अध्यक्ष लिङदेन र प्रवक्ता शाही दमकमा, ७१ जना राप्रपा प्रवेश

0
413

दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली जनताले बैकल्पिक राजनीतिक शक्तिका रुपमा राप्रपालाई रोजेको दाबी गरेका छन ।

कांग्रेस, एमाले लगायतका दलहरुका कृयाकलापबाट आजित भएका जनताले राप्रपामाथि आशा र विश्वास राखेको बताउँदै जनताको त्यो आशा र विश्वाससहितको भरोसा योग्य र राष्ट्रवादी शक्तिको रुपमा राप्रपाले आफूलाई उभ्याएको नेता लिङदेनको भनाई छ ।

झापाको दमकमा बिहिबार झापा निर्वाचन क्षेत्र नं ५ स्तरीय कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले नागरिकता विधेयक प्रमाणीकरणलाई राष्ट्रघाती कदमको संज्ञा दिए ।

अध्यक्ष लिङदेनले यसले राष्ट्रियतालाई कमजोर बनाउने जिकिर पनि गरे । सो अवसरमा राप्रपाका प्रवक्ता समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री प्रचण्डलाई भारतमा राज्यमन्त्रीले गरेको स्वागत आफैंमा नेपाल र नेपालीका लागि लज्जाको बिषय भएको टिप्पणी गरे ।

राप्रपाका क्षेत्रीय अध्यक्ष भिमप्रसाद पौडेलको अध्यक्षतामा पशुपति सेवा सदमा भएको कार्यकर्ता भेलामा व्यवसायी तथा सामाजिक व्यक्तित्वका रुपमा स्थापित व्यवसायी नेताहरु भविन्द्र न्यौपाने (भुपेन्द्र), हेमसागर अधिकारी ( हेमसिंह) , सुरेन्द्र खडका, निरुपण भण्डारी, नेकपा एमाले निकट प्रेस चौतारी माइपश्चिम झापाका सचिव समेत भइसकेका युवा पत्रकार कोशिस शिवाकोटी लगायत ७१ जनालाई अधयक्ष लिङदेनले पार्टीको साधारण सदस्यता प्रदान गरे । उनीहरुलाई पार्टी प्रवक्ता शाही, पार्टीका कोशी प्रदेश समिति अध्यक्ष समेत रहेका दमक नगर प्रमुख रामकुमार थापा, दमक ७ का वडाध्यक्ष समेत रहेका पार्टीका क्षेत्रीय अध्यक्ष पौडेल लगायतले स्वागत गरेका थिए ।

सो कार्यक्रमपछि अध्यक्ष लिङदेन र प्रवक्ता शाहीले दमक ७ निवासी सामाजिक व्यक्तित्व स्वर्गीय गंगाबहादुर पौडेलको निधनमा शोकाकुल परिवारजनसँग भेट गरि समवेदना प्रकट गरेका थिए । अध्यक्ष लिङदेन बिहिबारनै पार्टी सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन दमक नगर समितिको कार्यलयमा समेत उपस्थित भएका छन । सो अवसरमा ट्रेड युनियन सम्बद्ध गंगा सिटौला,मनोहर घिमिरे, कमल कटुवाल लगायतले स्वागत सम्मान गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here