राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

0
136

काठमाण्डाै/ राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । आज बिहीवार भएको चुनावमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले आज नयाँ राष्ट्रपतिका लागि चुनाव भएको हो ।

पौडेलले ३३ हजार आठ सय दुई मतभार प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गर्नुभयो । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरूको कुल मतभार ४९ हजार पाँच सय ९१ थियो । राष्ट्रपतिमा निर्वाचित हुनका लागि २६ हजार तीन सय १५ मतभार आवश्यक पर्छ ।

पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बन्नुभएको छ । पूर्वसभामुखसमेत रहनुभएका पौडेल कांग्रेससहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको समर्थनमा राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी भने मतदानमा सहभागि भएन ।

राष्ट्रपति चुनावमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेश सभा सदस्य पाँच सय ५० गरी कुल आठ सय ८१ मतदाता कायम रहेकामा ५० जना मतदानमा उपस्थित भएनन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ ।

२००१ साल असोज २९ गते तनहुँको व्यसमा जम्मनुभएका पौडेल नेपाली कांग्रेस पार्टीबाट छ दशक अनवरत प्रजातान्त्रिक आन्दोलनमा संलग्न हुनुहुन्छ । उहाँ छ पटक सांसद, पाँच पटक मन्त्री र एक पटक प्रतिनिधिसभाको सभामुख बन्नुभएकाे छ । २०६६ सालमा प्रधानमन्त्री बन्नका लागि संसदमा १७ पटकसम्म चुनावी प्रतिस्पर्धामा भाग लिए पनि उहाँले जित हासिल गर्न सक्नुभएको थिएन ।

राष्ट्रपतिमा निर्वाचित भएको खुसियालीमा उहाँको गृह जिल्ला तनहुँको दमौलीमा दीप प्रज्ज्वलन गरिएको छ । व्यास नगरपालिका–३ अनसन चौतारीमा आज बिहीवार बेलुकी दीप प्रज्ज्वलन गरिएको हो ।

नेपाल विद्यार्थी सङ्घ भानुभक्त क्याम्पस एकाइको आयोजनामा दीप प्रज्ज्वलन गरिएको हो । दीप प्रज्ज्वलनमा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, कांग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेललगायत नेता तथा कार्यकर्ता सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा व्यास नगरपालिकाका मेयर न्यौपानेले लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पौडेल राष्ट्रपतिमा निर्वाचित हुँदा तनहुँको गौरव बढेको बताउनुभयो । तनहुँको विकास, लोकतन्त्र संरक्षण, अधिनायकवादको अन्त्यका लागि पौडेलले खेलेको भूमिका अतुलनीय रहेको भन्दै न्यौपानेले बताउनुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here