प्रदेशको विकास, शान्ति र समृद्धिकैलागि मेरो उम्मेदवारी

169

विद्यार्थी पृष्ठभूमिवाट राजनीतिको यात्रा शुरु गरेका राजन ढुंगानाले तोपगाछी महेन्द्र रत्न माविबाट एसएलसी गरेका हुन् । उनले हात्तीसार क्याम्पसमा ने वि संघको नेतृत्व गर्दै स्नातक तह शंकरदेव क्याम्पस अध्यायनको वेला क्याम्पस इकाइ समिति सचिव भएर काम गर्ने मौका पाए । उनले काठमाण्डौ झापा नेविसंघ सम्पर्क समिति सचिव, मेची काठमाण्डौं सम्पर्क सम्पर्क समितिसचिव हुँदै सांगठनिक कामलाई अगाडी बढाउँदै आए । हाल दमक ५ मा बस्दै आएका ढुंगाना ०५२ सालमा नेपाली काँग्रेस गाउँ सभापति, ने.का.को दशौं र बाह्रौं महादिवेशनमा महासमिति सदस्य, हुँदै २ पटकसम्म जिल्ला समिति सदस्य भइसकेका छन् । उनी झापा क्षेत्र नं ५को पार्टी प्रशिक्षण विभाग प्रमुख समेत भएर पार्टीमा इमान्दार र बौद्धिक नेता तथा अधिवक्ताको रुपमा चिनिन्छन् । समाजसेवामा उनको अग्रणी भूमिका छ, कमल गाउँपालिकाको महेन्द्र रत्न माविको ब्यवस्थापन समिति अध्यक्ष रहेर सेवा गरिरहेका उनी ११ वर्षदेखि दमक मोडेल कलेजमा अध्यापन गराउदै आएका थिए । उनले कानुनमा विएल, ब्यवस्थापनमा एमविए, र समाजशास्त्रमा एम ए सम्मको शिक्षा हासिल गरेका छन् । हाल झापा क्षेत्र नं ५ बाट प्रदेश सभा (ख) को लागि उम्मेदवारी दिएका छन् ।

प्रश्तुत छ प्रदेश आवाजका लागि राजन ढुंगानासँग गरिएको कुराकानी ः

तपाइको उम्मेदवारी किन ?

मुलुकमा नेपाली काँग्रेसको नेतृत्वमा संविधान निमार्ण भयो । संविधान पछि संघीय संरचनामा स्थानीय चुनाव सम्पन्न भएको छ । अव शान्ति समृद्धीकालागि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन भइरहेको छ । यो अवस्थामा प्रदेशको विकास, शान्ति र समृद्धिकैलागि मेरो उम्मेदवारी हो ।

पार्टीले तपाईलाइ नै उम्मेदवारी दिनुको आन्तरिक कारण के हो ? अरु दक्ष नभएर हो ?

पार्टीमा म जस्ता र म भन्दा पुराना नेता पनि छन्, तर मेरो त्याग क्षमता, लगनशिलता र इमान्दारितालाई पार्टीले मुल्यांकन गरेको कारणले उम्मेदवारी दिएको हो भन्ने मलाई लाग्छ । लामो समयदेखि पार्टीमा काम गरेको साथै सामाजिक, प्रागिक र कानुनी क्षेत्रमा प्रत्यक्ष काम गरेको हुनाले पनि मैलै उम्मेदवारी पाएको हूँ भन्ने मेरो बुझाई हो ।

तपाइका चुनाव जित्ने आधारहरु के के हुन् ?

 हामीले स्थानीय विकासका कुरालाई प्राथमिकतामा राखेर घोषणा पत्र सार्वजनिक गरेका छौं, म जनताका सरोकारका विषयमा सँधै लागिरहने प्रणकासाथ उम्मेदवारी भएको हुँ, केन्दीय घोषणा पत्र र स्थानीय घोषणा पत्रले स्पष्ट भनेको छ कि यो देशको विकास र शान्ति नेपाली काँग्रेसबाट मात्र सम्भव छ । यो कुरा मेरो क्षेत्रका मतदातालाई पनि थाहा भएकै कुरा हो । सडक, विद्युत, शिक्षा, खानेपानी लगायतका विषयमा गम्भिरताका साथ ध्यान दिएर लाग्ने प्रतिबद्धता ब्यक्त गरेको हुनाले मेरो भएकाले मलाई मतदाताहरुले चुनाव जिताउनुहुन्छ भन्ने पूर्ण विश्वास छ ।

चुनाव जित्न चुनौतीको विषय के हो ?

अहिले मेरो प्रतिष्पर्धा बाम गठबन्धनको उम्मेदवारसँग भइरहेको छ, उहाँलाइ परास्त गर्नु नै मुख्य चुनौती हो । म गाउँ गाउँ गएर जनतालाई कति कुरो बुझाउन सक्छु या सक्तिन, मतदाताले विश्लेषण गर्ने कुरा हो । अव समय कम भएकोले सवै मतदातालाई भेट्ने समय पनि पर्याप्त छैन । स्थानीय विकासको एजेण्डाप्रति मतदातालाई आकषित गर्नु नै चुनौती हो ।

चुनावी प्रचार अभियान कसरी चलाउदै हुनुहुन्छ ?

घरदैलो कार्यक्रम चलिरहेको छ । गाउँघरका मतदातालाई भेटिरहेको छु । राष्ट्रिय र स्थानीय मुद्धालाई प्राथमिकता दिएर प्रचार भइरहेको छ, सवै जसो क्षेत्रमा प्रचार समिति, चुनाव परिचालन समिति बनिसकेका छन् । हामी गाउँमा जाँदा जनताले स्पस्ट रुपमा भनेका छन् कि विगतमा एमलेलाई भोट दिएर जितायौं तर भनेजस्तो विकास हुन सकेन । विकास योजनाहरु अधुरा छन् ती अधुरा योजनालाई पूरा गर्नुपर्ने काम बाँकी छ, भनेर जनताले भनेको पाएका छौं । तिनै विषयलाई समेट्दै अघि बढिरहेका छौं । प्रचार अभियानमा कार्यकर्तालाई ब्यापक सहभागी गराउँदै अझै गाउँ र टोल टोलमा पुग्ने हाम्रो योजना छ ।

तपाईले विकास योजनामा केलाई प्राथमिकतामा राख्नु भएको छ ?

दमक–चिसापानी–रवी सडकलाई कालोपत्रे गर्दै राँकेसम्म जोड्ने कुरामा पहल गर्नेछु, दमकबाट मधुमल्ला हुँदै भेडेटार र दमक चुलाचुली, महमाइ हुँदै इलाम सम्म जोड्ने बाटो प्राथमिकतामा रहनेछ । यसैगरी शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका विषय प्राथमिकतामा रहन्छन् । स्वस्थ्यको क्षेत्रमा स्वास्थ्य विमालाई घरघरसम्म पुर्याउने र दमकमा एउटा मेडिकल कलेज स्थापना गर्न पहल गर्ने योजना छ ।
यसका साथै लखनपुरमा रहेको रंगशालालाई आदिवासी जनजाती नै नामाकरण गरी उक्त रंगशाला आधुनिक र ब्यवस्थित बनाउने कुरामा मेरो पहल हुनेछ ।
दमक क्याम्पसलाई विश्व विद्यालयका रुपमा रुपाञ्तरण गर्न पहल हुनेछ । यस क्षेत्रको धर्ती पुत्रको रुपमा चिनिने धिमाल, कुमाल, राजवंशी, ताजपुरिया, सन्थाल, आदिवासी जनजाति, दलित लगायतका समुदायलाई जीवनस्तर उकास्ने योजना ल्याउने र रोजगारीको ब्यवस्था मिलाउने छु । युवा र महिलालाई रोजगारीकोलागि विशेष प्राथमिकता दिनेछु ।
अन्त्यमा म कुरामा भन्दा काममा विश्वास गर्ने ब्याक्ति भएकाले काम गरेर देखाउने प्रणका साथ सवै मतदाता महानुभावमा मलाई जिताउनु हुन हार्दिक अपिल गर्दै जनताको दुःख शुखको साथी बन्ने अवसर अवश्य दिनुहुन्छ भन्ने अपेक्षा गर्दछु ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्