आयात कडा भएपछि आयुर्वेदिक औषधीको अभाव

0
464

काठमाडौँ, असोज २४ / करीब छ महिना अघि आयातमा रोक लगाएपछि नेपालमा आयुर्वेदिक औषधिको अभाव भएको छ । आयुर्वेदिक औषधिको अभावसँगै नियमित औषधि सेवन गर्ने बिरामी भने मर्कामा परेका छन् । नेपालमा ७० प्रतिशत आयुर्वेदिक औषधि भारत लगायतका मुलुकबाट आयात हुने गरेको छ ।
औषधिको अभाव भएपछि आयुर्वेद चिकित्सक संघले स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद विभागमा तत्काल औषधिको आयात खुलाउन ज्ञापनपत्र बुझाएको थियो ।
आयुर्वेद विभागका महानिर्देशक डा.वासुदेव उपाध्यायले नेपालमा आयुर्वेदिक औषधिको अभाव भएको जानकारी दिनुहुँदै केही दिन यस्तै अवस्था रहे बिरामी औषधि सेवन गर्नबाट बञ्चित हुने बताउनुभयो ।
डा. उपाध्यायले नेपालमा आयुर्वेदिक औषधि बनाउने कम्पनी सबैखालका आयुर्वेदिक औषधि निर्माण गर्न सक्षम नभइसकेकोले अझै ७० प्रतिशत औषधि आयातमा निर्भर छ । आयातको पनि अधिक अंश छिमेकी मुलुक भारतबाट ल्याउनु पर्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ । वबमष्दगतष्)द्ध
आयुर्वेद औषधि सल्लाहकार समितिका संयोजक समेत रहनुभएका महानिर्देशक डा.उपाध्यायले सल्लाहकार समितिको निर्णय गरेर भारतबाट आयात हुने कतिपय औषधिमा सर्टिफिकेट अफ फर्मास्युटिकल्स प्रोडक्ट (सिओपिपी)को व्यवस्था लागू गर्न नसकिने हुनाले औषधि आयातको बाटो खुलाउन औषधि व्यवस्था विभागलाई सिफारिस गरिसकेको जानकारी पनि दिनुभयो ।
‘हामीले दुई महिना अघि नै औषधिको आयात खुलाउन औषधि व्यवस्था विभागलाई सुझाव दिएका हौंँ’, महानिर्देशक डा. उपाध्यायले भन्नुभयो, ‘हालसम्म औषधि व्यवस्था विभागले समितिको सुझावलाई कुनै सुनुवाइ गरेको छैन ।’
नेपाल आयुर्वेद औषधि उत्पादक संघका अध्यक्ष विनोद पौडेलले भारतबाट आयात हुने केही आयुर्वेदिक औषधिमा रोक लगाइएको बताउनुभयो । उहाँले भारतबाट आयात भएका औषधि क्रमिक रूपमा नेपालमै उत्पादन गर्न सकिने जानकारी दिदै त्यसको लागि समय लाग्ने बताउनुभयो । नेपालका आयुर्वेदिक औषधि उद्योगको क्षमता वृद्धि गर्दै लगेमा नेपाल पनि आयुर्वेद औषधि उत्पादनमा सक्षम हँुदै जाने बताउनुभयो ।
आयुर्वेद औषधि व्यवसायी संघका महासचिव सुमन पाण्डेले भारतमा उत्पादन हुने औषधि कम्पनीलाई सर्टिफिकेट अफ फर्मास्युटिकल्स प्रोडक्ट (सिओपिपी) दिने व्यवस्था भारतीय औषधि व्यवस्था विभागको कानुनमा नरहेकोले नेपालमा सिओपिपीको डकुमेन्ट बुझाउन सम्भव नभएको जानकारी दिनुभयो ।
नेपालमा वार्षिक तीन अर्व रुपियाँ बराबरको आयुर्वेदिक औषधि भारतबाट आयात हुने गरेको जानकारी दिँदै उहाँले बजारमा आयुर्वेदिक औषधिको कमी भइसकेको बचाउनुभयो ।
गुणस्तरको नाममा भारतको कानुनमै नभएको कतिपय प्रावधान औषधि व्यवस्था विभागले राखेको हुनाले नेपालमा औषधिको अभाव हुन पुगेको भन्दै उहाँले रसायन, रस, गुटिवर्टि बनावटका औषधि नेपालमा पूर्ण रुपमा रोक लगायको बताउनुभयो । चन्द्रप्रभावटी, आरोग्य, बजर्निवटी, वसन्टकुस्भाकर रस, सुवर्णभस्म, योगराज गुगुल लगायतका सयौं औषधि नेपाली बजारमा चरम अभाव रहेको उहाँको भनाइ छ ।
यता औषधि व्यवस्था विभागका प्रवक्ता एवं वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले विभागले बनाएको कार्यविधिले गर्दा आयुर्वेदिक औषधि आयातमा समस्या भएको बताउनुभयो । कतिपय औषधि दर्ता भइरहेका छन्, प्रवक्ता केसीले भन्नुभयो, ‘विशुद्ध हर्वल वेद र खनिज मिसिएका औषधि आयातमा भने समस्या छ ।’ आयुर्वेद औषधि सल्लाहकार समितिले निर्णय गरेर तत्काल औषधि आयातमा देखिएका समस्या फुकाउन सल्लाह दिए पनि विभागीय निर्णय हुन बाँकी रहेको केसीको भनाइ छ ।
आयुर्वेदिक औषधि व्यवसायी संघका केन्द्रीय सदस्य गणेशप्रसाद शाहले औषधि व्यवस्था विभागले एलोपेथिक औषधिलाई जस्तै नियम आयुर्वेदिक औषधिलाई लगाउँदा समस्या भएको बताउनुभयो । औषधि व्यवस्था विभागले बनाएको कार्यविधिमा आयात हुने औषधिमा अनिवार्य रूपमा सर्टिफिकेट अफ फर्मास्युटिकल्स प्रोडक्ट (सिओपिपि) हुनुपर्ने व्यवस्था गरिएको छ ।
आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले भारतमा समेत खनिजयुक्त औषधिमा सर्टिफिकेट अफ फर्मास्युटिकल्स प्रोडक्ट (सिओपिपि) हुनुपर्ने नियम नभएको बताउनुभयो ।
डाबर, वैद्यनाथ, झण्डु लगायत २६ वटा कम्पनीबाट आउने आयुर्वेदिक औषधिको नेपाल आयात अहिले बन्द छ । देशको एक मात्र केन्द्रीय आयुर्वेदिक अस्पताल नरदेवीका निर्देशक डा. श्यामबाबु यादवले नेपालमा ७० प्रतिशत आयुर्वेदिक औषधि भारत लगायतका मुलुकबाट आउने जानकारी दिनुभयो । निर्देशक डा. यादवले औषधि आयातको लागि पहल भने जारी रहेको बताउनुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here