शिवसताक्षीमा १० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन सुरु

0
282

शिवसताक्षी / झापा इनर्जीले मङ्गलबारबाट १० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन सुरु गरेको छ ।

शिवसताक्षी–४ मा रहेको परियोजनाबाट उत्पादित ऊर्जालाई परीक्षणका लागि नेपाल विद्युत प्राविधिकरणको बुलोचोक सबस्टेसनमा जडान गरिएको कम्पनीका कार्यक्रम अधिकृत नारायणप्रसाद पोखरेलले बताएका छ्न ।

बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, कम्पनीका प्रबन्ध निर्देशक सुवास भट्टराई, विद्युत व्यापार विभागका तर्फबाट इन्जिनियर सीताराम सिग्देल, विद्युत प्राधिकरणका कोशी प्रदेश कार्यालयका इन्जिनियर साजन महर्जन, आसुहाङ राई, विद्युत प्राधिकरण दमकका इन्जिनियर हरि तिवारी, परियोजनाका कन्ट्याक्टर कुवेरमणि नेपाल, इन्जिनियर अभिषेक पराजुलीको उपस्थितिमा सबस्टेसनमा जडान गरिएको हो ।

१५ दिनसम्म परीक्षणकालीन उत्पादन हुने र त्यसपछि निरन्तर उत्पादन भइरहनेछ । परीक्षणकालीन उत्पादन भएको ऊर्जा राज्यलाई निःशुल्क प्रदान गर्नुपर्ने र त्यसपछिको उत्पादन राज्यले खरिद गर्नेछ ।

८१ करोड रुपैयाँको लगानीमा चार वर्षअघि परियोजनाको निर्माण सुरु भएको थियो । २१ बिघा जमिनमा फैलिएको परियोजनाको निर्माण सम्पन्न भएको झापा इनर्जीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिए ।

माछापुच्छ्रे र सिभिल बैकको ७५ प्रतिशत वित्तीय साझेदारी रहेको परियोजनामा २५ प्रतिशत पब्लिक शेयरबाट लागत रकम जुटाइएको भट्टराईले बताए । उनका अनुसार कम्पनीले अब १५ दिनपछि नियमित आम्दानी सुरु गर्नेछ ।

दुधे बजारबाट करिब १० किलोमिटर दक्षिण ग्रामीण क्षेत्रमा रहेको परियोजनास्थलबाट नेपाल विद्युत प्राधिकरणको शिवगञ्ज ग्रिड एक किलोमिटर नजिकै छ । कम्पनीबाट उत्पादित सौर्य विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागि झापा इनर्जी आफैँले ९६० मिटर प्रशारण लाइन निर्माण गरेको थियो ।

झापा इनर्जीले उत्पादन गरेको ऊर्जा नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच खरिदका लागि यसअघि नै सम्झौता भइसकेको छ । सम्झौताअनुसार परियोजनाबाट उत्पादित बिजुली विद्युत प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्नेछ ।

प्राधिकरणसँग २०७८ मंसिर १२ मा विद्युत् खरिदको सम्झौता भएको थियो । आयोजनाले वार्षिक एक करोड ७६ लाख १० हजार युनिट बिजुली उत्पादन गर्नेछ । यसका आधारमा आयोजनाले वार्षिक १२ करोड ८५ लाख आम्दानी गर्ने अनुमान गरिएको छ ।

नेपालबाहिर सौर्य ऊर्जाको ठुला परियोजना सञ्चालनको अध्ययनपछि अगुवाई गर्नेहरुले झापा इनर्जीको परिकल्पना गरेका थिए । प्रतिनिधिसभा सदस्य एलपी साँवाको अगुवाइमा जिल्लामा सौर्य ऊर्जाको परिकल्पना गरिएको थियो । उनले मुलुकको आर्थिक समृद्धिका लागि जनसहभागितामा आधारित परियोजनाले ठुलो योगदान पुर्याउने बताएका छन् ।

हालसम्म नेपालमा २१ वटा सौर्य ऊर्जा परियोजना सञ्चालनमा रहेका छन् । तीमध्ये सबैभन्दा धेरै क्षमता भनेको दस मेगावाट रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here