नेपालका लागि विशेष ६८औँ मिस वल्र्ड

0
322

चिनियाँ सहर सान्यामा आठौँपटक आयोजना भइरहेको मिस वल्र्ड सुन्दरी प्रतियोगिताको ६८औँ संस्करणको आज शनिबार ग्राण्ड फिनाले हुँदै छ । सुन्दरीहरूको एक महिना लामो यो कुम्भमेलामा ११८ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरिरहेका छन् । मिस वल्र्ड सुन्दरी प्रतियोगिताको यसै शृङ्खलामा नेपाली सुन्दरी शृङ्खला खतिवडाले आठमध्ये दुई विधाको विजेता तथा अन्य प्रतिस्पर्धामा समेत उल्लेखनीय प्रदर्शन गरेर आफ्नो दह्रो उपस्थितिको प्रदर्शन गरेकी छन् । मिस वल्र्ड सुन्दरी प्रतियोगिता तथा शृङ्खलाको प्रदर्शनबारे प्रतिमा चन्दको चर्चा ।

चीनको सान्या सहरमा आयोजना भइरहेको यस वर्षको मिस वल्र्ड सुन्दरी प्रतियोगिताको ग्राण्ड फिनाले आजै शनिबार हुँदै छ । सम्भवतः पाठकले यी पंक्तिहरू पढ्दै गर्दा फाइनलमा पुगेका अन्य विभिन्न मुलुका सुन्दरीहरू मिस वल्र्ड २०१८ को उपाधिका लागि आफ्नो पूरै शक्ति लगाएर प्रतिस्पर्धा गरिरहेका हुनेछन् ।
बेलायतका इरिक मोर्लेद्वारा सन् १९५१ मा लण्डनमा स्थापना गरिएको यो सुन्दरी प्रतियोगिता हाल विश्वमा सञ्चालनमा आइरहेका सुन्दरी प्रतियोगिताहरूमध्ये सबैभन्दा पुरानो हो । चीनको हेनान प्रान्तको दक्षिणी सहर सान्यामा ९ नोभेम्बरदेखि आयोजना भइरहेको र ८ डिसेम्बरमा समापन हुने यो प्रतियोगिता मिस वल्र्ड सुन्दरी प्रतियोगिताको ६८औँ शृङ्खला हो । यो एकमहिने यस प्रतिस्पर्धात्मक प्रतियोगितामा मिस वल्र्ड नेपालको शृङ्खला खतिवडासहित संसारका ११८ देशका सुन्दरीहरूले प्रतिस्पर्धा गरिरहेका छन् ।
इतिहास
संसारकै सबैभन्दा पुरानो सुन्दरी प्रतियोगिताका रूपमा रहेको यो प्रतियोगिता सुरुमा फेस्टिभल अफ ब्रिटेन नामक लन्डनमा आयोजित महोत्सवमा बिकिनी प्रतियोगिताका रूपमा आयोजना गरिएको थियो । बेलायती सञ्चारमाध्यमहरूबीच निकै लोकप्रियता हासिल गरेको प्रतियोगितालाई बेलायती सञ्चारमाध्यमहरूले नै मिस वल्र्डको नाम दिएर न्वारान गरिदिएका थिए । त्यतिबेला यस प्रतियोगिताको मुख्य उद्देश्य सो समयमा भर्खरै बजारमा आएको बिकिनी अर्थात पौडी खेल्दा महिलाहरूले लगाउने वस्त्रको प्रवद्र्धन गर्नु थियो । त्यतिबेला पश्चिमा जगत्मा पनि बिकिनीलाई शालीन मानिदैनथ्यो, छाडा वस्त्रका रूपमा यसको निकै नै आलोचना पनि भएको थियो । त्यसैले यसको प्रवद्र्धनका लागि महोत्सवमा बिकिनी प्रतियोगिता आयोजना गर्ने योजना बनेको थियो । मुख्यतः यो बिकिनी प्रतियोगिता फेस्टिभल अफ ब्रिटेन महोत्सवका लागि आयोजना गरिएको थियो तर यसको लोकप्रियता देखेर चतुर व्यावसायिक बुद्धिका त्यतिबेला ३३ वर्षका एरिक मोर्लेले मिस वल्र्ड सुन्दरी प्रतियोगितालाई वार्षिक रूपमै आयोजना गर्ने निधो गरे । त्यसै समयमा मिस वल्र्ड नामलाई ट्रेडमार्कका रूपमा नै दर्ता पनि गर्नुका साथै यसपछि आयोजना हुने सुन्दरी प्रतियोगिता यही नामबाट आयोजना हुने निर्णय पनि मोर्लेले गरेका थिए ।
सन् १९५१ अर्थात वि.सं २००८ सालमा आयोजित पहिलो मिस वल्र्ड सुन्दरी प्रतियोगिताकी विजेता स्वीडिस सुन्दरी कस्र्टिन किकी हाकान्सनलाई बिकिनी लगाएर नै मिस वल्र्डको ताज लगाइएको थियो जसको पोप लगायत धेरैले विरोध गरेका थिए । फलस्वरुप बिकिनीका सट्टा केही शालीन देखिने सामान्य किसिमको स्वीमसुट सुन्दरीहरूलाई लगाउन दिइए पनि सन् १९७६ को मिस वल्र्डदेखि यसको सट्टामा फाइनल राउन्डमा इभनिङ गाउन लगाएर ताज पहिर्याउन सुरु गरियो । स्वीमसुटसम्बन्धमा विभिन्न विरोध जारी नै रहँदा एउटा कोठाभित्र स्वीमसुट राउन्डको आयोजनासमेत गरिँदै आइएको थियो । अन्ततः ६३ वर्षपछि सन् २०१४ को ६४औँ मिस वल्र्डदेखि स्वीमसुट राउन्डलाई पूर्ण रूपमा प्रतियोगिताबाट हटाइयो । यसरी बिकिनीमा मिस वल्र्डको ताज पहिरिने पहिलो तथा अन्तिम सुन्दरी नै कस्र्टिन बन्न पुगिन् । लन्डनमा आयोजना गरिएको पहिलो मिस वल्र्ड प्रतियोगितामा अमेरिका, बेलायत, स्वीडेन, हल्यान्ड, फ्रान्स, डेनमार्कका २६ सुन्दरीहरूको सहभागिता थियो । कबलथ

पुरस्कार राशी
मिस युनिभर्सजस्तो मिस वल्र्ड सुन्दरी प्रतियोगिताको नगद तथा अन्य पुरस्कार सार्वजनिक गरिँदैन तर भारतीय सञ्चारमाध्यमका अनुसार गत वर्षकी मिस वल्र्ड भारतकी मानुषी चिल्लरले नगद पुरस्कारमात्र १५ लाख डलर अर्थात १६ करोड रुपियाँभन्दा बढी पाएकी थिइन् । यस हिसाबमा यस वर्षकी विजेताले पक्कै पनि यसभन्दा केही बढी नगद राशी पाउनेछिन् । यसबाहेक अन्य थुप्रै पुरस्कार तथा सुविधाको हकदार पनि विजेता हुन्छिन् । मिस वल्र्ड विजेता सुन्दरीलाई पहिर्याइने ताजको मोल साढे सात लाख डलर अर्थात आठ करोड रुपियाँभन्दा बढी छ ।
मिस वल्र्डमा नेपालको सहभागिता
मिस वल्र्ड सुन्दरी प्रतियोगितामा नेपालले सन् १९९७ देखि सहभागिता जनाउन सुरु गर्यो र सन् १९९७ की मिस वल्र्ड नेपाल सुन्दरी झरना बज्राचार्यले पहिलोपटक मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी थिइन् । त्यसयता शृङ्खलासहित १९ नेपाली सुन्दरीहरूले मिस वल्र्डको अनुभव सँगालिसकेका छन् । सन् २००१ मा दरबार हत्याकाण्डका कारण नेपालमा मिस नेपाल प्रतियोगिता आयोजना हुन सकेन, परिणामस्वरूप नेपालले त्यस वर्षको मिस वल्र्ड प्रतियोगितामा सहभागिता जनाउने प्रश्नै थिएन । दुई दशक लामो यात्रामा अहिलेसम्म नेपालका सुन्दरीहरूले यो विश्व प्लेटफर्ममा खासै उल्लेखनीय प्रदर्शन वा आफ्नो सौन्दर्यको जादु देखाउन सकेका छैनन् ।
विगतका नतिजाहरूलाई केलाउने हो भने सन् २०१० सम्म नेपाली सुन्दरीहरूको सहभागितामात्र सहभागितामा सीमित रह्यो । सन् २०११ की मिस नेपाल सुन्दरी मेलिना जोशीले मिस वल्र्डको एक विधा व्युटी विथ ए पर्पाेजको समूहमा ११औँ स्थान हासिल गरिन् । यो नै नेपाली सुन्दरीहरूको त्यतिबेलासम्मको सबैभन्दा ठूलो उपलब्धि थियो, मिस वल्र्ड सुन्दरी प्रतियोगितामा । यसपछि सन् २०१२ को मिस वल्र्डमा बेलायतमा बसोबास गर्ने सृष्टि श्रेष्ठ क्वाटरफाइनल चरणमा पुग्न सफल हुनुका साथै मल्टिमिडिया अवार्ड तथा बीच व्युटी विधामा दसौँ स्थान हासिल गरिन् । सन् २०१३ मा मिस नेपाल इशानी श्रेष्ठले व्युटी विथ ए पर्पाेज विधामा प्रथम भएर इतिहास बनाउन सफल भइन्, यस्तै मल्टिमिडिया अवार्डमा दोस्रो स्थान प्राप्त गरिन् ।
यसपछि क्रमैसँग सन् २०१४ की मिस नेपाल सुविन लिम्बू, सन् २०१५ की इभाना मानन्धर, सन् २०१६ की अस्मी श्रेष्ठको प्रदर्शन सामान्य नै रह्यो ।
सन् २०१७ मा मारवाडी समुदायबाट पहिलोपटक मिस नेपाल बन्न सफल मोरङ उर्लाबारीकी निकिता चन्दकले मिस वल्र्डमा कुनै विधामा उपाधि हासिल नगरे पनि क्वाटर फाइनलमा प्रवेश पाएकी थिइन् ।
फरक छिन् शृङ्खला
अहिले सान्या, चीनमा भइरहेको मिस वल्र्डको ६८औँ संस्करणमा सहभागी नेपाली सुन्दरी शृङ्खला हालसम्म सहभागी नेपाली सुन्दरीका दाँजोमा बढी सफल देखिएकी छन् । यस अर्थमा अध्ययन तथा पेसाले आर्किटेक्ट इन्जिनियर शृङ्खला अन्य नेपाली सुन्दरीभन्दा फरक पनि देखिएकी छन् कि मिस नेपालकै इतिहासमा उनले जारी मिस वल्र्ड प्रतियोगितामा विभिन्न देशका सुन्दरीलाई पछि पार्दै व्युटी विथ ए पर्पाेज तथा मल्टिमिडिया अवार्ड जित्न सफल भएकी छन् । मल्टिमिडिया विधामा उनले जापान, रूस, केन्या, मेक्सिकोजस्ता धेरै देशका सुन्दरीलाई पछाडि पारेकी थिइन् । यस्तै डिसेम्बर ३ तारिख अर्थात यही सोमबारकै साँझ आयोजित मिस वल्र्डको अर्काे विधा व्युटी विथ ए पर्पाेजका लागि सिङ्गापुर, जापान, इटाली, रूसलगायत दर्जनौँ मुलुकका सुन्दरीहरूका दाँजोमा उनको प्रस्तुति अब्बल भएकै कारण उनी यस विधाको विजेताको हकदार भइन् । यिनै विधाका विजेताका रूपमा शृङ्खला मिस वल्र्डको टप ३० मा स्थान बनाउन सफल भइन् । व्युटी विथ ए पर्पाेजका लागि उनले आफ्नो गृहजिल्ला मकवानपुरका चेपाङ जातिका स्वास्थ्यस्थिति र स्वास्थ्य केन्द्रबारे वृत्तचित्र प्रस्तुत गरेकी थिइन् ।
यसबाहेक सान्या टुरिजम प्रोमोसनल भिडियो अवार्डमा दोस्रो उपविजेता भएकी शृङ्खला ११८ देशका सुन्दरीमाझ भएको टप मोडल विधामा शीर्ष ३२ मा पर्न सफल भइन् । जारी मिस वल्र्डमा समावेश आठ विधाअन्तर्गत शृङ्खला नै त्यस्ती एकमात्र प्रतियोगी हुन्, जसले दुई विधामा विजय तथा एकमा दोस्रो उपविजेता तथा अर्काे विधामा पनि राम्रो स्थान हासिल गर्न सफल भएकी छन् । यस दृष्टिकोणबाट मूल्याङ्कन गरिँदा सन् २०१८ को मिस वल्र्ड प्रतियोगिता नेपालका लागि विशेष उल्लेखनीय रहेको मान्न सकिन्छ । अहिलेसम्म नेपाली सुन्दरीहरूमा अनुभव, शैक्षिक अवस्था, मुलुकको अवस्थाजस्ता विविध कारणले विश्व सुन्दरी रङ्गमञ्चमा लघुताभास अनुभव गर्दथे, यसलाई मेट्ने काम शृङ्खलाले गरिदिएकी छन् । यसबाट आउँदा दिनहरूमा यस्ता रङ्गमञ्चहरूमा नेपाली सुन्दरीहरूको आत्मविश्वास तथा हौसलामा निकै नै अभिवृद्धि हुने निश्चित छ । उनीहरूमा हामी पनि विश्वका कुनै पनि देशका सुन्दरीको दाँजोमा कुनै पनि कुरामा कम छैनौँ भन्ने विश्वास जगाउन शृङ्खलाको यो विधागत विजयले निकै महŒवपूर्ण भूमिका खेल्नेछ । राजनीतिक पृष्ठभूमि भएको परिवारकी चेली शृङ्खलाको भावी लक्ष्य पनि ठूलै छ, बाबुआमाको बिँडो थाम्दै मुलुककै पहिलो महिला प्रधानमन्त्री बन्ने उनको सपना तथा लक्ष्य छ । प्रतिनिधिसभाका सदस्य विरोध खतिवडा तथा प्रदेश नम्बर ३ को प्रदेशसभाका सदस्य मुनु सिग्देल खतिवडाकी सुपुत्री शृङ्खलाको यो लक्ष्यबारे भविष्यले बताउनेछ तर मिस वल्र्डको उपाधि हात पार्न पनि उनको तयारी कम छैन भन्ने तथ्य उनको मिहिनेत तथा आठमध्ये तीन विधामा अब्बल हुनुलाई मान्न सकिन्छ । आशा र कामना गरौँ शृङ्खला यसपटकको विश्व सुन्दरी प्रतियोगितामा निकै राम्रो नतिजा ल्याउन पक्कै पनि सफल हुनेछिन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here