चिया बगानको कर नतिरेपछि दमक नगरपालिका अन्योलमा

0
186

दमक, १९ असोज / दमक स्थित चियाबगानले कर नतिरेपछि दमक नगरपालिका अन्योलमा परेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको झापाको दमक नगरपालिका–४ र ९ मा अवस्थित हिमालय महालक्ष्मी चिया बगानले ५ करोड ३० लाख रुपैयाँ कर तिर्न बाँकी रहेको छ ।

२०६३ सालदेखि शाह नागरिक हैसियतमा फर्किएदेखि बगानले कर तिरेको छैन । पटक–पटक ताकेता गर्दा समेत कर तिर्न अटेर गरेको दमक नगरपालिकाले जनाएको छ । १५ कित्ता जग्गामा ५ सय ७५ बिगाहा १७ कठ्ठा १४ धुर जग्गा देखिन्छ । सम्पत्ति करबापत ५ करोड ३० लाख रुपैयाँ बक्यौता पुगिसकेको छ । यस्तो अवस्थामा ५ करोडभन्दा माथिको रकममा प्रतिहजार २ रुपैयाँ कर लगाउने व्यवस्था रहेको नगरपालिका कर शाखा प्रमुख टिकाराम दाहालले बताए ।

एकीकृत सम्पत्ति कर लागू भएपछि बगानले ५ करोड २९ लाख ९९ हजार ४ सय ४५ रुपैयाँ तिर्न बाँकी रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताए । आर्थिक वर्ष २०६२र६३ देखि दमक नगरपालिकाले स्थानीय स्वायत्त शासन ऐनको अधिनमा रही लागू गरेको एकीकृत सम्पत्ति कर हिमालय महालक्ष्मीले शुरूदेखि नै तिरेको छैन ।

दमक नगरपालिकाभित्र रहेको जग्गा पूर्वपश्चिम राजमार्गसँग जोडिएको जग्गा हो । तर, कृषियोग्य भनेर मालपोत कार्यालयबाट विवरण लिइएकाले कृषिलाई एकीकृत सम्पत्ति कर अन्तर्गत नै राखेर करको विवरण तय गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here