वास्तवमा गुदीको तुलनामा बोक्रा बेस्वादिलो, खान मन नलाग्ने वा अलि अप्ठ्यारै खालको पनि हुन्छ । तर फलफूल तथा तरकारीका बोक्रामा पनि शरीरलाई फाइदा दिने भिटामिनलगायतका तत्त्वहरु हुन्छन् । कतिपयमा त गुदीमा भन्दा पनि बढी भिटामीन, मिनरलहरु बोक्रामा पाइन्छ । त्यसैले फलफूल तथा तरकारीका खानमिल्ने जति बोक्राहरु पनि खाने बानी गर्नुपर्छ ।
बोक्रा आफैंमा फाइदाकारी भिटामीन तथा अन्य पोषकतत्त्वहरुको खानी हो भन्दा फरक पर्दैन । विभिन्न फलफूल तथा तरकारीमा त्यसको जातअनुसार भिटामीन तथा पोषकतत्त्वहरुको मात्रा पनि फरक फरक पाइन्छ । तर जम्मामा भन्दा, बोक्रा तासेको भन्दा नतासेको फलफूल तथा तरकारीहरुमा उच्च मात्रामा भिटामीन, मिनरलहरु तथा शरीरका लागि आवश्यक एवं उपयोगी अन्य पोषक तत्त्वहरु पाइन्छन् ।
उदाहरणको लागि, धेरै मानिसहरु स्याउ खाँदा बोक्रा तासेर खाने गर्छन् । स्याउको गुदी नरम, मीठो हुन्छ भने त्यसको बोक्रा चाहिँ कडा, टर्रो–अमिलो, चपाउन गाह्रो तथा मुखको भित्री तालुमा टाँसिने खालका हुन्छन् । त्यसैले कतिपय मानिसहरु स्याउ बोक्रासँगै खानुको साटो तासेर खान रुचाउँछन् ।
तर त्यसो गर्दा उनीहरुले के चाहिँ भुलिरहेका हुन्छन् भने एउटा स्याउको गुदीको तुलनामा त्यसको बोक्रामा ३३२ प्रतिशत बढी भिटामीन के, १४२ प्रतिशत बढी भिटामी ए, ११५ प्रतिशत बढी भिटामी सी, २० प्रतिशत बढी क्याल्सियम र १९ प्रतिशतभन्दा बढी पोटासियम पाइन्छन् । अर्थात् बोक्रा तासेर फ्याँक्दा उसले त्यति बढी भिटामीन तथा पोषक तत्त्वहरु पनि बेफ्वाँकमा फ्यालिरहेको हुन्छ ।
अर्को एउटा उदाहरण पनि हेरौं । एउटा बोक्रासहित उसिनेको आलुमा बोक्रा फ्याँकेको आलुको तुलनामा १७५ प्रतिशत बढी भिटामीन सी, ११५ प्रतिशत बढी पोटासियम, १११ प्रतिशत बढी फोलिक एसिड र ११० प्रतिशत बढी म्याग्नेसियम तथा फस्फोरसहरु पाइन्छन् । यसको अर्थ बोक्रा तासेर उसिनेको आलु खाँदा हामी त्यति बढी मात्रामा उपयोगी भिटामीन तथा पोषक तत्त्वहरु पनि गुमाइरहेका हुन्छौं ।
विभिन्न अध्ययन अनुसन्धानहरुले देखाएको छ, फलफूल तथा तरकारीका बोक्राहरुमा पर्याप्त मात्रामा फाइबर तथा शरीरको विकास हटाउन आवश्यक एन्टीअक्सिडेन्ट तत्वहरु पाइन्छ । उदाहरणको लागि, एउटा तरकारी तथा फलफूलमा पाइने जम्मा फाइबरहरुमध्ये ३१ प्रतिशतसम्म फाइबर त त्यसको बोक्रामा नै हुन्छ । त्यसैगरी, फलफूलको गुदीमा भन्दा ३२८ गुनाबेसीसम्म एन्टीअक्सिडेन्ट तत्त्वहरु त्यसको बोक्रामा पाइन्छ ।
भन्नुको अर्थ के हो भने, बोक्रा तासेर तरकारी तथा फलफूलहरु खानुको सट्टा खान मिल्ने जति बोक्रासहितकै तरकारी तथा फलफूलहरु खाँदा हाम्रो शरीरले बढी पोषकतत्त्वहरु पाउँछ । त्यसैले यथासक्य, बोक्रासहितकै तरकारी एवं फलफूलहरु खाने बानी गर्नुपर्छ ।
अघाउँछ, भोक घटाउँछ
तरकारी तथा फलफूलको बोक्रा खाँदा त्यसले भोक घटाउँछ र लामो समयसम्म हामी अघाइरहन्छौं । यसो हुनुको मुख्य कारण चाहिँ बोक्रामा पाइने फाइबर नै हो । बोक्रासहितको फलफूल तथा तरकारी खाँदा हामीले एक तिहाईसम्म फाइबर पनि खाइरहेका हुन्छौं ।
विभिन्न अध्ययनहरुले देखाएका अनुसार, फाइबरले हामीलाई लामो समयसम्म अघाउन तथा भोक नलाग्न मद्दत गर्छ । फाइबरले हाम्रो आमाशयलाई अलि फैलाइदिएर तथा खानेकुरा छिटोछिटो पच्ने गतिलाई कम गराइदिएर आन्द्रालाई बढीभन्दा बढी पोषण सोस्न सहयोग गर्छ ।
विशेष गरेर तरकारी तथा फलफूलमा फाइबरका एक किसिम भिसकस फाइबर ९ख्ष्कअयगक० ले यस कार्यमा विशेष भूमिका खेल्ने गर्छ । थुप्रै अध्ययनहरुले देखाएअनुसार फाइबर बढी भएको खानेकुराले मानिसहरुलाई चाँचाँडो भोक लाग्न दिँदैन । यसको अर्थ, छिटोछिटो र बढी खानेकुरा खानुपर्ने अवस्थाबाट पनि यसले हामीलाई बचाउँछ । अर्थात् भोजनको माध्यमबाट शरीरमा अनावश्यक क्यालोरी हाल्ने अवस्थाबाट पनि यसले हामीलाई रक्षा गर्छ । यसको सोझा अर्थ के हो भने, हाम्रो शरीरको तौल अनावश्यक रुपमा बढ्न नदिनको लागि पनि फलफूल तथा तरकारीको बोक्राले कुनै न कुनै रुपमा सहयोग गरिरहेको हूतछ ।
स्मरण रहोस्, हाम्रो आन्द्रामा खाना पचाउन सहयोगी ब्याक्टेरियाहरुका लागि फाइबरले खानाको काम गर्छ ।
रोगहरुबाट बचाउँछ
माथि नै हामीले उल्लेख गरिसक्यौं, बोक्रामा एन्टीअक्सिडेन्ट तत्त्वहरु हुन्छन् । यसको सोझो अर्थ के हो भने, बोक्रा खाँदा हामीले रोगलाई पनि पर पर खेदिरहेका हुन्छौं । एन्टीअक्सिडेन्ट भनेको शरीरको लागि अति आवश्यक त्यस्तो तत्त्व हो, जसले शरीरभित्रको विकारलाई नष्ट गर्न र बाहिर फ्याक्न मद्दत गर्छ । शरीरमा विकार जम्न नपाउनु भनेकै रोगबाट बच्नु हो । पछिल्लो चरणमा त के पनि विश्वास गर्न थालिएको छ भने एन्टीअक्सिडेन्ट तत्त्वले मुटुको रोग तथा केही खालका क्यान्सरबाट समेत हामीलाई रक्षा गर्छ ।
त्यसै गरी, फलफूल तथा तरकारीमा पाइने निश्चित खालका एन्टिअक्सिडेन्ट तत्त्वले अल्जाइमर जस्ता स्नायु रोगको असर र सम्भावनालाई पनि घटाइदिन्छ ।
स्मरणीय कुरा के छ भने, फलफूल तथा तरकारीमा मनग्गे एन्टिअक्सिडेन्ट पाइन्छ । त्यसमा पनि त्यो तत्त्व गुदीमा भन्दा पनि बढी बोक्रामा ३२८ गुना बढी पाइने गरेको अध्ययनहरुले देखाएको छ ।
सबै बोक्रा खानयोग्य हुँदैन
नेपालीमा एउटा भनाइ छ, नपाउनेले केरा पायो, बोक्रासँगै खायो । यसको तात्पर्य के हो भने खानुपर्छ भन्दैमा सबै चीजको बोक्रा चाहिँ खाइहाल्नु हुँदैन । अर्को शब्दमा भन्दा सबै तरकारी तथा फलफूलका बोक्रा खानयोग्य नै हुन्छ भन्ने पनि छैन । उदाहरणको लागि, एभाकाडो, केरा, कटहर, भुइँकटहर, लिची, आँप, सुन्तला, खरबुजा जस्ता फलफूलहरुको बोक्राहरु खान मिल्दैन । त्यसैगरी, पाकेको फर्सीको बोक्रा पनि हामी खान सक्दैनौं । त्यसको विपरीत, मेवा, सुन्तला, स्याउ, एप्रिकोट, अंगुर, गाँजर, मुला, काँक्रो लगायत थुपैै्रको बोक्रा सजिलै खान मिल्छ । कतिपय तरकारीको बोक्रा खान तथा पचाउन गाह्रो हुने, कतिपय बोक्राहरु चाहिँ काँचोभन्दा पकाएर खाँदा मात्रै खान र पचाउन सजिलो हुने खालका पनि हुन्छन् । त्यसैले बोक्रासहितको खाँदा पनि कुन खाने नखाने भन्ने कुरामा सतर्क हुनैपर्छ ।
विषादीको खतरा
बोक्रा खाने कुरा गर्दै गर्दा हामीले आजभोलि तरकारी तथा फलफूलहरुमा अन्धधुन्ध विषादीको प्रयोग हुने गरेको खतरनाक एवं दुःखद तथ्यलाई पनि भुल्नु हुँदैन । त्यसैले तरकारी तथा फलफूलको बोक्रा खाँदै गर्दै हामीले खानुपूर्व त्यसलाई २–३ पटक राम्ररी माडीमाडी पखाल्ने, पकाउन मिल्ने जतिलाई पकाएर मात्रै खाने गर्नुपर्छ । त्यसैगरी, सकेसम्म फलफूल तरकारी किन्दा विषादी प्रयोग नभएको किन्न कोशिश गर्नुपर्छ । विषादी प्रयोग गरेको फलफूल तथा तरकारीको तुलनामा विषादी प्रयोग नगरेकोको मूल्य अलि बढी पर्न सक्छ । तर हामीले सस्तो खोजेर स्वास्थ्यलाई खतरामा पार्नु बुद्धिमानी हुन्न ।