शताब्दीकै लामो खग्रास चन्द्रग्रहणले ःकुन राशीलाई के फल दिन्छ ? हेर्नुहोस्

0
340

११ श्रावण, २०७५ काठमाडौं / आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ ।

खग्रास चन्द्रग्रहणको समाप्ति राति २ बजेर ५८ मिनेटमा हुनेछ । राति २ बजेर ८ मिनेटमा ग्रहणको मध्य र ४ बजेर छ मिनेटमा अन्त्य हुने उनले बताए । कूल तीन घण्टा ५७ मिनेट ग्रहण रहनेछ । चन्द्रग्रहणले स्पर्श हुनुभन्दा नौ घण्टाअघि देखि बाल, वृद्ध र रोगी बाहेकलाई शास्त्रीय रुपमा भोजन निषेध गरिएको छ । ग्रहण लागेका बेला हवन, मन्त्र जप, मन्त्र लिने, मन्त्र सिद्धि गर्ने, दान गर्नेलगायत धार्मिक काम गर्न शुभ मानिन्छ । ग्रहण लागेका बेला सुत्न, दिसा, पिसाब, मैथुन गर्न नहुने धर्मसिन्धु, निर्णयसिन्धुलगायत शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।
शुक्रबारको चन्द्रग्रहणमा विभिन्न राशि भएका मानिसलाई फरक फरक फल दिने समितिले स्वीकृत गरेका पञ्चाङ्गमा उल्लेख गरिएको छ । मेष राशि भएकालाई सुख, वृषलाई माननाश, मिथुनलाई कष्ट, कर्कट स्त्री पीडा, सिंह सुख, कन्या चिन्ता, तुला व्यथा, वृश्चिक स्त्री प्राप्ति, धनु क्षति, मकर घात, कुम्भ व्यय र मीन राशि भएका मानिसलाई लाभ मिल्नेछ । यस आधारमा शुक्रबार रातिको चन्द्रग्रहण मेष, सिंह, वृश्चिक र मीन राशि भएकाले हेर्नु हुने समितिका सदस्यसचिव ढुंगेलले बताए ।

अन्य आठ राशि भएकाले हेर्न नहुने समितिको ठहर छ । चन्द्रग्रहणका अवसरमा देशका विभिन्न स्थानमा हुने मौसमको पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले बिहिबार सार्वजनिक गरेको छ । शुक्रबार बेलुकीदेखि शनिबार बिहानसम्म सार्वजनिक अनुमान गरिएको मौसमको विवरणअनुसार दीपायलमा पूर्ण बदली भई हल्का वर्षा हुने सम्भावना छ । यसैगरी, वीरेन्द्रनगरमा पनि सामान्य एवम् पूर्ण बदली भई मध्यम वर्षा हुने सम्भावना छ । काठमाडौंमा पनि बदली भई हल्का वर्षा हुने अनुमान विभागले गरेको छ ।

धरानमा पनि बदली भई मध्यम वर्षा एवम् भारी वर्षा हुने सम्भावना छ । पोखरामा भने बदली भई हल्का वर्षा हुने सम्भावना रहेको विभागकी मौसमविद् विभूति पोखरेलले बताए । मौसम सफा भएका स्थानमा खग्रास चन्द्रग्रहण देख्न सकिने जनाइएको छ । शुक्रबार राति लाग्ने खग्रास चन्द्रग्रहण अंग्रेजी पात्रोअनुसार एक्काइसौं शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

ग्रहणको समयमा देखिने गाढा रातो रंगको चन्द्रमाको दृश्य खगोल तथा अन्तरिक्ष विज्ञानमा रुचि राख्नु हुने सबैका लागि एक सुनौलो तथा अभूतपूर्व अनुभव हुने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । खग्रास चन्द्रग्रहण अवलोकन गर्न चाहनेले निर्धक्क भएर आफ्नो घर अथवा खुल्ला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्नेछन् । वैज्ञानिक मतअनुसार चन्द्रग्रहण हेर्दा हानि नहुने उनले बताए ।

राति १२ बजेर ९ मिनेटमा शुरु हुने ग्रहणले चन्द्रमालाई ढाक्दै जाने क्रममा १ बजेर १५ मिनेट जाँदा पूरै ढाक्नेछ । अवलोकनकर्ताले १ बजेर १५ मिनेटदेखि एक घण्टा ४३ मिनेटसम्म अर्थात दुई बजेर ५८ मिनेटसम्म चन्द्रमालाई तामा रंगमा देख्नेछन् । यस अवधिलाई खग्रास भनिन्छ । त्यसपछि ग्रहण क्रमशः कम हुँदै राति ४ बजेर ४ मिनेटमा सकिनेछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here