कार्तिक १८ देखि २५ गतेसम्म प्रथम अठासी गोल्डकप हुने

0
108

दमक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता २०७९ आयोजना हुने भएको छ ।१६ औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसरमा माङसेबुङ ५ को नेनेदेन मझुवास्थित निङ्बोदेन खेलमैदानमा प्रतियोगिता आयोजना गरिने आयोजक लालीगुँरास युवा क्लवले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

पत्रकार मञ्च दमकको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष गजिन्द्र योङ्हाङले कार्तिक १८ देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता बारे जानकारी गराएका हुन् ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख १ सय १ रूपैयाँ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउने छन् भने दोस्रो हुने टोलीले नगद ५० हजार १ सय १ मा चित्त बुझाउनु पर्नेछ ।

प्रतियोगिताअन्तर्गत सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट टिम कोचले समान नगद ३ हजार पुरस्कार पाउने छन् भने सबै खेलका मेन अफ द म्याच हुने खेलाडीलाई नगद पुरस्कार राखिएको आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘प्रचार प्रसारको अभावमा ओझेलमा परेको धार्मिकस्थल अठासी देवीको प्रवद्र्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागेका हौं’, अध्यक्ष योङ्हाङले भने ।
अनुमानित ९ लाख खर्च हुने प्रतियोगतामा सहभागी हुने टोलीका लागि प्रवेश शुल्क ३ हजार ५ सय ५१ तोकिएको योङ्हाङले बताए । उनका अनुसार ९ साइड खेलाइने प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले कार्तिक १६ गतेभित्र इन्ट्री गर्नुपर्ने छ ।

माङसेबुङ गाउँपालिका, वडा नम्बर ५ कार्यालय, विभिन्न संघसंस्था र खेलप्रेमी दाताहरु र शुभेच्छुक सहयोगीहरुबाट प्राप्त आर्थिक स्रोतबाट प्रतियोगिता सञ्चालन गरिने क्लबको भनाइ छ ।
प्रतियोगिता बारे हालसम्म पालिकामा आधिकारिक जानकारी प्राप्त नभएको भए तापनि खेलकुद क्षेत्रको विकासका लागि माङसेबुङ गाउँपालिका सदैव सकारात्मक रहेको पालिका सदस्य एवम् प्रवक्ता सुसन राईले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here