बढी भाडा लिएर ठगी गर्ने तीन पक्राउ

0
202

काठमाडौँ, २४ वैशाख  / महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिएर ठगी गर्ने तीन जनालाई आज पक्राउ गरेको छ । उनीहरुले उपत्यकाबाहिर जाने यात्रुबाट तोकेकोभन्दा तीन गुणा बढी भाडा लिएको पाइएको छ । कोटेश्वरबाट धनुषाका ४३ वर्षीय कृष्ण देवकोटा र झापा गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारी तथा गौशालाबाट दोलखा सिंगटी घर भई भक्तपुर बस्ने ३४ वर्षीय राम सुरेललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

उनीहरु पूर्व झापा÷मोरङ जाने यात्रुसँग जनही रु तीन हजारदेखि चार हजार ५०० सम्म भाडा लिने इन्द्रेणी हायसको काउण्टर र प्रदेश ३–०१–००६ख १४३१ नम्बरको भाडा बसका कर्मचारी हुन् । उपत्यकामा जारी भएको निषेधाज्ञापश्चात् वैदेशिक रोजगारबाट आई घर फर्किने र अत्यावश्यक परी घर जान लागेका यात्रुलाई ठगी गर्ने गौशाला र कोटेश्वरको टिकट काउन्टरबाट पक्राउ गरिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

महाशाखाले सादा पोशाकमा प्रहरी टोली खटाएर छड्के जाँच तथा अनुगमन गरी यसरी बढी भाडा लिई ठगी गर्ने व्यक्तिलाई कारवाही थालेको हो । “महामारीको अवस्थामा यात्रुहरु ठगिन सक्ने कुरालाई मध्यनजर गरी विशेष टोली परिचालन गरेका छौँ, टोलीले आफैँ यात्रु बनेर भाडा मोलमोलाई गर्ने त कहिले यात्रुसँग गोप्यरूपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिएको पाइए निगरानीमा राखी नियन्त्रणमा लिने गरेको छ”, भट्टराइले भने

यसअघि बिहीबार यसैगरी बढी भाडा लिएका छ जनालाई पक्राउ गरी आवश्यक कारबाही थालिएको छ । कोभिड–¬१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिई ठगी गर्ने क्रम बढेको छ । प्रहरीले कुनै गुनासो भएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोलको १०३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here