झापा गोल्डकपको पाँचौँ संस्करण यही फागुन २१ गतेदेखि हुने

0
180

बिर्तामोड, १८ पुस । झापा गोल्डकपको पाँचौँ संस्करण यही फागुन २१ गतेदेखि हुने भएको छ ।

मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता अघिल्ला २ वर्ष कोभिड महामारीका कारण रोकिएको प्रतियोगिता फागुन २१ गतेदेखि ३० गतेसम्म बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा सञ्चालन गर्ने तयारी गरिएको हो ।

गोल्डकप आयोजक समितिले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता आयोजनाबारे जानकारी दिएको हो । काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापा जिल्लालाई फुटबलको हबको रुपमा विकास गराउन झापा गोल्डकप आयोजना गरिएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

कोषाध्यक्ष केदार गिरीका अनुसार यो वर्ष पनि पुरस्कारहरु अघिल्लो वर्षकै कायम गरिएको छ । झापा गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउने गिरीले बताए ।

त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार दिइने आयोजकले जनाएको छ । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९९९ रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा झापा ११ फुटबल क्लबसहित नेपालका ९ र विदेशी एक गरी १० वटा टिमको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी हुने स्वदेशी टिमको टुंगो केही दिनमै लगाइने महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।

अघिल्लो वर्षजस्तै पाँचौँ संस्करणको उद्घाटन समारोहमा झापा जिल्लाका दुईजना पुराना फुटबल खेलाडीलाई नगद १५ हजारसहित सम्मान गरिने अध्यक्ष बस्नेतले बताए ।

त्यस्तै, यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिने भएको छ ।

प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रतियोगिता सञ्चालनको लागि विगतको अनुभवलाई मध्यनजर गर्दै महासचिव पौडेलकोे नेतृत्वमा ५ सदस्यीय सचिवालय गठन गरिएको छ । सचिवालय सदस्यहरुमा सञ्चारकर्मी केशव भट्टराई, विशाल नेम्वाङ, नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हिमाल खरेल र सहसचिव भूमिका सुब्बा रहेका छन् । आवश्यकताअनुसार अन्य विभागहरु गठन गरी सदस्यहरु थप गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

गोल्डकपका वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले स्वागत गरेको पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष तथा गोल्डकपका परिकल्पनाकार महेन्द्रकुमार गिरी र संरक्षक तथा गोल्डकपका परिकल्पनाकार जलकुमार गुरुङले गोल्डकपको तयारी तथा अघिल्ला संस्करणबारे आआफ्नो धारणा राखेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here