चुनावसंगै उम्मेदवार र मतदाता नजिकिदैं , झापामा यस्तो छ अवस्था

0
202

दमक / ३० बैशाखमा हुने स्थानीय निर्वाचनको सरगर्मी निक्कै बढेको छ । बैशाखाको चर्को गर्मीलाई वेवास्ता गर्दै राजनीतिक दलका उम्मेदवार, नेता कार्यकर्ताहरु आआफना चुनावी एजेण्डाहरु लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन ।

झापाका केही पालिकाहरुमा निर्वाचनको यो माहौल सम्म आईपुग्दा विविध रोचक पक्षहरु पनि देखापरेका छन । तर पनि अघिल्ला अघिल्ला निर्वाचनमा जस्तो यसपटकको चुनावमा सर्वसाधारण त्यति उत्साहित देखिदैंनन । दलको उर्दी लाग्ने तहका पार्टीका नेता, कार्यकर्ता चुनानी गतिबिधिमा देखिएपनि सर्वसाधारणहरुले भने यसलाई सामान्य प्रकृयाका रुपमा मात्रै लिएको पाइन्छ ।

धेरै जसो पालिकामा चुनावी मैदानमा भएका कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, जनता समाजवादी पार्टी, संघीय लिम्बुवान मञ्च लगायतका दलहरु पनि प्राय सबै पालिकाहरुमा आआफनो अवस्था हेरेर घोषित रुपमै तालमेल तथा गठबन्धनमा भएका कारण यसबर्ष कम उम्मेदवार देखिएका छन ।

देशैभर सत्तारुढ दलहरु मध्ये कांग्रेस र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएपनि झापाको कचनकवल गाउपालिकामा कांग्रेस–एमालेनै राप्रपालाई मुख्य प्रतिस्पर्धी ठान्दै तालमेल गरेर चुनावी मैदानमा छन । दमकमा भने एमालेले अघिल्लो निर्वाचनमा प्रमुख, उपप्रमुखसहित १० मध्ये ८ वडामा जितेर पालिका सञ्चालनमा दम्भ देखाएको निष्कर्षसहित अन्य मुख्य दलहरुनै सामुहिक चुनावी प्रतिकारमा उत्रिएका छन ।

यसको नेतृत्व अघिल्लो निर्वाचनमा जितको नजिक पुगेर पनि उपविजेतामा सिमित भएका राप्रपाका नेता राम थापाले गरेका छन । उनलाई कांग्रेस, माओवादी केन्द्रका र कतिपय वडामा जसपाका उम्मेदवारहरुले समेत चुनावी तालमेल गरेर साथ दिएका छन । एमालेकी गीता अधिकारी उनकी प्रतिस्पर्धीकी रुपमा देखिएकी छिन । अधिकारी २०७४ को निर्वाचनमा एमालेको तर्फबाट नगर उपप्रमुमा निर्वाचित भएकी थिइन । उनले आफनो सक्रियतानै चुनाव जित्ने आधार भएको बताउदै आएकी छिन । अधिकारीसंगको प्रतिस्पर्धामा रहेका राप्रपाका थापा यहाको चुनावका भुक्तभोगी पनि हुन ।उनको यस अघिका निर्वाचनहरुमा देखिएको लोकप्रियताको कदर गर्दै सत्ताधारी कांग्रेस र माओवादी केन्द्र लगायतका दलहरुले नगर प्रमुख पदमा समर्थन जनाएपछि उनी अब जितको नजिक पुगेको ठम्याइ उनका समर्थकहरुको छ ।

दमकसंगै जोडिएको कमल गाउपालिकाको निर्वाचनमा भने एमाले इतरका दलहरुको प्रतिनिधित्व गर्दै अध्यक्षमा कांग्रेसका हुकुमसिंह राई चुनावी मैदानमा छन । अघिल्लो निर्वाचनमा एमालेसंगको खरो प्रतिस्पर्धामा उत्रिएर मेनुका काफलेलाई बराबरी मतको टक्कर दिएका उनको उम्मेदवारीलाई पनि माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी, जसपा , संघीय लिम्बुवान मञ्च र राष्टिय जनमुक्ति पार्टीले समेत समर्थन गरेर चुनावी तालमेल गरेका छन । कांग्रेस एक्लै प्रतिस्पर्धामा समेत बराबर मतको टक्कर दिई गोलाप्रथाबाट उपविजेता बनेको, निर्वाचनपछिका बर्षहरुमा पनि लगातार सामाजिक , राजनीतिक गतिबिधीमा सक्रिय रहेको र अन्य दलहरुको समेत समर्थन रहेका कारण यसपटक आफूहरुको जित सुनिश्चित रहेको कांग्रेस नेतृत्वको गठबन्धन पक्षधरहरुको दाबी छ ।

गौरादहको नगर प्रमुखमा कांग्रेसका रोहितकुमार साहले उम्मेदवारी दोहोरयाएर चुनावी मैदानमा छन । उनलाई माओवादी केन्द्र समेतको समर्थन छ भने एमालेको गुमेको साख फर्काउने प्रयत्न गर्दै सो पार्टीका तर्फबाट छत्रपति सुवेदी नगर प्रमुखको प्रतिस्पर्धामा छन । साह अघिल्लो बर्ष जिल्लाको पश्चिम भुभागमा लाल किल्ला तोडने पहिलो पालिका प्रमुख भएर चर्चामा आएका उम्मेदवार हुन भने सुवेदी पनि गौरादह ५ को वडाध्यक्षमा लोकप्रिय मत पाएर एमालेको तर्फबाट निर्वाचित नेता हुन । सुवेदीले त्यहँ गुमेको एमालेको साख फर्काउने विश्वास एमालेजनले लिएका छन ।

गौरीगञ्जमा भने दलहरु गठबन्धनरहित चुनावी प्रतिस्पर्धामा छन । विभिन्न दलहरुबाट पालिका अध्यक्षमा ७ जनाको उम्मेदवारी परेपनि अघिल्ला निर्वाचनमा प्राप्त परिमाणको आधारमा गाउँपालिका अध्यक्षमा मुख्यतया चार दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

अघिल्लो निर्वाचनमा यहाँ नेपाली कांग्रेस र राप्रपाबीच अध्यक्ष पदमा मुख्य प्रतिस्पर्धा भएको थियो जसमा राप्रपाका बाबुराजा श्रेष्ठले बाजी मारेका थिए । उनलाई कांग्रेसकी प्रत्यासी फूलवती राजवंशीले अन्तिम टक्कर दिएकी थिइन । भने अन्य पदहरुमा मुख्यतया कांग्रेस, एमाले र माओवादीबीच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो ।

यसपटकको निर्वाचनमा समेत ति दलहरुबीच अन्य स्थानीय तहहरुमा जस्तो गठबन्धन र तालमेलको अवस्था नदेखिएको हो । यसपटक पनि गाउँपालिकाको अध्यक्षमा कांग्रेसले नेतृ नेतृ फूलवती राजवंशीलाई उम्मेदवारका रुपमा अघि सारेको छ । उनी झापाका २ पालिकामा कांग्रेसद्धारा बनाइएका पालिका प्रमुख पदका उम्मेदवारहरु मध्येकी एक हुन । मुख्यतया राप्रपाका तर्फबाट २०७४ मा समेत अध्यक्षमा निर्वाचित बाबुराजा श्रेष्ठ र राजवंशीबीच सो पालिकामा चुनावी प्रतिस्पर्धा हुने अनुमान छ । श्रेष्ठ र राजवंशीसंगै एमालेका विजयकुमार अग्रवाल र माओवादी केन्द्रकी मेनुका राजवंशी पनि सो पदका प्रत्यासी छन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here