कोलकाता/ उडिरहेको विमानमा पाइलटलाई अकस्मात हृदयघात भए के होला ! धेरैको मनमा यो प्रश्नको जवाफमा सम्भावित दुर्घटना अंकित हुन्छ । तर इन्डिगो एयरलाइन्सको एक विमानमा मुख्य पाइलटलाई उडानकै बीच हृदयघात भए पनि सामान्य ढंगले नै विमानलाई अवतरण गराएर सम्भावित दुर्घटना टारिएको छ ।
समाचार एजेन्सीहरुका अनुसार इम्फालबाट कोलकाता आउँदै गरेको विमानमा पाइलटलाई हृदयघात भएको थियो । क्युवा मुलका ६३ वर्षीय पाइलट सिल्भियो डियाज अकोस्टालाई उडानकै क्रममा हृदयघात भएको हो ।
कोलकाता नजिकैको आकाशमा आइपुगेको अवस्थामा उनलाई हृदयघात भएको बताइन्छ । अवतरणको तयारी गरिरहँदा उनले आफ्नो को–पाइलटलाई छाती दुख्न थालेको जानकारी गराएका थिए । विस्तारै उनको छातीमा दुखाइ बढ्दै गयो र शरीर पसिनाले भिज्न थाल्यो ।
विमानस्थल स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएअनुसार छातीको पीडालाई झेल्दै ती पाइलटले आफ्नो को–पाइलटको सहयोगमा विमानलाई सुरक्षित अवतरण गराएका थिए । अवतरण लगत्तै उनलाई विमानस्थलको चिकित्सकीय युनिटमा लगिएको थियो । ईसिजी रिपोर्टअनुसार पाइलट अकोस्टाको अवस्था निकै गम्भीर पाइएको थियो । लगत्तै उनलाई अस्पताल भर्ना गरियो ।
कार्डियोलोजिस्ट डा. सत्रजीत समन्ताका अनुसार पाइलट अकोस्टालाई तत्कालै आकस्मिक कक्षमा राखेर उपचार गरिएको थियो । उनलाई हृदयघातका कारण छातीमा पीडा भएको चिकित्सकहरुको भनाइ छ । मुटुमा जाने नसामा रक्तप्रवाह निकै कम या पूर्ण रुपमा बन्द हुँदा यस्तो समस्या आउने चिकित्सकको भनाइ छ ।
उनको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार निकै कठिन अवस्थामा उनको उपचार गरिएको थियो । उपचारका क्रममा उनलाई दुई पटकसम्म विद्युतीय झट्कासमेत दिइएको चिकित्सकले जनाएका छन् ।
उनको स्वास्थ्यमा सुधार हुँदै गएको बताइएको छ । यति गम्भीर अवस्थामा समेत उनले यात्रुलाई सुरक्षित रुपमा अवतरण गराएकोमा चिकित्सकहरु चकित भएका छन् । (एजेन्सी)