दमक, ३, मंसिर / जैविक तथा वैयक्तिक विवरण सहितको राष्ट्रिय परिचयपत्र आजबाट वितरण हुँदैछ । पाँचथरको फिदिममा विशेष कार्यक्रमको आयोजना गरी राष्ट्रिय परिचयपत्र वितरण कार्यको शुभारम्भ गरिने जानकारी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले दिनुभयो । नेपालको प्रशासनिक इतिहासमा नै यो सूचना प्रविधिमा आधारित नयाँ फड्को हो । काफ्लेका अनुसार गृहमन्त्री रामबहादुर थापाले कार्यक्रमको शुभारम्भ गर्नुहुनेछ ।
पाँचथर जिल्लाका एकजना ज्येष्ठ नागरिक र सिंहदरबारका एक जना कर्मचारीलाई राष्ट्रिय परिचयपत्र वितरण गरी उक्त कार्यक्रमको शुभारम्भ गरिने छ । कार्यक्रममा गृहमन्त्री थापा, प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, गृहसचिव प्रेमकुमार राई, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेलगायतको सहभागिता हुनेछ ।
परिचयपत्र वितरणका लागि पाँचथरमा ५२ हजार नागरिकको विवरण सङ्कलन भइसकेको छ । अबको तीन वर्षभित्र १६ वर्ष उमेर पुगेका सबै नेपाली नागरिकलाई यो परिचयपत्र वितरण गर्ने लक्ष्य लिएको छ । त्यसैगरी, दोस्रो चरणमा १५ जिल्ला, तेस्रो चरणमा २५ जिल्ला र चौथो चरणमा बाँकी सबै जिल्लामा परिचय–पत्र वितरण गरिनेछ ।