पैसामा कोर्ने वा रङ दल्नेलाई जेल र जरिवाना

0
502

काठमाडौं / यदि तपाईंको नोट (पैसा)मा केरमेट गर्ने बानी छ भने अब पूर्ण रूपमा छाडिदिनुहोस् अन्यथा तपाईंलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना हुन सक्छ । मुलुकी ऐनको मुद्रासम्बन्धी कसुरले नोट वा सिक्का गाल्ने, जलाउने वा केरमेट गर्नेलाई कैद र जरिवानाको व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले एक विज्ञप्ति जारी गर्दै नोट केरमेट गर्नेलाई मुलुकी ऐनअनुसार कारबाही हुने बताएको हो । ‘सफा नोट नीति’लाई प्रभावकारी कार्यान्वयन गर्ने भन्दै राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सार्वजनिक सूचनामार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई नोट तथा सिक्कामा केरमेट नगर्न आग्रह गरेको छ ।

अन्यथा, ऐनअनुसार कैद र नगद जरिवाना हुने चेतावनीसमेत दिएको छ । राष्ट्र बैंकले बुधबार नै बैंक तथा वित्तीय संस्थालाई परिपत्रसमेत गरिसकेको छ । नोट तथा सिक्कामा केरमेट गर्न नहुने, च्यात्न, गलाउन र जलाउन नहुनेबारे चेतना आवश्यक रहेकाले सार्वजनिक सूचना तथा निर्देशन जारी गरिएको कार्यकारी निर्देशक एवं मुद्रा व्यवस्थापन विभाग प्रमुख लक्ष्मीप्रपन्न निरौलाले बताए ।

बैंकमा रकम राख्दा कसैले नोटमा केरेमट गरे सिसी क्यामेरामा रेकर्ड हुन्छ । ऐन कार्यान्वयन गर्ने निकायले त्यसको अनुगमन गरेर आवश्यक कारबाही गर्न सक्ने निरौलाले बताए । बैंकका कर्मचारीले पनि बैंकमा केरमेट गर्ने गरेको पाइएकाले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र सञ्चालकलाई यसबारे अवगत गराइएको उनले बताए ।

के छ कानुनमा ?
आगामी १ भदौदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २२ को मुद्रासम्बन्धी कसुरले नोट केरमेट गर्न प्रतिबन्ध लगाएको छ । कसुरअन्तर्गतको दफा २६३ को उपदफा २ मा ‘कसैले बैंक नोटमा लेख्न वा कोर्न हुँदैन’ भन्ने उल्लेख छ । सोही दफाको उपदफा ३ मा ‘कसुर गर्ने–गराउने व्यक्तिलाई ३ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना हुने’ व्यवस्था छ । राष्ट्र बैंकले उक्त कानुनको पालना गर्दै नोट केरमेट नगर्न तथा नगराउने वातावरण बनाउन सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई आग्रहसमेत गरेको छ ।

नोट राष्ट्रको सम्पत्ति हो, जतन गरौँ
राष्ट्र बैंकले सफा नोट नीतिअन्तर्गत नोटको जतन गर्न सर्वसाधारणलाई सूचित गराउँदै आएको छ । केन्द्रीय बैंकले ‘नोट राष्ट्रको सम्पत्ति हो, यसको हिफाजत गरौँ’ भन्दै सूचना प्रवाह गर्दै आएको छ । फोहोर नोटमा धेरै ब्याक्टेरिया हुन्छ, जसले विभिन्नखाले रोग पनि निम्त्याउन सक्छ, त्यसलै नोटलाई सफा राख्नुपर्छ, केरमेट वा फोहोर गर्न हुँदैन । अर्काेतर्फ नोटमा केरमेट गर्नेलाई ३ महिनाको कैद र ५ हजारको जरिवाना तोकेको छ ।नयाँ पत्रिकामा समाचार छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here