दमकमा रोजगारमेला सम्पन्न, आर्थिक संकटबाट जोगाउन स्वदेशमै रोजगारी र उद्यमशिलताको विकासगर्न आवश्यक

0
177

दमक / नि जी क्षेत्रका अगुवाहरुले छिमेकी देशहरुमा देखिएको आर्थिक संकटबाट नेपालले पाठ सिक्न जरुरी रहेको बताएका छन् । छिमेकी देशहरु श्रीलंका, अफगानिस्तान सँगै बंगलादेशमा समेत आर्थिक संकट गहिरिदै गएकाले यसको प्रभाव नेपालमा पनि पर्ने उनीहरुको भनाई छ ।

दमक नगरपालिकाको संरक्षकत्वमा दमक उद्योग वाणिज्य संघले गरेको रोजगार मेलाको उद्घाटन शत्रमा उनीहरुले देशलाई आर्थिक संकटबाट जोगाउन देशभित्र रोजगारी र उद्यमशिलताको विकास जरुरी रहेको बताए । कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवम् सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालले कोरोना महामारी पछि छिमेकी देशहरुमा समेत आर्थिक मन्दिले अर्थतन्त्र संकटमा परि रहेकाले नेपाल सचेत बन्न जरुरी रहेको बताए ।

युक्रेन र रुष युद्ध, पेट्रोलियम पदार्थको मुल्यवृद्धी जस्ता कारणले अन्तर्राष्ट्रिय बजार संकटमा परि रहँदा नेपाललाई जोगाउन उत्पादनशिल क्षेत्रमा लगानी बढाउन तथा रोजगारीका अवसर सिर्जना गर्न जरुरी रहेको उनले बताए । यस्तै महासंघका पूर्व केन्द्रिय सदस्य प्रकास प्रसाईले स्थानीय स्तरमानै रोजगारी सिर्जना हुन सके व्यापार घाटामा पनि सुधार हुन सक्ने बताए ।

कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा तथा उपप्रमुख रेगीना प्रसाईले रोजगारी तथा उद्यमशिलताको विकासका लागि स्थानीय सरकारले प्राथमिकता दिएको बताए । कार्यक्रममा आयोजक दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले दमक औद्योगीक लगानीका लागि उपयुक्त र सुरक्षित रहेकाले यहाँ लगानी बढाउन ठुला उद्योगीहरुलाई आह्वान पनि गरे ।

बेरोजगार युवा तथा विद्यार्थी एवम रोजगारदातहरु विच साझा थलोको रुपमा रोजगार मेलाको आयोजना गरिएको कार्यक्रम संयोजक भरत चम्लागाँईले जानकारी दिए । कार्यक्रमको दोश्रो खण्डमा उद्यमीहरु उमेशलाल श्रेष्ठ, भोलेश्वर दुलाल, टीका ढकाल लगायतले रोजगारीको अवस्था, आवश्यकता, सम्भावना लगायतका बारेमा अन्तक्रियात्मक कार्यक्रमलाई संवोधन गर्नु भएको आयोजक समितिका सचिव प्रकास अधिकारीले जानकारी दिए । यस्तै दमककै व्यवसायीक पशुपालक किसान सुदिप गौतम, भगवान बस्नेत,विक्रम कुमार साह, खोम बगाले थापा ले आफ्ना अनुभव, रोजगारीको अवस्थाका बारेमा आफ्नो भनाइ राखेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here