पाँच वर्षमा २१ झोलुंगे पुल

0
280

झापा/ एक वर्षमा एउटा जिल्लामा कति काम होला ? तपाइ हामी सहज अनुमान लगाउन सक्दैनौं । हामीलाई लाग्छ एउटा गाउँ बराबर बर्षमा एउटा विकासे योजनाका काम हुँदा पनि पाँच वर्षमा विकासको गति माथि पुगिसक्नुपर्ने हो । तर विकासे योजना कोही एक वर्षे र धेरैजसो पञ्चवर्षीय हुदा पाँचवर्षपछि मात्र परिणाम देखिदो रहेछ ।
झापामा गत पाँच वर्षमा २१ ओटा पुल बनेको जिविसको तथ्यांकमा छ । ग्रामीण क्षेत्रका सर्वसाधारणको सामाजिक तथा आर्थिक स्रोेत एवं अवसरहरूमा पहुँच बढाउँदै गरिबी निवारणमा टेवा पुर्याउने उद्देश्यले झापाका विभिन्न खोलामा झोलुंगे पुल बनाइएको जिल्ला प्राविधिक कार्यालय झापाका प्रमुख इञ्जिनियर सुशील श्रेष्ठले बताए ।
सात करोड ७७ लाख ९२ हजार २ सय ७३ रुपैयाँको लागतमा निर्माण गरिएको झोलुंगे पुलका कारण तीस हजार जनसंख्या प्रत्यक्ष लाभान्वित भएको उनको भनाइ छ ।
नेपाल सरकारको क्षेत्रगत कार्यक्रम स्वापअन्तर्गतको केन्द्रीय अनुदान ९२ प्रतिशत, तत्कालीन जिल्ला विकास समितिको ३ प्रतिशत, गाविसको ३ प्रतिशत र उपभोक्ताको २ प्रतिशत गरी शतप्रतिशत लागतमा झोलुंगे पुल निर्माण भएका हुन् ।

कहाँ–कहाँ बने ?

आर्थिक वर्ष ०७०–७१ मा हल्दिबारी–१ गोल्धाप र बाह्रदशी–५ चकचकीमा अँधेरे खोलामा फोक्लेन्ड टापु ट्रस्ट ब्रिज निर्माण भएको छ । कुल ३२ मिटर लम्बाइको सो झोलुंगे पुल निर्माणसँगै ८३ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् जसको लागत रु. १७ लाख १६ हजार रहेको छ ।

एक सय ९० घरधुरी लाभान्वित हुने गरी अन्धुवा खोलामा सतानुबाडी ट्रस्ट ब्रिज निर्माण भएको छ । यो पुल रु. १२ लाख ७१ हजारमा निर्माण सम्पन्न भएको हो । बिर्तामोड–१० र गरामनी–१० जोड्ने धरधरे खोलामा १६ मिटर लम्बाइको धरधरे ट्रस्ट ब्रिज निर्माण भएको छ जसका कारण १३५ परिवार प्रत्यक्ष लाभान्वित भएका छन् । यो पुल रु. १० लाख १५ हजारको लागतमा निर्माण गरिएको हो ।

त्यस्तै, मेचीनगरको धाइजनमा ढाक्रे खोलामा पनि बाँसबारी ट्रस्ट ब्रिज निर्माण भएको छ । कुल २८ मिटर लम्बाइको सो पुल बनाउन रु. १५ लाख ६२ हजार खर्च लागेको बताइएको छ । यसबाट २६७ परिवार लाभान्वित भएका छन् ।

०७०–७१ मा निर्माण गरिएका झोलुंगे पुलबाट ६७५ घरपरिवार प्रत्यक्ष लाभान्वित बनेको र तीन हजार ३३८ जना लाभान्वित संख्या रहेको बताइएको छ । चारवटा पुल निर्माणमा रु. ५५ लाख २९ हजार खर्च भएको सहारा नेपालका सामुदायिक झोलुंगे पुल क्षेत्रगत कार्यक्रमका निर्देशक नेपालले बताए ।

आर्थिक वर्ष ०७१–७२ मा चारवटा पुल निर्माण भएका छन् । पुल निर्माणसँगै ७९८ घरपरिवार प्रत्यक्ष लाभान्वित भएको बताइएको छ । कुल रु. ७७ लाख ५७ हजारको लागतमा निर्माण गरिएको चारवटा पुलबाट तीन हजार ८५२ घरपरिवार लाभान्वित भएको बताइएको छ ।

०७१–७२ मा पथरी–८ र केचना–९ मा पर्ने अमलपुट्टा खोलामाथि २० मिटर लामो झोलुंगे पुल निर्माण गरिएको छ । कुल रु. १२ लाख ४८ हजारको लागतमा निर्माण गरिएको सो पुलले २३७ घरपरिवार प्रत्यक्ष लाभान्वित भएको बताइन्छ । पुलको नाम आदर्श टोल ब्रिज ट्रस्ट राखिएको छ । बुधबारे–१ तामाखोलामा दामातार ट्रेल ब्रिज निर्माण गरिएको छ । कुल ७५ मिटर लामो सो पुलबाट २०१ घरपरिवार लाभान्वित भएका छन् जसको लागत २८ लाख १६ हजार दुई सय ९३ रुपैयाँ रहेको छ ।

सतासी खोलामा पनि मैनाचुली टे«ल ब्रिज निर्माण गरिएको छ । सतासीधाम–९ मा पर्ने सतासी खोलको पुलको लम्बाइ ४५ मिटर रहेको छ । पुल निर्माणसँगै त्यस क्षेत्रका १४७ परिवार लाभान्वित भएका छन् । पुल निर्माणका लागि रु. १९ लाख ५९ हजार खर्च भएको छ ।

यता, तोपगाछी–९ र तोपगाछी–२ जोड्ने ढ्यांग्री खोलमा २८ मिटर लामो झोलुंगे पुल बनाइएको छ । कुल रु. १७ लाख ३३ हजारको लागतमा निर्माण गरिएको ढ्यांग्री ट्रस्ट ब्रिजबाट २१३ घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।

०७२–७३ मा पनि चारवटा झोलुंगे पुल निर्माण भएका छन् । ज्यामिरगढी–४ र दुहागढी–८ मा ११७.४ मिटर लामो धगेरे भंगोला टे«ल ब्रिज निर्माण भएको छ । कुल रु. ६५ लाख १८ हजारको लागतमा निर्माण भएको झोलुंगे पुलबाट ५५० परिवार लाभान्वित भएका छन् ।

जलथल–३ को काजली खोलामा समेत पुल निर्माण भएको छ । कुल १०७ मिटर लामो पुलका कारण १५० परिवार लाभान्वित भएका छन् । रु. ५७ लाख ९३ हजारको लागतमा सो पुल निर्माण भएको हो जसको नाम चौकीविरान टे«ल ब्रिज राखिएको छ ।

देउनिया खोलामा पनि मसानघाट टे«ल ब्रिज निर्माण भएको छ । भद्रपुर–१४ र गरामनी–२ जोड्ने १०६ मिटर लामो पुलका कारण एक सय ९६ परिवार लाभान्वित भएका छन् । यसको लागत रु. ४८ लाख ३२ हजार रहेको छ ।

यता अर्जुनधारा नगरपालिकाको रेखा खोलामा पनि सुखानी टे«ल ब्रिज निर्माण भएको छ । कुल रु. ४२ लाख ९१ हजारको लागतमा सुखानी टे«ल ब्रिज निर्माण भएको हो । ०७३–७४ मा घाग्राखोलामा सिमलचोक टे«ल ब्रिज निर्माण भएको छ । डाँगीबारी–७ मा पर्ने घाग्राखोलमा निर्माण गरिएको पुलको लम्बाइ ६९.४ मिटर रहेको छ । कुल रु. ४० लाख ३१ हजारमा निर्माण गरिएको पुलबाट त्यस क्षेत्रका पाँच सय १५ घरपरिवार प्रत्यक्ष लाभान्वित तथ्यांक छ ।

०७४–७५ मा झापाका आठ स्थानमा झोलुंगे पुल निर्माण गरिएको छ । कुल रु. चार करोड ३८ लाखको लागतमा निर्माण भएका ती झोलुंगे पुलबाट तीन हजार ५२० घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।

झापा गाउँपालिका–१ को सानोमाईसहित हल्दीबारी–१ र बाह्रदशी–५ को अन्धुवा खोला सापडिग्री खोलामा ९६ मिटर लामो मुक्तिघाट मल्टिट्रस्ट ब्रिज निर्माण गरिएको छ । यसको लागत रु. ९७ लाख ६९ हजार रहेको छ । सो पुलका कारण एक हजार १२० परिवार प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

गौरीगञ्ज गाउँपालिकाको महाभारा र बैगुन्धुरा जोड्ने कमल खोलामा पनि चाँदनी–कुञ्जीबारी ट्रस्ट ब्रिज निर्माण भएको छ । कुल ३२ मिटर लामो ट्रस्ट ब्रिज निर्माणका लागि रु. ३७ लाख ४१ हजार खर्च भएको बताइएको छ । सो पुलका कारण चार सय ६० परिवार लाभान्वित भएका छन् ।

कमल गाउँपालिकाको तोपगाछीको भुत्लुङ खोलामा ३२ फिट लामो ज्योति भुत्लुङ ट्रस्ट ब्रिज निर्माण भएको छ । कुल रु. २८ लाख १३ हजारको लागतमा निर्माण गरिएको पुलका कारण ३०० परिवार लाभान्वित हुने बताइएको छ ।

अर्जुनधारा–२ को गोयाङ खोलामा ८८ मिटर लामो राते–गाँजाबारी झोलुंगे पुल निर्माण गरिएको छ । कुल रु. ७७ लाख ५३ हजारको लागतमा निर्माण गरिएको झोलुंगे पुलले ३५० परिवार लाभान्वित हुने बताइएको छ ।

निन्दा खोलामा पनि मिनी माउन्टेन झोलुंगे पुल निर्माण भएको छ । कुल ८३ मिटर लामो झोलुङ्गे पुलले मनेपा बाहुनडाँगी र जिर्मले इलामलाई जोड्ने बताइएको छ जसको लागत रु. ६७ लाख ५१ रहेको छ । यसबाट ४८० परिवार प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

हल्दिबारी–१ गोल्धापमा ॐकारेश्वर झोलुंगे पुल निर्माण भएको छ । कुल ३२ मिटर लामो झोलुंगे पुलका कारण ५३० परिवार प्रत्यक्ष लाभान्वित भएका छन् । यसका लागि रु. ४४ लाख ६० हजार खर्च भएको बताइएको छ ।

त्यस्तै, सतासीधामको धरमपुरमा लेलिया खोलामा २० मिटर लामो प्रगति टोल ट्रस्ट ब्रिज निर्माण भएको छ जसका कारण २८० परिवार लाभान्वित भएका छन् । कुल रु. २६ लाख १० हजारको लागतमा सो ट्रस्ट ब्रिज निर्माण भएको सहारा नेपालका सामुदायिक झोलुंगे पुल क्षेत्रगत कार्यक्रमका निर्देशक नेपालले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here