दमक / दमक उद्योग वाणिज्य संघले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि दमक नगरपालिकालाई ४१ लाख ७५ हजार रुपैयाँ बराबरको स्वास्थ्य उपकरणहरु उपलव्ध गराएको छ ।
संघको अगुवाईमा सञ्चालन गरिएको महामारी नियन्त्रण अभियानले नगरपालिकालाई एक थान अत्याधुनिक भेण्टिलेटर, ६ थान अक्सिजन कन्सट्रेटर उपकरण सहित बिभिन्न स्वास्थ्य सामाग्रीहरु उपलव्ध गराएको हो ।
संघले सहयोग जुटाउन संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईंको संयोजकत्वमा कोरोना महामारी नियन्त्रण अभियान गठन गरेको थियो । अभियानले बिभिन्न व्यक्ति, संघ संस्था र लायन्स क्लबसंगको सहकार्यमा ति सामाग्रिहरु खरिद गरेको थियो । दमकका उद्योगी, व्यवसायीका तर्फबाट ७ लाख ७७ हजार रुपैयाँ र अन्य रकम भने लायन्स क्लव अफ इन्टरनेशनलको परियोजनाबाट सहयोग जुटाईएको अभियानका संयोजक प्रसाईंले जानकारी दिए ।
संघको कार्यालयमा आज एक कार्यक्रम गरि स्वास्थ्य सामाग्रीहरु नगर प्रमुख रोमनाथ ओलीलाई हस्तान्तरण गरिएको अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए । सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ ए वानका डिस्ट्रिक गर्भनर रेवतबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।
नगरपालिकालाई प्राप्त उक्त स्वास्थ्य उपकरणहरु दमकको एकमात्र सरकारी अस्पताल दमक अस्पतालमा जडान गरि छिट्टै सञ्चालनमा ल्याउने नगर प्रमुख ओलीले बताए ।
लायन्स क्लव इन्टरनेशनलका एमिडेट पास्ट मल्टिपल काउन्सिल चियर पर्सन राजन खत्रीको अध्यक्षतामा भएको सहयोग हस्तान्तरणमा लायन्सको डिस्ट्रिक गर्भनर एड् एफजिएफ अजय अग्रवाल, दमक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवृक्ष चौधरी, वाणिज्य संघका पदाधिकारी, सदस्यहरु, उद्योगी, व्यवसायी, लायन्सका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संघका प्रथम उपाध्यक्ष राजु खड्काले गरेका थिए ।