दमक नगर सभापतिमा देउवा ईतर समुहबाट प्रकाश प्रशाई सहित उम्मेद्वार सार्वजनिक

0
1999

दमकमा नेपाली कांग्रेसको साख गिर्दो छ । स्थानीय तहको निर्वाचनमा लज्जास्पद हार ब्यहोरेको कांग्रेस आगामी निर्वाचनमा दमकमा स्थापित हुन सक्छ कि सक्दैन ? कार्यकर्ताहरुमा परेको लज्जाबोध कम गराउन सक्षम किसिमको पार्टी नेतृत्व आउँछ कि आउँदैन भनेर यतिबेला कांग्रेसजनमा मात्रै होइन आम दमक नगरबासीले पनि चासो र चिन्ता लिइरहेको पाइन्छ । नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु मृत्यु शैययामा छटपटाइरहेको कांग्रेसलाई अस्पतालको बेडबाट घर फर्काउन सकिएला वा घाटमै जानुपर्ने हो भन्ने गम्भिर चिन्तामा छन ।

यो चिन्ताका बीच अहिले कांग्रेस महाधिवेशनमा होमिएको छ । यही २७ भाद्रमा दमक नगर अधिवेशन हुँदैछ । यो अधिवेशनमा मृत्यु शैयामा छटपटाइरहेको कांग्रेसलाई पुनर्जिवन दिएर अघि बढाउने प्रतिबद्धतासहित दमकमा लामो समयदेखि चिर परिचित र विभिन्न सामाजिक, व्यवसायिक क्षेत्रमा अलग किसिमको पहिचान बनाउन सफल प्रभावशाली व्यक्तित्व प्रकाश प्रसाइँ कांग्रेस दमक नगर सभापतिको उम्मेदवारका रुपमा उभिएका छन ।

प्रसाई नेतृत्वको समूहले उपसभापतिद्वयमा युवराज (सागर) खनाल र मीना कोइराला, सचिवद्वयमा नवराज ढकाल, दिनेश अग्रवाल,सहसचिवमा नवराज न्यौपाने र मणि लिम्बूलाई अघि सारेको छ। विद्यार्थी तथा युवा संगठनमा अनुभव लिएका युवाहरुको टिमलाई उनले अघि सारेकाछन् । नगर निर्वाचनमा वडाबाट निर्वाचित वडा सभापतिसहित क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्न पाउने छन् । यसले गर्दा उम्मेद्वारहरुले आफ्नो मतको आँकलन गर्दै आएकाछन ।

प्रस्तुत छ– प्रसाइँसंग अधिवेशन, पार्टी गतिबिधि लगायत समसामयिक बिषयमा केन्द्रित रहेर गरिएको कुराकानी –

तपाइँ व्यवसायिक क्षेत्रको नेतृत्वमा हुनुहुन्छ एकाएक राजनीतिक क्षेत्रमा किन आउनु भयो ?

साँचो कुरा हो । मैंले यहाँ दमकमा मात्रै नभएर पूर्व क्षेत्रबाटै उद्योगी व्यवसायीहरुको नेतृत्व गर्दै आएको थिएँ । तपाइँहरु सबैलाई थाहा छ मैंले दमक उद्योग वाणिज्य संघमा पटक पटक जिम्मेवारी निर्वाह गरें । महासंघको केन्द्रिय सदस्यका रुपमा पनि मलाई जिम्मेवारी दिनु भयो । मैंले व्यवसायिक क्षेत्रको नेतृत्व गर्दै गर्दा व्यवसायी र राजनीतिक दलहरुका बीचको सम्बन्धलाई सधैं सुमधुर राख्ने प्रयत्न गरें ।

कुनै बेला म राजनीतिक दलहरुसंग पौठेजोरी खेलेर पनि दमकको व्यवसायिक क्षेत्रलाई राजनीतिक प्रभावमुक्त राख्नुपर्छ भनेर कुनैपनि बहानामा राजनीतिक दलहरुले बन्द हडताल जस्ता व्यवसायलाई प्रभाव पार्ने किसिमका कृयाकलाप गर्नबाट रोकेको थिएँ । त्यसबेला मैंले राजनीतिक दल र यहाँका गतिबिधिहरुलाई नजिकबाट नियाल्ने मौका पाएँ । त्यो मेरा लागि राजनीतिक क्षेत्रका राम्रा नराम्रा कुराहरुको पहिचान गर्ने अवसर पनि बन्यो । व्यवसायिक क्षेत्रमा अरु पनि साथीहरु आउनु भयो । व्यवसायिक क्षेत्रको नेतृत्वमा पनि पुस्ता हस्तान्तरण हुनुपर्छ भन्ने विचार भएकोले मैंले त्यहाँ म पछि आउनु भएका सक्षम र निस्कलंकित पात्रहरुलाई स्थान दिदैं राजनीतिक क्षेत्रमा होमिएको हुँ । बैचारिक र सैद्धान्तिक रुपमा म लोकतन्त्रवादी भएको कारण लोकतन्त्रको सबैभन्दा ठुलो हिमायतीका रुपमा स्थापित दल नेपाली कांग्रेसप्रति मेरो आकर्षण बढयो ।
मलाई कांग्रेसको दमक नगर समितिको अघिल्लो अधिवेशनमा आम कार्यकर्ताहरुले भारी मत दिएर नगर सचिवको जिम्मेवारी दिनु भयो । स्वभावैले हर कुनै क्षेत्रमा प्रवेश गरिसकेपछि समय कालसंगै नेतृत्वमा अपग्रेड हुनुपर्छ भन्ने मेरो मान्यता हो । त्यसैले म यो १४ औं महाधिवेशनमा नगर सभापतिको जिम्मेवारी सम्हाल्न आफूलाई पूर्ण तयारीसाथ होमिएको छु ।
दमकमा कांग्रेसको न वर्तमान न भविष्य भन्नेहरु पनि छन तपाइँहरु के को लागि यो पार्टीको नेतृत्वमा आउन यतिधेरै रस्साकस्सी गरिरहनु भएको छ ?

मान्छेहरुले सम्भावनाहरुलाई भन्दा धेरै निराशालाई प्राथमिकता दिदाँ यस्ता भनाईहरु हामीले सुनिरहनु परेको छ । दमकमा कांग्रेसको वर्तमान त राम्रो छैन होला तर भविष्य बनाउने पनि त हामी कांग्रेस नेता कार्यकर्ताहरुकै काँधमा जिम्मेवारी छ नि । त्यतातिर पनि हामीले सोच्नु पर्छ भन्ने मलाई लाग्छ । कांग्रेसले स्थानीय निर्वाचन त जितेन होला, राष्ट्रिय निर्वाचन जितेन होला तर यहाँको सबैभन्दा ठुलो सामाजिक संस्थाका रुपमा रहेको व्यवसायीहरुको छाता संगठन दमक उद्योग वाणिज्य संघको निर्वाचनलाई पनि हेरौं न । त्यसकारण हामी धेरै निराशावादी पनि नबनौं यहाँ कांग्रेसको भविष्य पनि छ हामीले यहाँको राजनीतिलाई सहि ट्रयाकमा हिंडाउन सक्नुपर्छ ।

परजीवि राजनीतिक संस्कारलाई हामीले तोडनु आवश्यक छ । राजनीतिक क्षेत्रमा आउनेहरु हर कुराबाट आफैं सक्षम छौं भन्ने साबित पनि गराउनुछ । मलाई कांग्रेस कार्यकर्ताहरुले त्यो कामका लागि तपाइँले नै अग्रसरता लिनुहोस, नेतृत्व गर्नुहोस भन्नु भएको छ । त्यसकारण म नेतृत्वको लागि चुनावी मैदानमा आएको हुँ । यो पार्टीमा आन्तरिक बहस र छलफलको बिषय पनि भएकोले यसलाई त्यति ठुलो रस्साकस्सीका रुपमा नलिइदिन म आग्रह गर्दछु ।

तपाइँको विचारमा यतिबेला दमकमा कांग्रेस कार्यकर्ताहरुले चाहेको कुरा के हो ?

हेर्नुहोस जो कोही मान्छे यहि कांग्रेस कार्यकर्ता हो भने उसले पार्टीबाट भने पनि पार्टी नेतृत्वबाट भने पनि अपेक्षा गर्ने कुरा भनेको नै परिआएको खण्डमा सहयोग पाउन सकियोस । त्यो सहयोगको अपेक्षा आफूलाई अप्ठयारो परेको समयमा मात्रै कार्यकर्ताहरुले राख्ने हो । घटना, दुर्घटना, आपत विपत, प्रशासनिक, न्यायिक क्षेत्र आदि जुनसुकै क्षेत्रमा परिआउन सक्ने समस्याहरुमा कांग्रेस कार्यकर्ताहरुलाई काँध थाप्न सक्ने सक्षम नेतृत्व कार्यकर्ताहरुले खोजेका हुन्छन । त्यो स्वभाविक पनि हो । अर्को कुरा भनेको आफनो दल , विचार मिल्ने संगठनले कहिं कतै हार्नुपरेको वा क्षति ब्यहोर्नु परेको सुन्न नपरोस भन्ने कार्यकर्ताहरुको चाहना हुन्छ मैंले सामान्य कार्यकर्तादेखि नेतृत्वमा रहने कांग्रेसजनहरुले यस्तै अपेक्षा राखेको सुन्न पाएको छु । मेरो मन मस्तिष्कमा यि कुरा सदैव स्मरणमा रहनेछन ।

तपाइँले आफनो कार्यकालमा कांग्रेसलाई दमकमा कस्तो बनाउने परिकल्पना गर्नुभएको छ ?

अहिले म यति भन्छु कांग्रेसलाई दमकमा कोही पनि नेता कार्यकर्ताले शिर झुकाएर हिंडनु नपर्ने अवस्थामा म पुरयाउनेछु । पार्टी संगठनलाई चलायमान बनाएर कम्तीमा एक घर एक कांग्रेस बनाउने म मेरो टिमको लक्ष्य हुनेछ । हरेक समस्याहरुको समाधानका लागि नेतृत्वहरुको सुझाव र मार्गदर्शनलाई अंगालेर यो टिम अघि बढनेछ । यो आन्तरिक निर्वाचन हो यसमा कसैले पनि हार्ने वा जित्ने कुरा होइन । कांग्रेसको संगठन सक्रिय बनाएर जहाँ समस्या त्यहाँ कांग्रेसको उपस्थिती बनाइनेछ । पार्टी कार्यालयको भौतिक पूर्वाधारको बिकास, कार्यालयलाई प्रविधिमैत्री बनाएर , अग्रजहरुलाई सम्मान र युवा पुस्तालाई जिम्मेवार बनाउने कुरामा हाम्रो टिमको नै भुमिका हुनेछ ।

तपाइँले कांग्रेस नेता कार्यकर्तालाई दिने सन्देश के हो ?

मैंले बारबार भन्दै आएको छु कि यो पार्टीको महाधिवेशन हो । कसैले पनि यसलाई विपक्षीसंगको चुनावी प्रतिस्पर्धाका रुपमा नलिउँ । यो निर्वाचनमा कसैले धेरै मत कतैबाट ल्याउने पनि होइन यसमा मलाई वा म जस्तै अरु उम्मेदवारलाई मत दिने पनि कांग्रेस हो, नदिने पनि कांग्रेस हो । दलीय चुनावमा हामीले रोज्ने एउटै चुनाव चिन्ह हो, हाम्रो विचार एउटै हो । सिद्धान्त एउटै हो । कोही कसैको बहकाउमा लागेर कुनै किसिमको प्रतिशोधको भावना नराखौं । मैंले हिजोका दिनमा पार्टी संगठन, यहाँका जनताका हर समस्याको समाधानमा, यहाँँको हित , उन्नती र बिकासका लागि गरेको योगदानका बिषयमा तपाइँ सम्पूर्ण नेता कार्यकर्ताहरु जानकारनै हुनुहुन्छ । कांग्रेसलाई यो अप्ठयारो परिस्थितिमा काँध हालेर अघि बढाउन मेरो भुमिका हुनेछ । म यहि विश्वास दिलाउन चाहन्छु ।

कांग्रेस भित्र गुट नै गुट छन तपाइँ कुन गुटको उम्मेदवार हो ?

हो केन्द्रमा पार्टी भित्र धेरै खाले गुटहरु छन । नेतृत्वले नै गुटको अभ्यास गरेपछि त्यसको धेर थोर प्रभाव यहाँ सम्म पनि आउने नै भयो । बुझनु पर्ने कुरा चाहिं के हो भने केन्द्रमा समेत अहिले पार्टी सभापति शेर बहादुर देउवाको कार्यशैली र क्रियाकलापहरु शंकास्पद छन । त्यहीकारण कांग्रेसमा नेतृत्व परिवर्तनको बहस पनि छ । केन्द्रमा समेत सभापति देउवा बाहेकका शीर्ष नेताहरु कोइराला, सिटौला, पौडेल, प्रकाशमान सिंह लगायत सबै एकठाउँमा उभिने संकेत देखिएको छ । यो आवश्यकता पनि देखेको छु । र समग्रमा म सभापति देउवा इतर समुहको उम्मेदवारका रुपमा दमकमा उभिएको छु । अब कांग्रेसलाई यो वा त्यो कांग्रेस भन्दा पनि वास्तविक कांग्रेसका रुपमा अघि बढाउनेछु ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here