दमकमा लैंगिक हिंसा विरुद्धको अभियान समापन

0
228

दमक/ झापाको दमक नगरपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गतका विभिन्न कार्यक्रमहरुको औपचारिक समापन गरेको छ ।

नगरपालिकाको सभाकक्षमा आइतबार आयोजित कार्यक्रममा दमक नगर भित्र सो अभियान अन्तर्गतका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने दर्जन बढी महिला तथा बालबालिका सम्बद्ध संघ संस्थाहरुलाई सम्मानसहित कार्यक्रम समापन गरेको हो ।

सो अवसरमा नगरपालिकाले आत्मनिर्भरताको बाटोमा लागेका उद्यमी महिलाहरुलाई सीपको उपयोग गरेर आत्मनिर्भरताको बाटोमा सघाउन सिलाई मेसिन, माइक्रो ओभन, जुत्ता बनाउने फर्मा आदी सहयोग स्वरुप प्रदान गरेको छ ।

नगरपालिकाले नगर भित्रका उद्यम गर्न चाहने ३२ जना महिलालाई एक /एक थानका दरले ति उपकरण उपलब्ध गराएको नगरपालिकाकी महिला बालबालिका शाखा प्रमुख सरिता भण्डारीले जानकारी दिइन ।

दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले समाजमा महिला मात्रै नभएर यौनिक अल्पसंख्यक र पुरुषहरु पनि हिंसाबाट पीडित भइरहेको उल्लेख गरिन । उपप्रमुख भट्टराईले हिंसामा परेका जो कोही नागरिकलाई कानुनले संरक्षण गर्ने र न्याय दिलाउनेमा विश्वस्त रहेको पनि बताईन । उपप्रमुख भट्टराईले महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर नभएकै कारण समाजमा हिंसा सहेर बस्न बाध्य भइरहेको अवस्थालाई मध्यनजर गर्दै उनीहरुलाई आत्मनिर्भरताको बाटोमा प्रोत्साहन गर्न यस किसिमको कार्यक्रम ल्याइएको बताइन ।

घर परिवार र समाजमा हिंसाका घटनाहरु हुँदा चुप लागेर बस्न नहुने र कानुनी उपचारका लागि न्यायको ढोका ढकढक्याउन आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाइन । समाजका साझा समस्याहरुलाई सामुहिक प्रयासबाटै हल गर्ने साझा प्रतिबद्धताको खाँचो औंल्याउँदै उपप्रमुख भट्टराईले समाज रुपान्तरण र परिवर्तन कुनै एक व्यक्ति वा सरकारको मात्रै पहलबाट सम्भव नहुने र समाजका सबै पक्षको उत्तिकै भुमिका हुनेमा जोड दिइन ।

कार्यक्रममा राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रिय उपाध्यक्ष एवं दमक बाल आश्रमकी अध्यक्ष मन्धरा चिमरिया पौडेलले हिंसा विरुद्धका अभियानहरु ऋभियानमा सिमित हुन नहुने बताउँदै यो व्यवहारिक रुपमानै कार्यान्वयन गर्न सरकारको महत्वपूर्ण भुमिका हुने उल्लेख गरिन । अध्यक्ष पौडेलले हिंसामा परेका महिलाहरुलाई कानुनी रुपमै लडेर न्याय दिलाउने भुमिकामा अभियानहरु केन्द्रित हुनुपर्ने सुझाव दिइन ।

दमक नगरपालिकाकी सामाजिक बिकास समिति संयोजक शारदा सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल महिला संघ झापा क्षेत्र नं ५ की अध्यक्ष गोमा बुढाथोकी, अखिल नेपाल महिला संघ दमक नगर कमिटी अध्यक्ष सीता कार्की, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष रीता थापा लगायतले पनि लैंगिक हिंसा विरुद्धको अभियानसँग केन्द्रित भएर आफना धारणाहरु राखेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here