ देशैभर सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान दमकमा पनि आजबाट सुरु भएको छ । दमक नगरपालिका सहित बिभिन्न ३० वटा अधिकारवादी संघ संस्थाहरुको सहकार्यमा अभियान सुरु भएको हो ।

दमक नगर उपप्रमुख रेगिना भट्टराईको अध्यक्षतामा भएको अभियान शुभारम्भ कार्यक्रमका वक्ताहरुले कुनै पनि प्रकारका हिंसा न्युनिकरणका लागि घरबाटै प्रयास गरिन आवश्यक रहेको औंल्याए ।

नगर प्रमुख राम थापाले हिंसा बिरुद्धको यो अभियान सोह्र दिन मात्रै नभएर निरन्तर सञ्चालन हुने बताए । यस्ता अभियानले सचेतनाका कार्यक्रम गर्ने भन्दै उनले हरेक व्यक्ति हिंसा बिरुद्धको अभियानमा सामेल हुनु पर्ने बताए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक दिलिप गिरीले महिला संग संगै पुरुषहरु पनि हिंसामा पर्ने भएकोले कुनै पनि प्रकारका हिंसाहरुलाई समाजले निरुत्साहित गर्नु पर्ने बताए ।

त्यसैगरी महिला नेतृ लता चापागाईं, आम्दा अस्पताल तथा स्वास्थ्य बिज्ञान प्रतिष्ठान दमकका सकुन्तला चापागाईंले शिक्षित व्यक्तिबाटै पनि हिंसाका घटना हुने गरेकोले यसलाई रोक्नु चुनौति भएको बताए । दाईजो, तिलकका नाउँमा शिक्षित भनिएका व्यक्तिबाटै महिलाहरु हिंसामा पर्ने गरेको कार्यक्रममा नगर उपप्रमुख भट्टराईले अभियान अन्तर्गत सोह्रै दिन सम्म सञ्चालन गरिने कार्यक्रमहरुको बारेमा जानकारी गराइन ।

यस अवसरमा सहभागीहरुले संघ संस्थाका ब्यानरसहित दमक बजार परिक्रमा गरेको थियो । औपचारिक कार्यक्रमको समापन दमक बजार परिक्रमा गरेर पशुपति सेवा सदनमा गरिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here