‘१० देखि २० लाख पर्यटक रेलबाट आउने गरी विकास गर्छौ’

0
440

१७ साउन, काठमाडौं/  अर्थमन्त्री डा. युवराज खतिवडाले अबको छ वर्षपछि नेपालमा रेलबाट १०–२० लाख पर्यटक नेपाल आउन सक्ने बताएका छन् ।
पर्यटन मन्त्रालयले बिहीबार आयोजना गरेको पर्यटन क्षेत्रको भावी कार्यदिशा सम्बन्धी अन्तक्रियामा उनले पर्यटन पवद्र्धनका लागि छोटा दुरीका रेल्वेबारे अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याए ।
‘३०, ४०, ५० किलोमिटरका रेल्वे स्टेशन बनाउन सकिन्छ,’ उनले भने, ‘जस्तै हामीले नागढुंगा–धुलिखेलको योजना अघि बढाएका छौं ।’
खतिवडाले आगामी १० वर्षमा ५० लाख पर्यटक भित्राउन सकिने बताए । ‘अबको १० वर्षमा ५० लाख पर्यटक ल्याउन गाह्रो छैन तर त्यसका लागि केही काम गर्नुपर्ने छ ।’
त्यसकालागि क्षेत्रिय विमानस्थल बढाउनुपर्ने र फ्लाइट दोब्बर गर्नुपर्ने बताउँदै उनले भने, ‘कम्तिमा एक सय फ्लाइट चाहिने मैले देखेको छु ।’
नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्नुपर्ने र होटेल पनि थप्नुपर्ने बताउँदै उनले होटेल खोल्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
नेपालको आर्थिक समृद्धिको सपना पूरा गर्नका लागि पर्यटन प्रवद्र्धन र उद्योग नै उपयुक्त विकल्प भएको मन्त्री खतिवडाको दावी छ । ‘कृषि क्षेत्रबाट मात्रै आर्थिक विकासको लक्ष्य भेटाउन गाह्रो हुन्छ,’ उनले भने, ‘धेरै जनसंख्या भएका देशलाई प्राथमिकतामा राखेर पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने हुन्छ ।’ दुई ठूला मुलुक चीन र भारत नै पहिलो प्राथमिकतामा रहनेछन् ।
सरकारले आर्थिक वर्ष २०७५र७६ मार्फत सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरिसकेको छ । यसअघि १९९८ र २०११ मा पनि नेपालले भ्रमण वर्षका रुपमा मनाएको थियो । ‘तर, यसपटक सरकारले विगतभन्दा अलि पृथक ढंगले भ्रमण वर्ष २०२० मनाउन खोजेको छ,’ अर्थमन्त्री खतिवडाले भने, ‘यसमा स्थानीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य छ ।’
सबै प्रदेशले पर्यटनका लागि कम्तिमा १० प्रमुख गन्तव्य तय गरेर संघीय सरकारसँग सहकार्यका लागि प्रस्ताव ल्याउन पर्यटन मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्षका एक सय नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने योजना बनाएको छ ।
मन्त्री खतिवडाले मन्त्रालयको योजना सबैको योजना भएकाले समृद्ध नेपाल निर्माणको महाअभियानमा कोही छुट्न नहुनेमा जोड दिए । ‘मन्त्रालयहरुका बीचमा समन्वय त भइहाल्छ तर, यसमा निजी क्षेत्र, संवन्धित क्षेत्रका विज्ञ समेत छुट्नु हुँदैन,’ अर्थमन्त्री खतिवडाले अगाडि थपे, ‘सन् २०२७ सम्म नेपालमा ५० लाख पर्यटक भित्र्याउने चुनावी घोषणापत्रमा मार्फत गरिएको प्रतिवद्धताअनुसार सरकार अघि बढेको छ ।’

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here