मेची सहकारीको सेवा अब बिर्तामोडमा

0
333

दमक / दुई संस्था एकीकरण भई संयुक्त कारोबार थालेको तीन महिना पछि झापाको दमकमा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले बिर्तामोडमा सेवा प्रारम्भ गरेको जनाएको छ ।

सोमबार बिर्तामोडस्थित सेवा केन्द्र परिसरमा पत्रकार सम्मेलन गर्दै संस्थाको सेवा प्रारम्भ बारे जानकारी गराइएको हो । संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले सेवा प्रारम्भसँगै मेची सहकारीले उपलब्ध गराउने सेवा, सुविधा र हालसम्मको गतिविधिबारे जानकारी गराएका छन् ।

नेपालको सहकारी अभियानमा सफल संस्था मानिएको मेची सहकारीले बिर्तामोडमा औपचारिक सेवा प्रदान गर्न थाल्नुलाई अनौठोरुपमा नलिन संस्थाका अध्यक्ष भट्टराईको आग्रह छ । ‘झापाको ठूलो बजारको रुपमा विकास भइरहेको बिर्तामोडमा सफल सहकारी छैनन् भन्ने आशयले मेची सहकारीले सेवा बिस्तार गरेको होइन’ अध्यक्ष भट्टराईले भने, ‘यहाँ क्रियाशील अन्य सहकारीभन्दा आफ्नो संस्था पृथक र सेवा सुविधामा केन्द्रीत भएकाले बिर्ताबमोडमा सेवा प्रारभ्म गरेको हो ।’

वि।सं। २०५४ सालमा दमक क्षेत्रका २९ जनाले एक लाख ४५ हजार शेयर पुँजीबाट शुरु गरेको सहकारीले यही भदौ १२ गतेबाट २५ वर्ष पूरा गर्दैछ । झापा, मोरङ र इलाम जिल्लामा बिस्तारित एवम् १० वटा सेवा केन्द्र रहेको सहकारीमा हाल नौ हजार ४७६ सदस्य छन् । संस्थाको शेयर पुँजी ३१ करोड १४ लाख रहेको छ भने बैंक मौज्दात दुई अर्व ७३ करोड ६८ लाख ८२ रहेको संस्थाका अध्यक्ष भट्टराईले पत्रकार सम्मेलनमा जानकारी दिए ।

शिक्षा र स्वास्थ्यका क्षेत्रमा विशेष प्राथमिकता दिँदैं आएको मेची सहकारीले आफ्ना सदस्यहरुका लागि आवाससमेत निर्माण गरेको छ । दमकमा निर्माणाधिन ५२ वटा घरमध्ये ५० वटा बिक्री भइसकेको जनाइएको छ । सदस्यहरुले आर्थिक अनुकुलताका आधारमा घरको कर्जा विस्तारै तिर्न पाउने व्यवस्था सहकारीले मिलाएको बताइएको छ ।

संस्थाको अर्को लोकप्रिय कार्यक्रममध्ये प्राविधिक शैक्षिक कर्जा रहेको छ । प्राविधिक शिक्षा अध्ययन गर्नका लागि विधार्थीहरुले कमाएर तिर्न मिल्ने गरी अभिभावकलाई कर्जा दिने सहकारीको कार्यक्रम छ । संस्थाको वासलात बढ्दै जाँदा सदस्यहरुका लागि समेत सेवा सुविधा बढ्दै जाने अध्यक्ष भट्टराईको भनाई छ ।

यहाँस्थित सुन्दर बचत तथा ऋण सहकारी संस्था र मेची सहकारी संस्था एकापसमा एकीकरण भई नयाँ व्यवस्थापनका साथ बिर्तामोडमा सेवा केन्द्र सुरु गरिएको हो । मेची सहकारीमा परिणत भएपछि पूर्व संस्थाका अध्यक्ष तथा हालका सेवाकेन्द्र संयोजक उत्तम खनालले संस्थामा आवद्ध भई हाल प्रत्याभूत २९ प्रकारका सेवा सुविधा लिन बिर्तामोडबासीलाई आग्रह गरेका छन् ।

संस्था एकीकरण पछिल्लो समयको आवश्यकता भएको अवगत गराउँदै सेवा केन्द्र संयोजक खनालले अरु धेरैवटा सहकारीहरुले एकीकरणका लागि प्रस्ताव गरे पनि आफूहरुलाई मेची सहकारीको कार्यक्रम तथा सदस्यहरुले पाउने सुविधा चित्त बुझेकाले ‘मर्ज’को निर्णय गरिएको जानकारी दिए ।

पत्रकार भेट कार्यक्रमको सञ्चालन संस्थाका सचिव राजेन्द्रप्रसाद दाहालले गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here