डकेन्द्र लिम्बू
बि सं २०२७ सालतिर हिउँद महिनाको घटना हो । एकपटक तान्छोहाङ ( नाम परिवर्तन ) साह्रै बिरामी परे। परम्परा अनुसार कति धामी ,झाँक्री , फेदाङमा साम्बा येबा लगाए। डिम्बादेखि लिएर परेवा कुखुरा बोका सुंगुर अनगिन्तीको ज्यान गयो । त्यती मात्र कहाँ हो र ? छेपारो र गंगटो समेत पुजा भयो। तर बिमारी बीसको उन्नाइस पनि भएन। गाउँमा बिरामीको आफ्नै बडाबा रामबीर ( नाम परिवर्तन ) गाउँकै ठुला चल्ता पुर्जा साम्बा थिए। एकदिन उनको स्वास्थ्य स्थिती बुझ्न बिरामीको घर आए । बिमारीको आमाले पुन बडाबालाई मदौरोले टेरेन भन्दै एक बटुको छिपिएको जाँडले स्वागत गर्दै अक्षता दिएर जोखाना दिए । साम्बा रामबीरले जोखाना हेरिसके पछि भने –
रामबीर, मेम्बे अङेक्मे कन केदुक्पान थेआङ मेलइन। लुङओ थाम्मसाङ मेसिनेन । लु इङ्गाए पोखाङ। ( होइन बुहारी ,यो बिरामीलाई केही पनि हुँदैन । ढुंगामा पछारे पनि मर्दैन। लु मै भएँ।
बिमारीको आमा( लु आभ्वै हेकेगर आखे चोक्माल्ले नु?बे ? ( लु दाजु त्यसोभए के गर्दा ठिक हुन्छ त ? )
रामबीर ( कन केदुक्पाल्ले कुमाङगेन्ना चुन्दाआङ वा। नुरीकाङ माङ्गेन्ना मेप्मापोङ ।( यो बिरामीको शीर ढलेको छ। राम्ररी शीर उठाइदिनु पर्छ। )
बिरामीको आमा ( हेकेगर थेधे चाहाजोक्पे आम्भ्वे ? ( त्यसो भए के के चाहिन्छ त दाजु ? )
रामबीर ( कन केदुक्पान मेखिम केजोक्पा हो ।नेत्छी कुसाङ्केलाबा वा केगाबा नु केधीम्मा काप्लाङवारे माङ्गेन्ना मेप्मापोङ । तान्दिक्सा केदुक्पान पोक्। ( यो बिमारी त बिबाहित हो । राम्रोसँग हुर्केको बास्ने भाले र फुल पार्ने पोथी एक जोडी कुखुराले शीर उठाइ दिनुपर्छ। बिमारी त भोली नै उठ्छ। )
बिमारीको आमा ( लु हेकेगर आम्भ्वे आसा फो?माल्ले कुबेवा वाहा मेयेप आक्खो युन्धोक्सा चोक्मतेमाल्ले आखेल ? ( लौ दाजु मेरी कान्छे छोरीको पेवा कुखुरा घरमै छन् आज भरै बेलुकीतिर नै गर्दा कसो होला ? )
रामबीर ( ए लु नु?नु?। आइङ्ग पावाआ आत्तान्नाङ मेबेकाइन। ( ए लु लु हुन्छ । आज त फुर्सद छु। कतै जान्न। )
अब बेलुकी माङ्गेन्ना गर्ने तर्जुमा भयो। साँझ ६.०० बजेतिर साम्बा आए। माङ्गेन्ना गर्ने थानमान बनाउन सहयोगको लागि छिमेकी फाबारे ( बाँसघरे ) जेठालाई बोलाइएको थियो।
थानमान परम्परा अनुसार लास्सो ( पातहरु ) बिच्छ्याउने ,त्यसमाथी चामल अक्षता , बाँसको पीपा सहितको एक जोडी नमुना तोङ्बा गाडियो। तोङ्बाहरुको अगाडी वादुम्पक्वा ( काँसको बटुकोमा पानी ) राखियो। अब काम शुरु गर्नु अघि फेरि साम्बालाई कुलाङताक्मा ( स्वागत) जाँड सिमल तरुलको ३ महिना अगाडि नै पकाएको रहेछ। टक्र्याइयो। सबै निगार नै निगार। एक बटुकोभन्दा बढी थप्नु नपर्ने। यसो फाबारे जेठाले क चुस्की लिएर जिब्रो फडकारे र हास्दै साम्बातिर फर्किएर भने (मेम्बे आन्दुम्बे आइन आन्छी मुन्धुम्मीन पोतिरो ।( होइन बडिबा आज हाम्रो मुन्धुम गडबडी हुन्छ कि है।) साम्बा ( सुर्ता मेन्जोक हौ। थेआङ फेत्मेरानेन ।( सुर्ता नर्ग केही हुन्न। )
साम्बाले हातमा लाजम् ( बेरेर बनाएको केराको पात ) पक्डेर कर्मकाण्ड शुरु गरे। आधा घण्टा ४५ मिनेट जस्तो फलाकी सकेपछि साम्बाबाट त्यही एकजोडी भाले र पोथी कुखुरा ल्याउन आदेश दिए। (यसरी माङ्गेन्ना गर्दा त्यो मारिने कुखुराको ढाडमा लट्ठीले मिलाएर कुट्नु पर्छ जसले गर्दा राम्रोसँग कुखुराले रगत छादोस् । त्यो काँचो रगत अगाडि पानी राखेको काँसको बटुकोमा थापेर बिरामीले काँचो रगत महिला भए ३ पटक र पुरुष भए ४ पटक पिउनु पर्छ।) पुजाका जोडी भाले पोथी आइसके पछि सहयोगी फाबारे जेठालाई पुजारीले दुईटै जीवाद मार्न आदेश दिए। फाबारे जेठा यस्तो काम गर्न धेरै सिपालु हुनाले भनेको जस्तै नै उनले गरे। यति भैसके पछि पकुवा चढाउन भुत्ल्याउने पोल्ने काम सबै सिध्याएर फाबारे जेठाले साम्बालाई माङ्गेन्नाको आखिरी कर्मकाण्ड सम्पन्न गर्न अनुरोध गरे। साम्बा रामबीरले तद्नुरुप कर्मकाण्ड पुरा गरे। यस पछि निकै दिन थला परेको बिमारीलाई साम्बा र फाबारे जेठाले एकजनाले कुममा र अर्कोले टाउकोमा समातेर उठाए र बिरामीलाई अगाडि पानी राखेको काँसको बटुकोमा थापेको कुखुरा चुटेर छदाएको काँचो रगत परम्परा अनुसार ४ पटक पिउन भने। फाबारे जेठाले बटुको उठाएर बिरामीको मुखसम्म लगे। बिरामीले पनि पिउन त तयार भए। तर मुखसम्म लगेको त्यो पानी र काँचो रगतको मिश्रण भएको बस्तु एकैछिन रोके। साम्बा र फाबारे जेठाले बिरामी निकै कमजोर भएकोले एकैछिन ठेरेको होला भन्ने सम्झे। फेरि दोस्रोपटक मुखमा लगेर पिलाउन खोजे बिरामी मानेनन् । रात निकै छिपिसकेको थियो। बिरामीले त्यो बटुकोमा भएको बस्तु धेरै दुर्ग्न्धित भएकोले बत्ती ल्याउन लगाएर हेर्न खोजे। बत्ती ल्याएर हेरेको त ती दुई भाले र पोथीले दिनभर बटुली खाएको मान्छेको दिसा पहेंलै टन्न छादेको रहेछ । त्यही नै गन्हाएको रहेछ।
साम्बा ( तान्छोहाङ, कन लिलेङ केधुङुरुए पोङ । केरेक केधुङुल्लग झन सारिके कुसक्मा केयाक्पा केबोङ। ओघोग साङ्गुसक्मा योरुङ्पी?नेआङ वा । ( तान्छोहाङ , तिमीले यो ४ पटक खानै पर्छ। अझ यो सबै खाइ सकिस् भने त झनै दह्रो बलियो हुन्छ्स् । यहाँ त बलियो हुने स्वास त्राण थपिदिएको छु।
तान्छोहाङ ( लु आन्दुम्बे आसक्मा याक्नी मेयाक्नेन्नी । सिआसाङ सिआनी । कन हिमक्वान इङ्गा मेधुङुङीन ।( लु बडीबा म बलियो होउँ या नहोउँ। बरु म मर्छु मरुँला। यस्तो मान्छेको दिसाको रस म पिउँदिन।) फाबारे जेठाले पनि राम्रोसँग हेर्यो छक्क पर्यो। उसको लागी पनि यो पहिलो अनुभूति भयो।साम्बा रामबीरले बिरामीले पियोस भनेर निकै जिकिर गरे भतिजो भनेर गाली पनि गरे तर बिमारीले त्यो चीज पिउन त परै जावस आइन्दादेखि यस्तो फोहोरी कर्म नै गर्दिन भनेर प्रतिबद्धता जनाए। अन्तमा यसैको अर्को संस्कार त्यो माङ्गेन्नाको कुखुराको रगत सहितको पानी अगेनामा ४ पटक वरीपरी घुमाउदै पोखियो। त्यो पबित्र अगेनाभित्र हालियो जुन बस्तु ट्वाइलेटमा लगेर फाल्नु पर्ने थियो। कस्तो कुरीति कुसंस्कार !
करीब एक हप्तापछि बिरामीको अवस्थामा क्रमशः सुधार आफै हुदै गयो। पछिसम्म जुन बटुको माङ्गेन्नामा प्रयोग भएको थियो त्यो बटुको देख्ने बित्तिकै त्यही अगाडिको घटनाको याद आइदिने भएको तान्छोहाङले पुनः कहिल्यै पनि त्यो बटुकोमा कुनै खानेकुरा खाएनन। बरु चेलीबेटीलाई दाइजो दिने चलनमा कसैलाई दिइ पठाए।
तान्छोहाङ मात्रै होइन फाबारे जेठाले पनि त्यही दिन मनमनै यो किसिमको कुकर्म त्याग्ने अठोट गरिसकेका थिए। त्यो दिनदेखि यता उनी कहिल्यै हिंसात्मक कर्म संस्कारमा गएनन् । अहिले दुबैको कर्म संस्कारमा सुधार आएको छ। घरमा शान्ति छ। न पहिले जस्तै घरमा बारबार बिरामी हुनुपर्ने अवस्था छ न त मादक पदार्थ सेवन गरेर दिनहुँ जस्तो घरमा झैझगडा नै हुन्छ।
केहि दिन पछि बडिबालाई रामबीरले बिना हिंसा माङ्गेन्ना कर्मको मुन्धुम लिम्बु जातिसँग छ कि छैन सोधे। रामबीरले आरामसँग भनिदिए , किन नहुनु ? दियो कलश , सिङजाङगो फुङ र सेक्मुरी फुङ ( फुल ) चाहिं अनिवार्य चाहिन्छ भने । त्यसो भए यो अर्काको ज्यान किन लिने ? भन्ने सवालको जवाफमा होइन पुजा र भुजा दुबै हुनु परेन ? भनिदिए ।त्यसपछी एकदुई पटक सादा माङ्गेन्ना गरिदिए । तर यो सम्बन्ध लामो टिकेन। किन हो कुन्नी रामबीर मात्रै होइनन् फेरि माङ्गेन्ना गर्न र अरु सेवापुजा गर्न बोलाउदा अरु कोही साम्बा फेदाङमा तान्छोहाङको घरमा आएनन् , आउदैनन् । सत्य घटनामा आधारित ,