लागूऔषध सम्बन्धी सचेतना कार्यक्रम दमक बाट सुभारम्भ

0
102

दमक / कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले भौतिक पूर्वाधारको मात्रै बिकासले अहिलेको आवश्यकता र परिस्थितीलाई सम्बोधन गर्न नसक्ने बताएका छन ।

समाजमा बिकराल रुप लिँदै गएको लागुऔषधको समस्या निराकरण नभए अन्य बिकासको अर्थ नहुने पनि मुख्यमन्त्री कार्कीको भनाई छ । झापाको दमकमा मंगलबार लागूऔषध सम्बन्धी सचेतना कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले लागुऔषध समस्याका बिषयमा धेरै गोष्ठी र छलफल चलाएपनि पनि घरका छोराछोरी लागूअ‍ौषध प्रयोगकर्ता छन् भने त्यहाँ शान्ति नहुने पनि बताए ।

सरकारसँग अहिले सबैले विकास निर्माणका लागि नै बजेट माग्दै आउने गरेपनि मानवीय विकासको कुरा भने कसैले नगर्ने गरेको उनको भनाई थियो । दमक नगरपालिकाले आयोजना गरेको लागूअ‍ौषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रममा बोल्दै कार्कीले भने ,“आमाबुवाले छोराछोरीले घर बाहिर के गर्दैछन् भन्ने हेक्का राख्ने बेला आइसकेको छ । बालबालिकालाई राम्रो संस्कार दिन सकेनौं भने जस्तोसुकै राम्रो अंकको शैक्षिक प्रमाणपत्रको पनि काम हुँदैन ।”

मुख्यमन्त्री कार्कीले मन्दिरमा, रेडक्रसमा र अन्य सामुदायिक ठाउँहरुमा अहिले बुढापाका मात्रै बस्ने गरेको दृष्टान्त पेश गर्दै शेषपछिको सम्पति छोराछोरीलाई दिने तर संस्कार नदिने समाजको विकास हुनु चिन्ताको विषय भएको बताउनु भयो । “त्यसैले बालबालिकालाई सामाजिक शिक्षा दिनु आवश्यक छ । शिक्षाको परिभाषा कितावी ज्ञानले मात्रै हुँदैन । त्यसैले सभ्य नागरिक बनाउनु प्रत्येक आमाबुवाको नैतिक दायित्व हो,” मुख्यमन्त्री कार्कीले भने ।

मानवीय विकासमा सरकारले ध्यान दिने र सोहीअनुरुप कार्ययोजना बनाएर अघि बढ्ने कार्कीले बताए ।
मुख्यमन्त्री कार्कीले पहिचानवादीको ढुंगा प्रहार हुन्छ भन्ने जान्दा जान्दै लागूअ‍ौषध प्रयोगकर्ता भएर जीवन बर्बाद गरिरहेकाहरुको संरक्षण गर्ने कार्ययोजनासहितको कार्यक्रममा सहभागी हुन झापा आएको बताए । “लोकतन्त्रमा विरोध गर्नु स्वभाविक हो । पहिचानवादीका लागि वार्ताको ढोका खुल्ला छ, हामी सबै समस्या लोकतान्त्रिक र वार्ताको माध्यमबाट समाधान हुनुपर्न भन्ने पक्षमा छौं,” उनले भने ।

दमक नगरपालिकाका मेयर राम थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख रेगिना भट्टराई प्रसाईंले नगरपालिकाले शुरु गरेको यो महाअभियानमा कोशी प्रदेश सरकारबाट १० लाख विनियोजन भएको जानकारी दिइन । उनले भनिन,“नगरपालिकाको ५ लाख लागत छ । अहिले तथ्यांकले पनि लागूऔषध प्रयोगकर्ता बढ्दै गएको देखिएको छ ।” नगरस्तरी र वडास्तरीय कार्यक्रम सञ्चालक समिति गठन गरेर कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिइन । प्रहरीमार्फत प्रयोगकर्ता पहिचान र नियन्त्रण गरी विपन्न परिवारकालाई उपचार गराउने र पाँच वर्षमा लागूअ‍ौषध मुक्त तथा स्वस्थ्य युवामैत्री नगर बनाउने अभियान रहेको उनको भनाइ छ । दमकमा सुधार गृह निर्माण गर्ने लक्ष्य लिएर कार्यक्रम शुभारम्भ भएको बताइएको छ ।

एकजना लागूऔषधका पूर्व प्रयोगकर्ता पशुपति फागोल नशा कै लागि बाँच्ने र बाँच्न कै लागि नशा गर्ने अवस्था भएपछि आफ्नो अंशको सम्पति पनि परिवारबाट लिएर सकेको सुनाए । “अन्त्यमा शून्यमा पुगेपछि नगरपालिकाको सहायतामा आफ्नो जिन्दगी सुधारका लागि सुधार केन्द्रमा गएर सुधार भएर आएँ,” उनले भने,“अहिले टोलटोलमा समिति बनाएर लागूअ‍ौषध विरूद्धको अभियानमा लागेको छु ।”

कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराईले कार्यक्रमहरू तामझामका साथ खर्च गर्ने तर बजेटको सदुपयोग नहुने र लक्षितवर्गले लाभ प्राप्त गर्न नसके त्यसको अ‍ौचित्य नहुने उल्लेख गरे ।
नेकपा माओवादी केन्द्र कोसी प्रदेश कोषाध्यक्ष गगन पुरीले लागूअ‍ौषधरहित स्वस्थ्य समाज निर्माण मूल नाराका साथ लागूअ‍ौषध रहित दमक अभियान सुरू हुनु सकारात्मक भएको बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here