इलम प्रशिक्षण केन्द्रलाई दाताले दिएको जग्गा नै हरायो

0
344

दमक/ दमक उद्योग वाणिज्य संघको प्रत्येक चुनावमा मुख्य चुनावी नारा बन्ने गरेको इलम प्रशिक्षण केन्द्र बनाउने भनिएको जग्गा नै गायब भएको छ । प्रतेक चुनावमा प्रतिबद्धता पत्रको पहिलो बुँदा बन्ने गरेको इलम प्रशिक्षण चुनाव जितिसकेपछि संघको नेतृत्व गर्दै आएकाहरूको बेवास्ताले केन्द्रको भवन र जग्गामाथि चलखेल भएको रहस्य खुलेको छ ।
इलम प्रशिक्षक केन्द्र दमकलाई दाताले दिएको जग्गा हराएपछि दमक उद्योग बाणिज्य संघ समेत विवादमा फसेको छ । दमक ८ स्थित स्थानीय श्यामप्रसाद श्रेष्ठले निःशुल्क दान गरेको जग्गा हराउनुका पछि संघको नेतृत्व र पूर्व नेतृत्वहरु माथिनै प्रश्नचिन्ह देखा परेको हो ।
जग्गा हराएपछि केन्द्रको भौतिक पूर्वाधार निर्माण गर्न नसकिएको उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले बताए । संघले अहिले जग्गा खोजी कार्यलाई तीव्र पारेको भनिएपनि ठेगान लगाउन नसक्नुले अवका चुनावमा मुख्य नारा नै परिर्वतन गर्नुपर्ने अवस्था आएको भन्दै उद्योग बाणिज्य संघका पदाधिकारीहरु नै खिल्ली उडाइरहेको एक पदाधिकारीले बताए  ।
इलम प्रशिक्षण केन्द्र बनाउन श्रेष्ठ परिवारले ०६१ फागुन १३ गते १० कट्ठा जग्गा केन्द्रको नाममा पास गरिदिएको थियो । १३ वर्षपछि अहिले जग्गा नाप गर्दा ७ कट्ठामात्रै देखिन्छ । अध्यक्ष ढकालले उद्योग वाणिज्य संघलाई १० कट्ठा जग्गा प्राप्त भए पनि अहिले ७ कट्ठा मात्रै रहेको बताए । उनले जग्गाको नक्सा भने साढे १२ कट्ठाको रहेको बताए । ‘हामीलाई दाताबाट १० कट्ठा जग्गा प्राप्त भएको थियो । तर, अहिले ७ कट्ठामात्र देखिन्छ,’ ढकालले भने, ‘बाँकी ३ कट्ठा जग्गा कहाँ हरायो भनेर हामी खोजी गरिरहेका छौं ।’ उद्योग वाणिज्य संघले जग्गा कहाँ हरायो भनेर मालपोतसँग खोजी गर्न समेत नसकेको हो या नभ्याएको ब्यवसायीहरुको प्रश्न छ ।
पुरानो जग्गाधनी दर्ता प्रमाण पुर्जाअनुसार श्रेष्ठ परिवारले साविकको कित्ता नं. ११२५ बाट ३ धुर र कित्ता नं. ११२७ बाट ९ कट्ठा १७ धुर गरी १० कट्ठा जग्गा दान गरेको उल्लेख छ । तर, ०७२ मंसिर २ गते जारी भएको नयाँ जग्गाधनी दर्ता प्रमाण पुर्जामा ७ कट्ठा जग्गा मात्र उल्लेख छ । ‘कागजी रूपमै जग्गा गायब भएपछि हामी एक वर्षदेखि जग्गा खोजी गरिरहेका छौं,’ इलम प्रशिक्षण केन्द्र भौतिक पूर्वाधार निर्माण उपभोक्ता समितिका संयोजक विमल खतिवडाले भने । उनले ‘दाताले जग्गा दिँदा चार कुना मिलेको थियो । अहिले त्यस्तो छैन । करोडभन्दा बढी मूल्य पर्ने संस्थाको जग्गा हराउनु गम्भीर कुरा हो ।’ उनले जग्गा हराएको थाहा पाएपछि पुनः नाप गर्न नापी कार्यालयलाई पत्रचार गरे पनि नापीबाट कर्मचारी नआएको गुनासो गरे ।
उक्त जग्गा पूर्वपश्चिम राजमार्गदेखि ५ सय मिटर दक्षिणमा पर्दछ । स्थानीयका अनुसार अहिले उक्त स्थान आसपासमा प्रतिधुर दुई लाखभन्दा बढीमा जग्गा किनबेच भइरहेको छ । संघका पूर्वअध्यक्ष र दाता परिवारबीच भएको बैठकमा हराएको भनिएको जग्गा बाटोमा परेको भनी दाता परिवारले भनेको अध्यक्ष ढकालले बताए ।
‘मैले तपाईंहरूलाई १० कट्ठा जग्गा दान गरेको हुँ । ३ कट्ठा जति बाटोमा गयो । बाँकी जग्गा त्यहीं छ,’ दाता श्रेष्ठले भनेको कुरा उद्धृत गर्दै ढकालले भने । ढकालले केन्द्रलाई १० कट्ठा जग्गा पूरै भोगचलन गर्ने गरी जग्गा प्राप्त भएको दाबी गरे । ‘हामीलाई १० कट्ठा जग्गा दिए पनि नक्सा साढे १२ कट्ठाको थियो । दुई–अढाई कट्ठा जग्गा बाटोमा पुर्ने र १० कट्ठा पूरै केन्द्रलाई हुने गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा प्राप्त भएको हो,’ ढकालले भने, ‘तर अहिले नक्सा पनि फरक देखिन्छ । हाम्रो जग्गा पनि गायब छ ।’
इलम प्रशिक्षण केन्द्र पछिल्लो पाँच वर्षदेखि बेवारिसे अवस्थामा छ । स्थानीय युवालाई औद्योगिक सीप सिकाउने उद्देश्यले नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र दमक उद्योग वाणिज्य संघको संयुक्त लगानीमा केन्द्र सञ्चालनमा ल्याइएको थियो । ०६१ देखि ०६८ सालसम्म जेनतेन सञ्चालन भए पनि त्यसपछि आवश्यक पहल नहुँदा केन्द्र बेवारिसे बनेको हो । २० लाख लागतमा निर्माण गरिएको तालिम हलसहितको दुई कोठे केन्द्रको भवन अहिले संरक्षणको अभावमा जीर्ण बनेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here