मुलुकको समस्या सबै दल मिलेर सामना गर्नुपर्छ : उपप्रधानमन्त्री लिङ्देन

0
102

उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले मुलुकको आर्थिक अवस्था सुदृढ गराउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । आज मेचीनगरको धुलाबारीमा मेची उद्योग वाणिज्य सङ्घको नवाँै पद हस्तान्तरण तथा शपथग्रहण कार्यक्रममा उहाँले देशको स्थिति सामान्य आँखाले देखेजस्तो नरहेकाले राजनीतिक दलहरुले मिलेर यो समस्याको सामना गर्नुको विकल्प नभएको बताउनुभयो ।

उपप्रधानमन्त्री लिङ्देनले कुनै पनि राजनीतिक दललाई मात्र जनताले विश्वास गरेर मत नदिएको बताउँदै भन्नुभयो, “हामीलाई मिलेर काम गर्ने जनताले जनादेश दिएका छन् । एकले अर्को राजनीतिक दललाई निषेध गरेर जान मिल्दैन ।”

उहाँले सरकारमा बैचारिक, सैद्धान्तिक हिसाबले भिन्न दलको प्रतिनिधित्व भए पनि राष्ट्रियता, विकास, सुशासन र सेवा प्रवाहको मुद्दामा एक ठाउँमा उभिएर काम गर्ने नौलो अभ्यास गरिरहेको बताउनुभयो ।

उपप्रधानमन्त्री लिङ्देनले भन्नुभयो, “विकासलाई तीव्रता, भ्रष्टाचार नियन्त्रण र सेवाप्रवाहलाई चुस्त र दुरुस्त बनाएर मुलुकलाई अप्ठ्यारोबाट सहज बनाउन प्रयत्नरत छौँ ।”

उहाँले नेपालका ठूला विद्युत् परियोजना नेपालीकै पैसा लगानी गरेर सञ्चालनमा ल्याउने वातावरण सिर्जना गर्दै गरेका कामबारे केही दिनभित्रैमा सार्वजनिक गर्ने बताउनुभयो । उहाँले प्राधिकरणको सेयर अब नेपाली जनतालाई नै दिने र सकेसम्म विदेशी भूमिमा रहेका युवालाई समेटेर प्राधिकरणको मालिक बनाउने योजना अघि सारिएको बताउनुभयो ।

उहाँले अब नेपाली जनताले विद्युत्को खपत बढाउनुपर्ने बताउँदै भन्नुभयो, “आपत्कालीन अवस्थाबाहेक एलपी ग्यासमा होइन, विद्युतीय चुलोको प्रयोग गरेर खाना पकाउनुपर्छ । यसो गरेमा आधा खर्च घट्छ ।” उहाँले स्थानीय पालिकाले जनताले चलाएका उद्योगधन्दामा प्रोत्साहन गरेमा ट्रान्समिटर र तार जडानमा प्राधिकरणले सहयोग गर्नेसमेत जानकारी गराउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य सङ्घ प्रदेश नं १ का अध्यक्ष टीका ढकाल, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकाललगायतले उद्योगी व्यवसायीका समस्या सडकमा आन्दोलन नगरी र टायर नबाली सुनुवाइ नहुने गुनासो गर्नुभयो

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here