जहाँ फल्यो त्यहीँ भण्डारण

74

फिदिम/ धेरै नगदे तथा खाद्य बाली पाकेपछि जोहो जतनका लागि भण्डारण गर्नु परे ढिकुटी, गोदामघर वा चोटा कोठामा राखिन्छ तर अदुवा त्यस्तो बाली बनेको छ, जुन खेती जहाँ पाक्यो त्यही ठाउँमा किसानले भण्डारण गर्ने गरेका छन् । यसरी पाँचथरका सयौँ किसानले पाकेपछि पनि नखनेर बारीमै अदुवा भण्डार गर्ने गरेका छन् । मसला बालीको रूपमा रोपिने अदुवा रहरले नभएर बाध्यताले किसानले बारीमै भण्डारण गर्ने गरेका हुन् । पछिल्लो समय भने जस्तो दाम साट्ने गरी नबिक्ने अवस्था आइपर्दा बारीमै अदुवा भण्डार गर्ने क्रम समस्याको रूपमा बढेको पाइएको छ ।
किसानले विशेषगरि चैतमा रोपेपछि कात्तिकमा पाक्ने अदुवा नखनेर चार महिनासम्म बारीमै भण्डारण गर्ने गरेका हुन् । खनेर राखिने अदुवाको तौल घट्ने, ताजा नदेखिने र कुहीने समस्याले जहाँ फल्यो त्यही भण्डारण गर्ने गरेको किसान बताउँछन् । त्यसो त माटोमुनी छोडिने अदुवा पनि कुहिने उत्तिकै जोखिम रहेको फिदिम–२ साम्दीनका किसान भवानी काफ्लेले गुनासो गर्नुभयो । सेपीलो र ओसिलो पाटोमा लामो समयसम्म माटोमुनी छोडिने अदुवामा घाटा हुने गरी कुहिने उहाँले बताउनुभयो । विगत तीन वर्ष यता नबिक्ने र धेरै दाम नसाट्ने समस्या भोग्न थालेपछि किसानले बारीमै अदुवा भण्डारण गर्ने चलन बढाएका हुन् ।
पाँचथरका ११ हजार २११ घरधुरी किसानले ७५९ हेक्टरमा अदुवाखेती गर्ने गरेकोमा प्रायः सबैले लामो समयसम्म नखनी बारीमै अदुवा राख्ने गरेका हुन् । कृषि विकास कार्यालयका कृषि प्राविधिक सहायक याम सङ्ग्रौलाका अनुसार पाँचथरमा बर्सेनि अदुवाखेती बढिरहेको छ । उहाँले आर्थिक वर्ष २०७०÷०७१ मा ५५६, ०७१÷०७२ मा ६६१, ०७२÷०७३ मा ६६९ र २०७३÷०७४ मा ७५९ हेक्टरमा अदुवाखेती भएको बताउनुभयो । बढ्दो क्षेत्रफलमा अदुवाखेती हुने क्रमसँगै उत्पादन पनि बढिरहेकोमा मूल्य भने किसानलाई चरम घाटा हुने गरी घटिरहेको छ । चार वर्ष अगाडि अदुवा प्रतिमन (एक मनको ४० किलो) चार हजार ५०० रुपियाँमा बिकेकोमा अहिले मनको पाँच सय रुपियाँमा झरेको छ । यसरी क्रमिक घटिरहेको मूल्य बढ्लाकी भन्ने अपेक्षा गर्दै किसानले अदुवा बारीमै भण्डारण गर्ने गरेका देखिएको छ । मनको एक हजार रुपियाँले बिक्दा मात्रै आफूहरूलाई नाफा हुने कुम्मायक गाउँपालिका–५, स्यावरुम्बाका किसान महेन्द्र खड्काले बताउनुभयो ।
विगतमा यहाँ फल्ने अदुवा कात्तिक महिनाभित्र पचास प्रतिशत बिकी सक्थ्यो, फिदिमका व्यापारी सूर्य राईले भन्नुभयो, यसपालि एक प्रतिशतसम्म मात्र बिक्दैछ । उहाँले धेरै कम बिक्री हुनु भाउ घट्नु नै रहेको हो । यहाँका किसानले चार महिनासम्म जमिन ओगट्ने गरी अदुवा भण्डारण गर्नुपर्दा हिउँदे बाली गहुँ, तोरी तथा विभिन्न तरकारी लगाउन नपाउने गरेका छन् । पाँचथरमा २०५९÷०६० सालदेखि व्यावसायिक रूपमा अदुवाखेती सुरु भएको किसान बताउँछन् । अदुवाले २०६७÷०६८ मा धेरै मूल्य दिन थाल्दा यसको खेतीले व्यापकता पाउन थालेको हो । पछिल्लो समय लागत पनि नउठ्ने गरी मूल्य घट्दा अदुवाखेती गर्न किसान निरुत्साहित हुन थालेका पाइएको छ । बारीमै राख्ने विधिले भने जस्तो मूल्य पर्खिन भण्डारण गर्दा पनि अन्ततः सस्तै मूल्यमा अदुवा बेच्नुपर्दा किसानमा निराशा छाउने गरेको हो । माघपछि बर्खेबाली लगाउन बारी खाली गर्न किसानले सस्तै दाममा भए पनि अदुवा झिकेर बेच्ने गरेका छन् । यहाँ उत्पादन हुने अदुवाको मुख्य बजार छिमेकी देश भारत नै हो । भारतीय व्यापारीले कम मूल्य दिने तथा भारतबाटै निकासीमा विभिन्न बाहानामा रोक लगाइने जस्ता निरन्तरको समस्याले अदुवा किसानले मार पाइरहेका छन् । यो समस्या समाधानका साथै अदुवाको दिगो खेती विकासको लागि अन्तर्राष्ट्रिय बजार आवश्यक रहेको फिदिमका व्यापारी सूर्य मगरले बताउनुभयो । अदुवा कृषकको अन्तर्राष्ट्रिय बजारमा पहुँच स्थापनाका लागि पहल भइरहेको वरिष्ठ कृषि विकास अधिकृत कमलेस तिवारीले बताउनुभयो । यसका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममार्फत गुणस्तरीय अदुवा उत्पादन, प्रशोधन तथा भण्डारणका साथै गोदाम स्थापना गर्न प्रोत्साहित गरिरहेको उहाँले सुनाउनुभयो । पाँचथरमा वार्षिक १० हजार ४६२ मेट्रिक टनसम्म अदुवा उत्पादन भइरहेकोमा यसको ६० प्रतिशतसम्म भारतीय बजारमा बेच्नुपर्ने बाध्यता छ । साठी प्रतिशत अदुवा किसानलाई घाटा नलागी मनको एक हजार रुपियाँले बेच्नु पर्दा १५ करोड ६० लाख रुपियाँसम्म आम्दानी हुने देखिन्छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्