साउनमा सोमबार र हरियो पहिरनकाे किन विशेष महत्व छ ?

0
560

आजबाट साउन महिना सुरु भएको छ । साउन शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्त्व दिन्छन् ।

साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

साउनमा किन लगाइन्छ हरियो पहिरन ?

 साउनको सुरुवातसंगै अहिले अधिकाशं महिलाका हातमा मेहन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ । त्यसमाथि नेपाली हिन्दु नारीहरुकालागि साउन विशेष महत्वको महिना भएकाले पनि यो महिना सुरु हुन नपाउंदै महिलाहरु रंगीन हुन थालेका हुन् ।

अहिले स–साना बालिका, युवती, अधबैंसे नारी हुन् या बृद्ध महिला, यतिबेला सबैको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ । साउन लागे लगत्तै हिन्दु महिलामा छुट्टै उत्साह र उमंग छाएको छ । रातो, पहेंलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहल–पहल देखिन्छ । पछिल्ला वर्षमा साना बालिका र किशोरीमा समेत मेहेन्दी र हरियो चुरा लगाउने ’क्रेज’ बढ्दो छ । धेरैले यसलाई फेसनका रुपमा लगाएका छन् भने कतिले धार्मिक महत्व बुझेर विश्वासमा यसो गरेका छन् ।

साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ ।

साउनमा चुरापोते र कपडासँगै हातभरि मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने विश्वास गर्नेहरु पनि उत्तिकै छन् । त्यसैले साउनमा मेहन्दी हरियो चुरा पोतेको क्रेज कतिसम्म छ भने घरायसी महिलामात्र नभएर कार्यालयमा काम गर्नेदेखि ड्युटीमा खटिएका महिला प्रहरीले समेत हरियो चुरा पोते लगाउदै आएका छन् ।

धार्मीक विश्वास

धार्मीक मान्यता अनुसार साउन शिवको आराधना गर्ने महिनाका रुपमा लिइन्छ । पौराणिककालमा पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर ‘भगवान शिव’लाई प्राप्त गरेको धार्मीक विश्वासको आधारमा महिलाहरूले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् । साथै साउनमा हरियो पहिरदाँ शिव खुसी हुने धार्मिक विश्वास छ । हरियो रङ सौभाग्यको प्रतीक हो । श्रावण हरियालीको महिना भएकाले प्रकृतिसँग आफूलाई जोड्न र नजिकिन पनि हरियो लगाउने गरिन्छ । शास्त्रमा प्रकृतिलाई ईश्वरको रुपमा लिइन्छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पुजा गरेमा आफू र पतिको आयू समेत बढने धार्मीक विश्वास छ ।

साउने सोमवार

साउने सोमबारका दिन भगवान् शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ। ज्योतिषशास्त्रअनुसार सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ। अझ यो महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ । यस दिन आफू र आˆनो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ। हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ।

हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ । यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिछ । पुराणहरूमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ । ती हुन्- साउने सोमबार, र्सोह सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ । दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here