झापाको कमल गाउँपालिकाले उत्पादन गर्यो जैविक मल

0
212

झापा/ झापाको कमल गाउँपालिकाले रसायनीक मलको विकल्पको रुपमा प्राङ्गारीक तथा जैविक मल उत्पादन गरेको छ । गाउँपालिकाले आफ्नै प्राविधिक र स्थानीय श्रोत साधन मार्फत उत्पादन गरेको मललाई ब्राण्डिङ् गरि सोमबार सार्वजनिक गरिएको छ ।

 

गाउँपालिकाले सञ्चालन गरेको विषादी प्रयोग मुक्त सप्ताह समापनको अवसर पारि ब्राण्डिङ् सहितको मल सार्वजनिक गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले रसायनीक मलको सधै हाहाकार हुने र यसले माटो एवम् पर्यावरणमा समेत नोक्सानी गर्ने भएकाले स्थानीय श्रोत साधनको प्रयोग गरि जैविक मल उत्पादन गरिएको बताइन् मल उत्पादनको प्रविधि स्थानीय स्तरमा हस्तान्तरण गरि किसानलाई रसायनीक मलको विकल्प र आम्दानीको श्रोतको रुपमा विकास गर्ने लक्ष्य रहेको उनले बताइन् ।

गाउँपालिकाले जनप्रतिनिधीहरुको कार्यकाल शुरु भएदेखिनै जैविक कृषि प्रणालीलाई प्रोत्साहन गर्दै आएको गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले बताए । आधुनिक र व्यवसायीकताका नाममा रसायनीक मल र विषादीको प्रयोग उच्च हुने गरेको भन्दै उनले स्थानीय सरकारलेनै त्यस प्रकारका घातक मल र विषादीको विकल्प तयार पारेको उनले जनाए ।

गाउँपालिकाले उत्पादन गरेको प्राङ्गारीक मल, युरीया तथा झोल मल प्रयोगशाला परीक्षणका क्रममा समेत उपयोगी ठहर भएको गाउँपालिका कृषि शाखाका प्रमुख महेन्द्र बोहोराले जानकारी दिए । गाउँपालिकाले उत्पादन गरेको मललाई कमल मलको रुपमा ब्राण्डिङ् गरिएको उनले जनाए ।

यस अघि नमूनाका रुपमा किसानलाई वितरण गर्दा त्यसको परिणाम समेत रसायनीक मलको विकल्पको रुपमा प्रयोग गर्न मिल्ने गरि देखिएको गाउँपालिकाले जनाएको छ । स्थानीय लखनपुर साना किसान कृषि सहकारी संस्थाको समन्वयमा भएको विषादी प्रयोग मुक्त सप्ताहको समापनका अवसर पारि गाउँपालिकाका ७ ओटा वडाका उत्कृष्ट २१ किसानलाई कृषि उपकरणहरु प्रदान गरि पुरस्कृत गरियो ।

यस्तै कार्यक्रममा सहभागी किसानहरुलाई समेत गाउँपालिकाले उत्पादनको मल वितरण गरिएको गाउँपालिका कृषि शाखाका प्राविधिक प्रेमप्रसाद पोखरेलले जानकारी दिए । कार्यक्रम वडा नं. ६ का वडा अध्यक्ष नरेन्द्र भट्टराईको अध्यक्षतामा भएको थियो भने किसानहरुले विषादीको प्रयोग न्युनिकरण गर्न जनचेतना जगाउने विभिन्न गीतहरु सुनाएका थिए ।

गाउँपालिकाले रसायनीक मल र विषादीको साटो जैविक र प्राङ्गारीक उत्पादनमा प्रेरीत गर्दै विगत वर्षहरु देखिनै विषादी प्रयोग मुक्त सप्ताह गर्दै आएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here