मध्यरातदेखि मौनअवधि सुरु, यी हुन् गर्नै नहुने काम

0
113

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्नसक्ने अधिकारसहित १९ वटा उच्चस्तरीय टोली गठन गरेको छ ।

संवेदनशील स्थानमा त्यस्तो टोली परिचालन गरिएको आयोगले जनाएको छ । टोलीले निर्वाचनलाई असर नपर्ने गरी भिडियो छायांकन गर्न सक्नेछ ।

मौन अवधिमा आमसभा, गोष्ठी, सम्मेलन, भोज भतेर, पैसा बाँड्ने काम भए नभएको र सामाजिक सञ्जालमा मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्ति दिने काम भए नभएको अनुगमन गरी उक्त कार्य भएको पाइएमा तत्काल कारबाही गरेर आयोगलाई जानकारी गराउने अधिकार दिइएको आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनको आचारसंहिता लागू भएयता मन्त्री र केन्द्रीय नेताले नै आचारसंहिता उल्लंघन गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो ।

दूरदराजमा आचारसंहिता पालना भएको तर शहरमा र बुझेका मानिसहरुले उल्लंघन गरेकाले स्पष्टीकरण सोधेको उहाँको भनाइ छ । स्पष्टीकरण पनि एक प्रकारको कारबाही भएको भन्दै उहाँले उच्च ओहोदामा बसेका व्यक्तिलाई संकेतले मात्र पुग्नुपर्ने बताउनुभयो ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा १ लाख ९ हजार ८८ जना कर्मचारी खटिने छन् । निर्वाचनका लागि ६५ हजार ८ सय ६५ जना स्वयंसेवक समेत खटिने आयोगले जनाएको छ । आयोगमा दर्ता भएका ७९ दलमध्ये ६५ दल निर्वाचन प्रक्रियामा सहभागी हुनेछन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरु निर्विरोध निर्वाचित भइसकेका छन् भने ६ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यहरु समेत निर्विरोध निर्वाचित भएको बताउनुभयो ।

उहाँले यो निर्वाचनमा १० हजार ७ सय ५६ मतदान स्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २ सय २१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोट गर्नका लागि मतदान गर्ने पनि जानकारी दिनुभयो ।

शर्माले मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीहरूसहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवकहरु आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेको जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचनमा भाग लिने भनि दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दलहरु चुनावी प्रतिष्पर्धामा रहेको बताउनुभयो ।

५५ हजार ६५८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेको उहाँले बताउनुभयो ।

प्रवक्ता पौडेलले वैशाख २८ र २९ गते सबै मतदान स्थलहरूमा मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिका सम्बन्धी जानकारी दिने कार्यक्रम रहेको बताउनुभयो ।

उहाँले पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताहरूलाई वैशाख २८ र २९ गते सम्बन्धित मतदान स्थलबाट मतदाता परिचयपत्र वितरण गरिने जानकारी दिनुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here